शारदा, पैसा र कागज

शारदा, पैसा र कागज

उहिले कागजको पैसा थिएन। सिक्काको चलन थियो, त्यो पनि सिलाबरे होइन टलक्क टल्कने चाँदीको। कालान्तरमा सुनचाँदीको मूल्य बढ्दै गयो, त्यसमाथि चलनचल्तीमा खास गरेर धातुबाट निर्मित पैसाको प्रयोग असामयिक देखिन थाल्यो। तसर्थ विकल्पकै रूपमा सजिलोको लागि बिस्तारै कागजको पैसा (नोट)को प्रचलनले व्यापकता पाउँदै गयो।

आजको मितिमा सिक्काको प्रचलन करिब शून्यप्रायः भइसकेको छ।

सबै देशमा आज कागजको नोट छ। र, नोटमा त्यस देशको गभर्नरको हस्ताक्षर छ। मेरो हातमा पनि मेरो देशको नोट छ, गभर्नरको हस्ताक्षरयुक्त कागजको नोट। तर माफ गर्नोस्, म यी नोटहरूलाई कागज बनाउने गर्छु।

मलाई थाहा छैन, मेरो यस्तो कृत्यप्रति यस देशको मुलुकी ऐनमा वा संविधानको धारा–उपधारामा कुनै सजायको व्यवस्था छ–छैन कुन्नि ! तर म निरन्तर... निस्फिक्री... नोटहरूलाई कागज बनाइरहेछु।

०००

मान्छेहरू कागजकै टुक्राटाक्री बेचेर पनि नोट (पैसा) जम्मा गर्छन्। जसरी हुन्छ, नोट जम्मा गर्न ज्यान दिएर लागिपर्छन्। बेइमानी गरेर, नैतिकता बेचेर, कसरी हुन्छ सम्पत्तिका खातिर मान्छेहरू आँखा चिम्लेर दौडिन्छन्। यही अवस्थामा म भने मेरो खल्तीका नोटहरूलाई कागजमा परिवर्तन गर्ने कर्ममा लागेको छु।

आश्चर्य लाग्ला यो सुनेर— आजको मितिसम्ममा मैले धेरै नोटहरूलाई कागजमा रूपान्तरण गरिसकेको छु। तर, ध्यान दिएर मेरो कुरा सुन्नोस् ! नोटहरूलाई बदलेको कागज चानचुने छैन। मलाई थाहा छ— यो कोरा कागज हैन, कुनै खेस्रा कागज पनि हैन। मेरो लागि यो एउटा महत्वपूर्ण कागज हो।

सोध्नुहुन्छ भने प्रस्टै भनिदिन्छु— मैले यो कागजलाई नाम दिएको छु— ‘शारदा’। मलाई मोह छ यो ऐतिहासिक नामसँग। आज केवल कागज नै मात्र मानिएला ‘शारदा’लाई। मेरो भन्नु केही छैन। तर, मलाई भने गर्व छ यसमा। किनकि मलाई आशा छ, भोलि यसमा अंकित नामहरूले इतिहास दोहोर्‍याउन सक्छन्। मेरो भरोसाको उँचो बिन्दु हो ‘शारदा।’

ऐतिहासिक शारदामा गोपालप्रसाद रिमाल छापिएका थिए, उनको कविता ‘आमाको सपना’ छापिएको थियो। आजको ‘शारदा’मा म आजका श्यामलहरू छापिरहेछु, म त्यसमा उनै रिमाल देखिरहेछु, युद्धप्रसाद भेटिरहेछु। कसैले मेरो दृष्टिभ्रम नभनोस् ! मञ्जु काँचुलीमा, नीलम कार्कीमा पारिजातको छवि देखिरहेछु।

मेरो देखाइप्रति वा पाउनुप्रति कसले बाँध हाल्न सक्छ ? म स्वतन्त्र छु, हो म देख्छु— भुवन ढुंगानाका कथाकारितामा बीपीको अनुहार, सीता पाण्डेमा प्रेमा शाह, नयनराज वा सरू पोखरेलहरूमा अन्य कुनै दिग्गज लेखकको कलम। म पाउँछु, रमेश क्षितिजका गीतमा हरिभक्तको पीडा, जीवनपानी वा रूपक वनवासीका गजलहरूमा मनु ब्राजाकीको लय, लालगोपालका काव्यकारितामा देवकोटा–माधव घिमिरेको शिल्पी, श्रीओम वा ज्ञानेन्द्रहरूका निबन्धमा शंकर लामिछाने, कृष्णचन्द्र वा ताना सर्माको भाव अनि दुबसु, प्रोल्लास, असीमहरूका कवितामा भूपिको सपना, अशेषमा समको प्रतिविम्ब, उषा, रमेश पौडेल, रामकाजीका मुक्तकमा भीमदर्शनको दर्शन, श्रीबाबु, सुमनका लघुकथामा महान् महाकाव्य।

कस–कसको मात्रै नाम लिऊँ ? अरू धेरै नाम छन्, जसमा थुप्रै सम्भावना देखिरहेछु। तर यहीँनिर म अर्थोक पनि देखिरहेछु। कवितामा नारा पनि देखिरहेछु। प्रेमपत्रलाई कलात्मक साहित्यको नाम दिएको पनि देखिरहेछु। अश्लील–लेखनलाई यौन–साहित्य भनेर परिभाषित गरेको पनि देखिरहेछु।

देखिरहेछु, कवितामाथि कुनै नेताको उग्र भाषणमा झैँ ताली पिटाएर आत्मरतिमा रमाउनेहरूको पंक्ति। तर, मैले यी सम्पूर्ण विसंगतिहरूबाट ‘शारदा’लाई टाढा राख्नु छ, राख्ने कोसिस गरेको छु,। किनकि ‘शारदा’लाई ‘चर्चा’को विषय बनाउन चाहन्नँ म, सर्वथा मन पराइयोस् भन्ने चाहन्छु,। यसको एउटै आशय के हो भने ‘शारदा’ लोकप्रिय बनोस् ! मैले प्रायः भन्ने गरेकै छु— चर्चायोग्य विषय त जे पनि हुन सक्छ। बजारमा निर्वस्त्र हिँड्ने हो भने त्यसको जति चर्चा के होला र ? तर मन पराइनु अथवा लोकप्रिय हुनु भनेको चर्चा हुनुभन्दा बेग्लै विषय हो। यस अर्थमा, बजारको साहित्यिक विकृतिबाट हरहमेशा मैले पृथक् राख्ने कोसिस गरेको छु ‘शारदा’लाई।

हो, म ‘शारदा’लाई म साहित्यको कञ्चन प्रतिविम्ब बनाउन चाहन्छु। त्यसैले पनि यसलाई अत्यधिक मन पराउँछु। त्योसँग निकटको प्रेम गर्छु, आत्मीय प्रेम गर्छु। शारदा मेरो सपना हो। शारदा मेरो चाहना हो। शारदा मेरो संसार हो। कुनै अर्को अर्थ लाग्दैन भने शारदा मेरो ‘महत्वाकांक्षा’ हो।

देख्दा केवल ‘शारदा’भित्र कागजका पृष्ठहरू र ती पृष्ठहरूमा किरिमिरी काला अक्षरहरू ! कतिपयलाई ती पृष्ठहरूको कुनै अर्थ नलाग्ला, कुनै महत्व नै नहोला। पक्कै हो, केवल कागजको नोटमा मूल्य देख्नेहरूले मूल्यहीन ठहर्‍याउलान्, शारदालाई। मात्रै, कागजको खोस्टो सम्झेलान् तिनले। यस्तो दृष्टिकोणलाई म गलत पनि भन्दिनँ। किनकि म बुझ्छु यो कुरा। गीतकार दुर्गालाल श्रेष्ठले लेख्नुभएकै छ—

फूलको आँखामा फूलै संसार

काँडाको आँखामा काँडै संसार...

फरक के मात्रै हो भने, फूलको आँखाले हेर्दैमा संसारमा सबै वस्तु पूmल हुन सक्दैनन्। काँडाको आँखाले हेर्दैमा सबै वस्तु काँडा हुन सक्दैनन्। दुनियाँमा अर्थोक पनि छन्। ढुंगा छ, बालुवा छ, नदी छ, रूख छ। बुझ्न सक्नुपर्छ हेर्नेले। हेरेर मात्र हुँदैन, पहिचान गर्न जान्नुपर्छ। हेर्नेको दृष्टिकोणमा आधारित छैन दुनियाँ। दृष्टिकोणले यथार्थ बदलिँदैन, दृष्टिकोणले संसारको सत्य मर्दैन।

यसैले पनि ‘शारदा’ दृष्टिकोणहरूमा भर पर्दैन। यो आफ्नो मान्यतामा अडिग छ। आफ्नो मूल्य आफैँ राख्न चाहन्छ। म यसलाई मूल्यवान् बनाउन चाहन्छु। कागजको नोटको तुलनामा सस्तो होला तर मनको महँगो बनाउन चाहन्छु। कागजको नोटले यसको स्वाभिमान खरिद गर्न नसकोस्, म यस्तो चाहन्छु।

यो ‘शारदा’ले ऐतिहासिक त्यो पुरानो ‘शारदा’लाई किञ्चित मानमर्दन नगरोस्, म सचेत पनि छु। योमार्फत म त्यो ‘शारदा’को उज्यालो इतिहासलाई अझै बढी चम्काउन चाहन्छु। यही कामना लिएर म आज ‘शारदा’माथि मेरो सम्पूर्ण प्रकारका श्रमहरू अर्पण गरिरहेछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.