दलका नेता चुनिए बानियाँ

दलका नेता चुनिए बानियाँ

हेटौंडा : कांग्रेस प्रदेश संसदीय दलका नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन्। काठमाडौंमा बिहीबार बसेको कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको बैठकले बानियाँलाई सर्वसम्मतिबाट नेता चयन गरेको हो। पूर्वगृह राज्यमन्त्री रहिसकेका उनी कांग्रेस मकवानपुरका सभापति हुन्।

दलका नेताका लागि पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीसहित पाँच जना आकांक्षी थिए। प्रदेश संसदीय दल गठनको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई नेता चयन गरेको प्रदेशसभा सदस्य सन्त चेपाङले जानकारी दिए। नेता चयनका लागि तीन दिन बैठक चलेको थियो।

नेता चयन भएपछि प्रतिक्रिया दिँदै बानियाँले कांग्रेसलाई प्रदेश ३ मा सशक्त रूपमा प्रदेशसभामा प्रस्तुत गर्ने बताए। पार्टीले प्रदेश संसदीय दलसम्बन्धी विधान पारित गरेपछि थप कार्यविभाजन हुने उनले सुनाए।

उनी मकवानपुर क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्य भएका हुन्। यो प्रदेशमा कांग्रेसका २१ प्रदेशसभा सदस्य छन्।

मोक्तान माओवादीमा उपनेता

माओवादी केन्द्रको ३ नम्बर प्रदेश संसदीय दल उपनेतामा कुमारी मोक्तान चयन भएकी छन्। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार भएको दलको बैठकले मोक्तानलाई उपनेता चयन गरेको हो। उनले प्रदेशसभामा पार्टीको भूमिका प्रभावकारी बनाउन लागिपर्ने प्रतिक्रिया दिइन्। माओवादीले यसअघि नै दलका नेतामा शालिकराम जमकट्टेललाई चयन गरिसकेको छ। यो प्रदेशमा माओवादीका २३ जना प्रदेशसभा सदस्य छन्।

एमालेले आज छान्दै

एमालेले शुक्रबार प्रदेश ३ मा संसदीय दलका नेता चयन गर्दै छ। मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि एमालेले चुनावमार्फत नेता चयन गर्न लागेको हो। सहमतिबाटै नेता चयन गर्ने प्रयास भए पनि आकांक्षीहरूबीच कुरा नमिल्ला पार्टी अध्यक्ष केपी ओलीले चुनावमार्फत टुंग्याउन निर्देशन दिएका छन्। यो प्रदेशमा एमालेका ५८ जना प्रदेशसभा सदस्य छन्। संस्थापन पक्षमा ३६ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा २२ जना देखिएका छन्।

दलका नेता नै मुख्यमन्त्री हुने भएपछि एमालेमा आकांक्षी धेरै भएका हुन्। मुख्यमन्त्रीका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे र ज्येष्ठ सांसद डोरमणि पौडेल दाबेदार छन्। नेतामा केशव स्थापित, पशुपति चौलागाईं, सानुकुमार श्रेष्ठलगायत पनि आकांक्षी देखिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.