सुध्रिएन ब्याटिङ : नेपाल ओमानसँग ६ विकेटले पराजित

सुध्रिएन ब्याटिङ : नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं : कमजोर ब्याटिङ प्रदर्शनमा सुधार ल्याउन नसक्दा नेपालले नामिबियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आफ्नो दोस्रो खेलमा पराजय बेहोरेको छ। नेपाल शुक्रबार भएको खेलमा ओमानसँग ६ विकेटले पराजित हुन पुग्यो।

नेपाललाई यो पराजयसँगै प्रतियोगिताको शीर्ष दुईभित्र अटाउन केही मुस्किल देखिएको छ। बिहीबार आयोजक नामिबियाविरुद्धको खेलमा एक विकेटको जित निकाल्दासमेत ब्याटिङमा निक्कै संघर्ष गरेको नेपालको अवस्था ओमानविरुद्धको खेलमा अझ नाजुक देखियो।

राजधानी विन्दहोइकस्थित अफिज पार्क मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा एक सय ३८ रनको सामान्य योगफलमै समेटिन पुगेको थियो। नेपालले त्यही योगफललाई रक्षा गर्न सकेन। ओमानले ३५.१ ओभरमा मात्र चार विकेट गुमाउँदै एक सय ३९ रन बनाएर जित भेट्टाएको हो। बिहीबारको खेलमा क्यानडासँग पराजय बेहोरेको ओमानको यो पहिलो जित हो।

भरपर्दा ब्याट्सम्यान एकपछि अर्काे गर्दै आउट हुँदा नेपाल खेलको कुनै पनि अवस्थामा बलियो स्थितिमा देखिएन। नेपालका लागि शरद भेषावकरले २२ रन जोड्नु नै खेलमा कुनै पनि नेपाली खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक रन बन्यो। नामिबियाविरुद्धको खेलमा पनि शरदले नै नेपालका लागि सर्वाधिक २९ रनको योगदान गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले २०, प्रारम्भिक ब्याट्सम्यान दिलीप नाथले १९ तथा कप्तान पारस खड्काले १७ रन जोडे। यस्तै सोमपाल कामीले अविजित १७ रन जोड्दा रोहितकुमार पौडेल १४ रनमा आउट भए। त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालले ओमानविरुद्ध पनि सुरुवातबाटै विकेट गुमाउन सुरु गर्दा कुनै पनि बेला कुनै पनि खेलाडीबीच गतिलो साझेदारी बन्न सकेन।

नेपालले प्रारम्भिक ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्ललाई पाँचौं ओभरमा सात रनमै गुमाएको थियो। नामिबियाविरुद्ध शून्य रनमै आउट भएका आरिफ शेख ओमानविरुद्ध पनि ६ रनमै आउट हुन पुगे। वसन्त रेग्मी एक रनमा आउट हुँदा करण केसी चार रन तथा सन्दीप लामिछाने शून्य रनमै आउट भए।

ओमानका कलिमुल्लाह एक्लैले चार विकेट लिँदा नेपाल सस्तो योगफलमै समेटिन पुगेको थियो। १० ओभर बलिङ गरेका कलिमुल्लाहले दुई मेडन निकाल्दै २८ रन खर्चेका थिए। त्यसपछि विलाल खानले ४६औं ओभरमा करण केसी र सन्दीपलाई आउट गराउँदै एकै ओभरमा दुई विकेट लिँदा फियाज भुट, खवार अली र जयस ओडिड्राले एक÷एक विकेट लिएका थिए। ओमानलाई विजयी बनाउन अकिव लियासले सर्वाधिक ४६ रनको योगदान दिए। यस्तै वैभव वाटगाउन्करले अविजित रहँदै ३७ रन जोड्दा जतिन्दर सिंहले २४ रन जोडे। नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र वसन्त रेग्मीले एक-एक विकेट लिए।

नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.