भ्यालेन्टाइन प्लान
त्रिचन्द्र क्याम्पसमा अध्ययनरत पाल्पाका कृष्ण पौडेललाई केही दिनअघि उनकी प्रेमिकाले प्रश्न गरिन्, ‘यसपालि घुम्न कता लैजाने हो ? ’ लोकसेवाको पनि तयारी गरिरहेका पौडेलले खासै चासो नदिएपछि फेरि प्रश्न तेर्सियो। ‘भ्यालेन्टाइन डेमा पनि घुम्न जाँदैनौ ? ’ उनी बल्ल झसंग भए। ‘तिमी ओके मात्र भन सबै व्यवस्था म आफैं मिलाउँछु।’ प्रेमिकाले भनिन्।
उनीहरूको औपचारिक प्रेम दुई वर्षअघि भ्यालेन्टाइन डेकै दिन सुरु भएको रहेछ। त्यसबेला उनीहरू बानेश्वरस्थित एउटा कलेजमा कक्षा ११ मा पढ्थे। पौडेलले आफ्नी प्रेमिकालाई दिउँसो फोनमा प्रेम प्रस्ताव राखेको र बेलुकी उनले प्रस्ताव स्विकारेको सुनाए। ‘उसकै लागि भए पनि नजिकै कतै जानैपर्छ। यो पटक केही पाठ्यसामग्री किनेर उपहार दिनुपर्ला। पढ्नमा बहुत सौखिन छे।’ उनले सुनाए।
काठमाडौंको खुमलटारमा रहेको एल इन्स्टिच्युट अफ हेल्थ साइन्समा दोस्रो वर्षमा अध्ययनरत रूपा दासले विगतको भ्यालेन्टाइन डेमा भुल्नै नसकिने रमाइलो भएको बताइन्। ‘गत वर्ष धेरै नै रमाइलो भएको थियो। कलेजका साथीहरूसँग घुम्न गएको र मीठोमीठो खाएको सम्झिरहन्छु। आहा ! क्या मजा भएको थियो।’ उनले भनिन्। यस वर्ष कलेज पनि जानुपर्ने भएकाले उनले कुनै योजना बनाइसकेकी छैनन्। तर कुनै नयाँ ठाउँमा घुम्न जान साथीहरूसँग प्रस्ताव गर्ने उनको विचार छ। ‘साथीहरूसँग घुम्न जानुको मजानै भिन्नै हुन्छ। घुम्न निस्किँदा पनि त कति कुरा सिकिन्छ।’ उनले सुनाइन्।
ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत अनुष्का मानन्धरले गत वर्ष भ्यालेन्टाइन डे मनाउन पाइनन्। उनी त्यतिबेला एसईई परीक्षाको तयारीमा व्यस्त थिइन्। उनको बुझाइमा माया भावनात्मक सम्बन्ध हो। उनी भ्यालेन्टाइन डेलाई मायाको उत्सवको रूपमा लिन्छिन्। उनी भन्छिन्, ‘साथीभाइ, परिवार र आफन्तहरू मायाको धागोमा अडिएका हुन्छन्। यसबाट समाजरूपी सुन्दर माला सजिएको हुन्छ। मेरा शुभचिन्तकहरूको मायाले मलाई सधैं मार्गदर्शन गरिरहेको हुन्छ। त्यसकारण यसपालिको भ्यालेन्टाइन डे मेरा आफन्त र साथीभाइसँगै मनाउँछु।
‘भ्यालेन्टाइन डे आउनुभन्दा सात दिनअघि उपहार किनेर नाइट बसमा इलाम पठाउँथेँ। उनीसँग फोन थिएन। उपहार पाएपछि उनी बाबाको स्काई फोनबाट मिसकल गर्थिन्। म त्यही पखाईमा तड्पिरहेको हुन्थेँ।’
युवा गायक विमल गौतम भ्यालेन्टाइन डे आउनेबित्तिकै विगत सम्झिन्छन्। उनी काठमाडौंमा स्नातक पढ्दा उनकी पे्रमिका इलाममा पढ्थिइन्। उनी भन्छन्, ‘भ्यालेन्टाइन डे आउनुभन्दा सात दिनअघि उपहार किनेर नाइट बसमा इलाम पठाउँथें। उनीसँग फोन थिएन। उपहार पाएपछि उनी बाबाको स्काई फोनबाट मिसकल गर्थिन्। म त्यही पखाईमा तड्पिरहेको हुन्थेँ। अनि म फोन गर्थेँ। उनी धन्यवाद दिन्थिन्। मलाई उक्त फोन नम्बर अहिले पनि कण्ठ छ।’ आजकल साथीभाइसँग रमाइलो गरेर परिवारमा माया बाँडेर प्रेमदिवस मनाउने गरेको उनको भनाइ छ। उनका लागि यो वर्ष अझ विशेष बनेको छ। भर्खरै रिलिज भएको नयाँ गीतको प्रोमोसनमा पे्रम दिवसलाई भरपुर उपयोग गर्ने उनको तयारी छ। यसबारे साथीहरू शुभचिन्तकसँग पनि सरसल्लाह भइरहेको समेत उनले बताए।
अनामनगरका होटेल व्यवसायी माधव पराजुलीले प्रेम दिवसका लागि कुनै विशेष योजना बनाएका छैनन्। गत वर्ष मात्रै उनको विवाह भएकाले प्रेम प्रस्ताव राख्ने, गल फ्रेन्ड घुमाउने इत्यादि चटारो यसपालि उनलाई छैन। उनले भने, ‘प्रेम दिवस मनाउन आउनेहरूलाई पसलमै सेवा दिने विचारमा छु। श्रीमतीको पनि कतै घुम्न जाने योजना नभएकाले यसपालि घरै बसिन्छ।’ सँगै हुँदा सधैं उत्सव जस्तै हुन्छ। पे्रमी प्रेमिका वा श्रीमान् श्रीमतीसँगै नहुनेहरूका लागि भने यो अवसर खल्लो हुन सक्ने उनको बुझाइ छ।
आरआर क्याम्पसमा अध्ययनरत सुदूरपश्चिमका अशोक जोशी प्रेम दिवसबारे अनभिज्ञ छन्। गाउँमै एसएलसी दिने बेलामा आफूभन्दा उमेरले जेठी एक साथीले प्रेम प्रस्ताव राख्दा उनले अस्वीकार गरे। ‘अहिले उनको विवाह भइसक्यो। दसैंमा भेट भएको थियो। छोरो पाइसकिछन्। पहिलेको कुरा सम्झाएर रमाइलो गरिन्।’ अहिले उनी असल प्रेमिकाको खोजीमा रहे पनि भेटेका छैनन्। यसपटकको भ्यालेन्टाइन डेमा उनको खासै योजना छैन। ‘परीक्षा नजिकिएको छ। गलफ्रेन्ड पनि नभएकाले कोठामै पढेर बिताइन्छ। त्यसदिन पनि लोकसेवाको क्लास हुन्छ। पढेरै मनाइन्छ।’
त्रिचन्द्र क्याम्पसमा बीएूसी अध्ययनरत पंकज लुइँटेल यस यसपालि भने तनावमा छन्। उनकी प्रेमिका उपत्यका बाहिरै रहेकाले गत वर्षको जस्तो भ्यालेन्टाइनमा रमाइलो नहुने उनको भनाइ छ। उनी उपहार किनेर पछि भेटमा दिने योजनामा छन्। उपहार के हुन्छ भन्ने प्रश्नमा भने उनी खासै खुलेनन्। ‘किन्न जाँदा जे आकर्षक लाग्छ त्यही किनिन्छ।’ उनले भने।