छोराको छटपटी
अपांग छोरालाई १७ वर्ष आफूसँगै हुर्काएर होस्टल पुर्याउँदा आमा के सोच्छिन्?
‘मेडम हजुर त अपांग बच्चाहरूको क्षेत्रमा कार्यरत हुनुहुन्छ। हाम्रो बाबुजस्तो बच्चाहरूलाई राम्रो केयर गरेर राख्ने कुनै होस्टेलको सुविधा भएको स्कुल छैन ? ’ बाबु अंकितको स्कुलको फी बुझाउन जाँदा प्रिन्सिपल मेडमसँग आफ्नो मनको बह पोखेँ।
दिनदिनै उसको उमेर बढ्दै थियो। मानसिक रूपमा एक वर्षको बच्चाजस्तो भए पनि शारीरिक हिसाबले उसको उमेर १७ वर्ष भइसकेको थियो। घरव्यवहार दुई छोरीहरूको जिम्मेवारी पनि मेरै काँधमाथि हुँदा बाबुलाई सुताउन, उठाउन, खुवाउन, दिसापिसाब सफा गर्नु मेरो एक्लो ज्यानले गाह्रो थियो।
मेडमले मतिर फर्केर भन्नुभयो, ‘साँखुमा एउटा स्कुल छ। त्यहाँ बाबुजस्तै बच्चाहरू राखेको देखेको थिएँ। राम्रो केयर हुन्छ त्यहाँ। तुरुन्तै त त्यहाँ हुँदैन होला। नाम टिपाइराख्नु न, दुईतीन वर्षमा त पालो आउला।’ खै किन हो, त्यो बेलामा मेडमले बोलेको त्यो बोली भगवान्कै बोलीजस्तो लागेको थियो। मेडमले साँखुको स्कुलको सरको नाम र मोबाइल नम्बर पनि टिपेर दिनुभयो।
घरमा आएपछि त्यो नम्बरमा कल गरेँ। मानन्धर सरले फोन उठाउनुभयो। मैले आफ्नो बच्चाको बारेमा बताउँदै परिचय दिएँ। ‘सर मलाई एकपटक हजुर र हजुरको स्कुलका बच्चाहरू भेट्ने मन छ’ भनेर आफ्नो कुरा राखेँ। उहाँले समय दिनुभयो।
लोकेसन पत्ता लगाउँदै स्कुल पुगियो। स्कुलको गेटमा ‘नो क्यास डोनेसन, नो मुवी क्यामेरा, नो फोटो’ लेखेर बोर्ड झुन्ड्याइएको थियो। दसैं नजिकिँदै थियो। एक व्यक्ति हातमा ब्रस लिएर भित्तामा रङ लगाउँदै थिए। ती व्यक्ति नै प्रिन्सिपल मानन्धर हुनुहुँदो रहेछ। उहाँले ब्रस थन्क्याउँदै वेटिङ रुममा बसाल्नुभयो।
सत्ताइस वर्ष पूरा भइसकेछ अपांग बच्चाहरूको सेवामा आफूलाई समर्पित गर्नुभएको। उहाँहरूको आफ्नो कुनै सन्तान पनि रहेनछन्। मेडमसँग पनि परिचय गराउनुभयो। उहाँले श्रीमतीलाई मायाले काली भनेर सम्बोधन गर्नुहुँदो रहेछ। खास नाम रेखा रहेछ। एकछिनपछि उहाँले त्यहाँ रहेका बच्चाहरूको खाना खाने ठाउँ, सुत्ने ठाउँ, पढ्ने कोठा सबै देखाउनुभयो। सफासुग्घर सबै व्यवस्थित थियो। त्यहाँ बौद्धिक अपांग भएका सानादेखि चालीस पचास उमेरको हाराहारीमा पनि देखिन्थे। उनीहरूको हेरविचारका लागि कर्मचारी प्रशस्त थिए।
‘हजुरको बाबुलाई एकपटक ल्याएर देखाउनुहोस्। पछि ठाउँ खाली भएछ भने राखौंला’, सरले भन्नुभयो।
‘म नहुँदा तिमीले बाबुको स्याहार गर्न सक्दिनौ। मन कठोर गराई आँखा चिम्म गरेर कुनै राम्रो स्याहारसुसार केन्द्रमा बाबुलाई राख्नू’, आफू बिरामी हुँदा श्रीमान्ले भनेका ती वाक्यहरू बारम्बार गुञ्जिँदै थिए मेरा कान वरपर। मलाई लाग्यो, मेरा पाइलाहरू उहाँकै आत्माले यहाँसम्म लिएर आएको हो कि ?
तिहारपछि बाबु अंकितलाई लिएर गयौं। त्यहाँ अरूहरू पनि आएका थिए आफ्नो बच्चाहरू राख्ने विषयमा कुराकानी गर्न। सरले तीनचार वर्ष प्याक नै रहेको जानकारी दिनुभयो। अब ठाउँ खाली भयो भने खबर गर्छु भन्ने आश्वासनसहित हामी त्यहाँबाट बिदा भयौँ।
यता बाबु गइरहेको स्कुल पनि अब एक महिना बिदा हुँदै थियो। अर्को स्कुल बालुवाटारदेखि ललितपुर सार्न लागिएको थियो। अब मसँग दुइटा विकल्प देखियो। या त सरलाई अनुरोध गरेर साँखु होस्टेलमै राख्ने या ललितपुरबाट धापासी अपडाउन गराउने।
स्कुल बिदाले खाना बनाउँदा ढोकाको चुकुल लगाएर बनाउँथेँ। नत्र अंकित भित्र पसेर सबै छरपस्ट पारिदिन्थ्यो। एक दिन आमाको फोन आयो। आमाको मोबाइलमा साँखुबाट मानन्धर सरले बाबु लिएर आउनू भन्नुभएको रहेछ। त्यही खबर दिन मलाई कल गर्नुभएको रहेछ। भोलिपल्टै बाबुलाई उसकी बहिनी आशिकाको जिम्मा लगाएर आमा र म साँखु पुग्यौं। बाबुको भर्ना गरी उसलाई चाहिने सामानको लिस्ट गराई फर्कियौं।
बाबुलाई त्यो स्कुलमा भर्ना गर्न पाउनु ठुलो कुरा थियो। उसको लागि रातो बंगला स्कुलमा भर्ना गरे बराबर। तर खै किन हो मन बेचैन हुँदै थियो। चिन्ताले होला, बारम्बार टाउको दुखिरहन्थ्यो। १७ वर्ष आफ्नो काखमै राखेको छोरा अब होस्टेल जाँदै थियो। दुःखको कुरा त भगवान्ले पक्षपात गरे। कमसेकम भोक लाग्यो, ट्वाइलेट जान्छु भन्नेसम्म गराइदेको भए पनि यति दुःखी हँदिनथेँ होला। पूर्वजन्ममा पनि विचरा उसले के पो बिगारेको थियो होला र यत्रो ठूलो सजाय दिनुपर्ने।
बाबुको स्याहारमा लाग्नुपर्दा मैले छोरीहरूलाई कहीँ घुमाउन सकेको छैन। ‘अब त अंकितलाई होस्टेल राखेपछि घुमाउन लैजानुहोला नि ? ’, आशिका खुसीको भाव झल्काउँदै मलाई सोध्छे। उसका साथीहरू कहाँकहाँ घुम्दै फेसबुकमा फोटो अपलोड गरिरहेका हुन्छन्। कहिलेकाहीँ त यिनीहरूको बालअधिकार हनन भयो कि जस्तो पनि लाग्छ।
बाबुको होस्टल जाने दिन पनि आयो। बुटवलबाट दाजु आउनुभएको थियो। उहाँकै गाडीमा बाबुलाई लिएर साँखु पुग्यौं। खै किन हो म मौन थिएँ। जे जस्तो परे पनि परिस्थितिसँग सामना गर्नु नै थियो मलाई। त्यहाँ पुग्दा मानन्धर सर हुनुहुन्थेन। कामले बाहिर जानुभएको रहेछ। मेडमले बाबु, उसको सामान प्रेमपूर्वक जिम्मा लिनुभयो। एकजना अर्को सरले बाबुको नियमित खाने औषधि जिम्मा लिनुभयो। खुसीको कुरा, अब बाबुले आफ्नो घरभन्दा राम्रो मायाप्रेम, स्याहार पाउने ठाउँ भेटेको थियो, जहाँ आफूजस्तै थुप्रै साथी थिए, ऊ एक्लो थिएन अब।
बाबु छोडेर फर्कनुपर्ने भयो। निस्कने बेला बाबुलाई भाउजूले हेर्नुभएछ। ‘बेन्चमा खुट्टा हल्लाउँदै बसेका छन् बाबु। खुसी छन्’ भन्नुभयो। मैले हेरिनँ। मनै लागेन। आमाको मन न हो, बाबुलाई मानवरूपी देवताको काखमा छोडी गाडीमा बसेँ। बाटोभरि उसैको याद आइरह्यो। अब सिसा सफा गर्ने कोलिन बिस्तारामा लगेर पूरै छिटेर कसले रित्याइदिन्छ ? किचनको पानीको धारा खोलिदिएर पूरै भान्सा पानीको तलाउ कसले बनाउला ? बाथरुमको पानी खोलेर आफू पनि छ्याप्पिँदै पूरै पार्केट भिजाउने को छ र अब ? बहिनीहरूको कापीकिताब निकालेर च्यातेर मसिना मसिना चुर्ना पार्ने पनि कोही छैनन् अब। म किचनमा खाना बनाउँदा सिसाबाट चियाउँदै ढोका हान्ने पनि कोही हुनेछैन अब। बाबु बिनाको मेरो घर सुनसान हुनेछ।
‘त्यहाँ बस्दा ऊ आत्तिन्छ कि ? मलाई खोज्छ कि ? ’ मनभरि प्रश्नैप्रश्न।
घर बस्न मन लागेन। दाजु भाउजूसँगै बुवाआमाको फ्ल्याटमा नानीहरू लिएर गएँ। होस्टल मेडमलाई फोन गरेर सोधेँ, ‘के गर्दैछ बाबु ? ’
‘बाबु मज्जाले ज्वाइँ बसेझैं बसेको छ। राम्रो खाएको छ। चिन्ता नलिनुस्, आरामले सुत्नुस्।’ मेडमले यति भनेपछि मन आनन्द भयो। तैपनि आमाको मन, त्यो रात निद्रा फिटिक्कै लागेन। बाबुलाई होस्टल राखेपछि अरू काम त कामजस्तै नलाग्ने। यस्तै त हुँदो हो नर्मल बच्चाहरू भएका महिलाहरूको जिन्दगी। एकैछिन आँखा चिम्लेर महसुस गरेँ, उनीहरूको लाइफ। उफ्, यो कस्तो स्वतन्त्रता पाइरहेको थिएँ मैले। न कसैसँग बोल्न मन लाग्छ, न कतै निस्कूँजस्तो। कोठाभित्रै बसिरहूँजस्तो। साँच्चै डिप्रेसनमै गइन्छ कि जस्तो।
दिनमा दुईपटक फोन गर्थें बाबुको हालचाल बुझ्न। राम्रो छ, नआत्तिनुस् भन्नुहुन्थ्यो सर मेडम दुवैले। नानीहरूको पनि छुट्टीको दिन पारेर एक हप्तापछि अंकितलाई भेट्न नानीहरू, बुवाआमासहित जाने भइयो। पहिला साली नदी दर्शन गरेर बल्ल स्कुल पुग्ने योजना गरायौं। साली नदीमा श्रद्धालु भक्तजनको असाध्यै भीड थियो। आफू हिँड्नै नपर्ने, त्यो भीडले ठेलेर जता लान्छ उतै लागिने। सहिद दिवस बिदाको दिन परेकाले पनि होला, त्यस्तो भीड।
साली नदी दर्शनपछि स्कुलतिर लागियो। गेटभित्र छिरेर त्यहाँ बाबुको केयर गर्ने मिससँग भेट भयो। ‘खाना राम्रो खाइरहेको छ। सुरुमा उसको हातमा चम्चा दिएर आफैं खान सिकाउँदै छौं। बाँकी बचेको बल्ल हामीले ख्वाइदिन्छौं, राति निदाएपछि एकैचोटि बिहान ब्यूँझन्छ।’ मिसको कुराले मनमा आनन्द आयो।
परबाट मिसले बाबुलाई लिएर आउँदै हुनुहुन्थ्यो। नानीहरू पनि दादालाई हेर्दै थिए। मेरो बुवा, आमाको नजर पनि बाबुमै थियो। ऊ अझ नजिक आउँदै थियो। अब के गर्ला ? मसँग आएर टाँसिने होला। मलाई देखेर मुसुक्क हाँस्छ कि ? अँगालोमा हालेर खुसीले चिच्याउँछ कि ? मन उत्सुक हुँदै थियो।
बाबु मेरो छेउमा आइपुग्यो। अचम्म लाग्यो, उसले मलाई हेर्दै हेरेन। वास्तै गरेन। ऊ आफ्नै धुनमा थियो। मलाई चिन्दै चिनेन। हजुरबुवा, हजुरआमा, बहिनीहरू कसैलाई चिनेन। सबैले अंकित भनेर बोलाउँदा हेर्न त हे¥यो तर नचिनेको भावले। सफासुग्घर चिटिक्क परेको थियो। हेर्दा लाग्यो, बाबु खुसी सुखी नै छ।
अरूले जस्तै नौ महिना कोखमा राखेर उही प्रसवपीडा सहेर जन्माएको थिएँ। जन्मेदेखि बिरामी, बेहोश भइरहने। औषधि र अक्सिजनको भर थियो। उसैको ध्यानमा सारा संसार बिर्सिसकेको थिएँ। दिन रात बराबर थियो। सुख के, दुःख के मेरो लागि कुनै अर्थ थिएन। त्यसमाथि आफ्नो सबैभन्दा नजिकको जीवनसाथी छोटो आयुमै बिदा गर्नु परेको पीडा थपियो। तर, बच्चाहरूलाई बाबाको कमी महसुस नहोस् भनी लागिपरेँ, जबर्जस्ती मुस्कुराइरहेँ। छोरीहरू टाठाबाठा छन्, आफूलाई उनीहरूभन्दा बढी बाबु नजिक नै राखेँ।
उसलाई आफैं खाना खाने र दिसापिसाब गर्नसक्ने तालिम पनि चाहिएको थियो। यति जाने त मेरो छोरा डाक्टर भएसरह हुन्थ्यो मेरो लागि। मेरो मायाले अघाउँदैन कि भनेर आफैं खाना खान पनि सिकाइनँ। अब म कठोर हुनु जरुरी थियो। म जबर्जस्ती आँखा चिम्लिन बाध्य भएँ मेरो बाबुका लागि, मेरो लागि, मेरा साना नानीहरूका लागि। एक मनले भन्यो, ‘यत्रो सत्र वर्षको तेरो त्याग तपस्या सात दिनमै सकिएछ है ? ’
बाबु एउटा झारको त्यान्द्रो खेलाउँदै पर पुगिसकेको थियो। सोचेँ, ठीकै छ मेरो बाबुको दिमाग त शून्य रहेछ। चित्त बुझाउनु पर्यो तर दिमाग सही सलामत भएका कैयौं छोराछोरीले आफ्ना आमाबुवालाई नचिनेको नाटक गर्दै आ श्रममा लगेर छोडेका हुन्छन्। कति रोएका होलान्, ती बाबुआमाको मन झन् ? एक हिसाबले त बाबुले मलाई नचिनेको ठिकै पनि भयो। नत्र मलाई कति गाह्रो हुने थियो, उसलाई छोडेर निस्कँदा।
त्यहाँबाट म आफ्नो भाव लुकाउँदै हँसिलो अनुहार देखाएर बिदावारी भएँ। बाटोभरि एउटा पुरानो हिन्दी फिल्म ‘सदमा’को झलझली याद आइरह्यो, जुन फिल्मको अन्त्यमा नायक कमल हसनलाई नायिकाले दिमागी रूपले पूरै बिर्सिसकेकी हुन्छिन्। एक जमानामा त्यो फिल्म हेरेर मैले पूरै रात रोएरै बिताएको थिएँ।
आज त्यस्तै किसिमको कथा फेरि दोहोरिएको थियो। फरक यत्ति थियो, फिल्ममा नायिकाको दिमाग ठीक भएर बिर्सिन् भने मेरो बाबुको दिमाग शून्य नै रहेर बिर्सियो।