कविता : कसिंगर
तिमी
टाढा थियौ
शीतलता दिन्थ्यौ
सुन्दर लाग्थ्यौ
जूनजस्तै ।
मनको उचाइमा
सुरक्षित थियौ
भगवान्भन्दा पनि बढ्ता ।
एकाएक
आफैं शीत बनेर
पोखियौ मेरा पाउभरि ।
टिप्न भनेर
झुक्दै थिए
म झुक्दा नझुक्दै
अनायासै उडिसकेछौ
बाफ जस्तै ।
हेर त
अब तिमी
न मनको उचाइको जून रह्यौ
न त भुइँको शीत ।
बरू, हरबखत
आँखा धमिल्याइदिने
बादल बन्यौ
आँखामा बिझाइरहने
कसिंगर बन्यौ ।