थापा प्रदेश ७ को सभामुख बन्दै
धनगढी : प्रदेश ७ को सभामुखका लागि नेकपा एमालेले बझाङका प्रदेश सभा सदस्य अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार हुने सभामुख पदको मनोनयनका लागि थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले प्रदेश –७ का प्रदेश सह–संयोजक कर्ण थापाले बताए।
प्रदेश ७ मा सभामुखको लागि शनिबार मनोनयन पत्र दर्ता र २९ गते चुनाव हुँदैछ । एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश ७ मा सभामुख एमालेलाई दिने निर्णय गरेको थियो । प्रदेश –७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन्।
एमालेभित्र संसदीय दलको लागि भने अझै सहमति हुन सकेको छैन । एमालेले संसदीय दलका लागि सहमति नभएमा चुनाव गर्ने सोच बनाएको छ । संसदीय दलका लागि बाजुराबाट प्रशाक शाह, कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी र कञ्चनपुरका एमाले अध्यक्ष तारालामा तामाङले दाबी पेश गरेका छन् ।
बाजुराका शाह संविधानसभाका पूर्व सभासाद हुन् । यस्तै सभामुखको चुनाव पछि उप सभामुखको चुनावको मिति तय गरिने छ । उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेकाले बझाङबाट देवकी मल्ल र डडेल्धुराबाट कुन्ती जोशीको नाम चर्चामा छ । सभामुखमा पुरुष भए उपसभामुख महिलालाई दिने संवैधानिक व्यवस्था भएकाले माओवादी केन्द्रले महिलाको नाम दिनुपर्ने हुन्छ ।