निरुताको भलिबल यात्रा

निरुताको भलिबल यात्रा

निरुताले आफ्ना शिक्षकहरूले आफूप्रति गरेको विश्वास गुम्न दिइनन्। भलिबल खेल्न थालेको छोटो अवधिमै आफूलाई निखारिन्।

नेपाली खेलकुदमा पछिल्लो समय भलिबल खेलले लोकप्रियता हासिल गरेको छ। हरेक महिना देशका विभिन्न भागमा भलिबल प्रतियोगिता हुँदै आएका छन्। यस्ता प्रतियोगिताले थुप्रै नयाँ खेलाडीको उदय भएको छ। पछिल्लो समय विभिन्न क्लब र टिमबाट खेल्दै आएका महिला खेलाडीले पनि भलिबलमा आफ्नो क्षमता र सम्भावनालाई उजागर गरेका छन्। भलिबल खेलबाटै आफ्नो क्षमता, दक्षता र सम्भावनालाई बढाउन सफल उदीयमान खेलाडी हुन्, त्रिभुवन आर्मी क्लबकी निरुता ठगुन्ना (१९)।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा महिला भलिबल सुरु भएको धेरै भएको छैन। करिब चार वर्षअघि सुरु भएकाले महिला भलिबलमा आर्मी अन्य विभागीय टोलीभन्दा कमजोर मानिँदै आएको छ। सबै नयाँ खेलाडीबाट सुरु भएको टोलीले पछिल्लो समय भने महिला भलिबलमा ठूलै सम्भावनालाई उजागर गरेको छ। नयाँ टोली भए पनि थुप्रै प्रतिभावान् खेलाडीको प्रवेशसँगै आर्मी क्लब महिला भलिबलमा छुट्टै छाप छोड्दै छ।

राजधानीमा केही समयअघि सम्पन्न प्रथम शिवम् न्यु डायमन्ड कप महिला भलिबलमा आर्मीले तेस्रो स्थान हात पा¥यो। तेस्रो स्थानका लागि भएको खेलमा राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टप्स उच्च माविलाई ३–० को सोझो सेटमा स्तब्ध बनायो। त्यसअघि सम्पन्न ढोरपाटन डबल लिग महिला भलिबलमा भने आर्मी पाँचौं रह्यो। आर्मी पाँचौं स्थानमा खुम्चिए पनि टोलीकी मुख्य खेलाडी ओपन स्पाइकर निरुता ठगुन्ना प्रतियोगिताको प्लेयर अफ दी सिरिज बन्न सफल भइन्। उपाधि भिडन्तमा पछि रहे पनि व्यक्तिगत प्रदर्शनमा आर्मीका खेलाडी अब्बल देखिए। प्रतियोगिताको प्लेयर अफ दी सिरिज हुँदै उनले आकर्षक स्कुटर जित्न सफल भइन्।

सुदूरपश्चिमाञ्चलको दार्चुलाकी निरुताले आर्मी टिममा ओपन स्पाइकको भूमिका निर्वाह गर्दै आएकी छन्। उनकै प्रेरणामा पछिल्लो समय आर्मीले महिला भलिबलमा गर्विलो प्रदर्शन गर्दै आएको छ। निरुताले पनि रेजिङ र डिगिङ थालेको धेरै भएको छैन। सानै उमेरदेखि विद्यालयका पुरुष सहपाठीले खेलेको देखेरे यस क्षेत्रमा आकर्षित भइन्।

तर, नियतिले नै भन्नुपर्छ ९ कक्षा पढ्दै गर्दा ठगुन्नाले पहिलोपटक भलिबल छुन पाइन्। उनी पढ्ने विद्यालयले राष्ट्रपति रनिङ सिल्डमा सहभागिता जनाउने भएपछि खेलाडी छनोट गरिएको थियो। कहिल्यै भलिबल नछोएको र खेलाडी हुन्छु भनेर कल्पनै नगरेकी ठगुन्नालाई पनि विद्यालयका शिक्षकहरूले छाने। त्यस बेला उनलाई अरू विद्यार्थीभन्दा अग्ली भएका कारण छनोट गरिएको थियो।

निरुताले आफ्ना शिक्षकहरूले आफूप्रति गरेको विश्वास गुम्न दिइनन्। भलिबल खेल्न थालेको छोटो अवधिमै आफूलाई निखारिन्। धुलिगढाको जनहित माविको टोलीबाट विभिन्न विद्यालयस्तरीय प्रतियोगिताका साथै राष्ट्रपति रनिङ सिल्डमा आफ्नो कला देखाइन्। त्यसपछि ओपन स्पाइकर निरुताले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाइन्। करारमा नेपाली सेनामा आबद्ध भएकी उनले २०७२ सालमा पोखराको लामाचौरमा सम्पन्न प्रतियोगितादेखि पहिलो रोजाइको खेलाडीका रूपमा टोलीमा स्थान बनाउँदै आएकी छन्। ‘स्कुल पढ्दा भलिबल खेल्छु भनेर कहिल्यै सोचेको थिइनँ। सरहरूका कारण आफूले कल्पनै नगरेको क्षेत्रमा लागेँ। अब यही क्षेत्रलाई अगाडि बढाउँछु’, निरुताले भनिन्।

आर्मीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठका अनुसार निरुतामा सफल खेलाडी बन्ने गुण छ। ‘भर्खर १९ वर्ष मात्र पुगेकाले उसले महिला भलिबलको क्षेत्रमा धेरै गर्न सक्ने देखेको छु’, विगत एक महिनादेखि आर्मी टोलीलाई हेर्दै आएका पूर्व मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘सिकाएको कुरा तत्काल लिनसक्ने क्षमताले उसको भविष्य राम्रै देखेको छु।’

सर्भिस, ब्लक, स्पाइक तीनै कुरामा निरुता बलियो रहेकाले राष्ट्रिय टोलीमा अटाउने श्रेष्ठले दाबी गरे। निरुताले जस्तोसुकै बल आए पनि सट् हान्नसक्ने भएकाले भविष्य राम्रो रहेको बताउँछन्। अनुशासित टोलीका रूपमा रहेको आर्मी निकट भविष्यमै पुरुषमा जस्तै महिला भलिबलमा पनि दबदबा राख्ने दाबी गर्छन्।

अहिले राष्ट्रिय टोलीका अधिकांश खेलाडी पाका छन्। केही खेलाडीको उमेर ३० वर्ष नाघिसकेको छ। राष्ट्रिय टोलीमा खेलाडी परिवर्तन गर्नुपर्ने आवाज विगत लामो समयदेखि उठे पनि अहिलेसम्म पुरानै खेलाडीले खेल्दै आइरहेका छन्। तर, पछिल्लो समय थुप्रै प्रतिभावान् खेलाडीको उपस्थितिले राष्ट्रिय टोलीको पुनर्संरचना हुने देखिएको छ।

पूर्व मुख्य प्रशिक्षक श्रेष्ठ पनि निरुतालगायत पछिल्लो समय थुप्रै प्रतिभावान् खेलाडी आएकाले राष्ट्रिय टोली पुनर्संरचना हुने बताउँछन्। ‘पुरुष टोलीमा थुप्रै नवप्रतिभा आए पनि महिला टोलीमा भने लामो समयदेखि पुराना र उमेर ढल्केका खेलाडीको बाहुल्य रहँदै आएको छ। पुरुष टोलीको जस्तै महिला टोलीबाट पनि उत्कृष्ट प्रदर्शनको आशा गर्ने हो भने युवा खेलाडीलाई अवसर दिनु जरुरी छ’, प्रशिक्षक श्रेष्ठले भने।

उनले पछिल्लो समय प्रतियोगिताको बाढी आए पनि खेलाडीको प्रशिक्षण भने शून्य अवस्थामा रहेको बताए। ‘अहिले प्रतियोगिता धेरै भए तर खेलाडीको प्रशिक्षण भने हुन सकेको छैन। भलिबल संघले पनि प्रतियोगितालाई मात्र ध्यान दियो, प्रशिक्षणलाई बेवास्ता गरियो’, श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.