साहित्यकार रमेश शुभेच्छु पुरस्कृत
काठमाडौं : पण्डित आनन्दमणि-टुल्की, नन्दकला स्मृति प्रतिष्ठान काठमाडौँले साहित्यकार रमेश शुभेच्छुलाई पुरस्कृत गरेको छ। स्याङजा फापरथुमका शिक्षासेवी पण्डित आनन्दमणि ढकाल र उनको परिवारका नाममा उनका सुपुत्र पूर्वमन्त्री त्रिलोचन शर्मा ढकाललगायत परिवारले कोष जुटाएर स्थापना गरेको प्रतिष्ठानले शिक्षा र साहित्य क्षेत्रलाई पुरस्कृत गर्दै आएको छ।
प्रतिष्ठानले स्याङ्जा जिल्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने शिक्षासेवाका साथै प्रत्येक दुई वर्षमा एक विशिष्ट साहित्यकारलाई पुरस्कृत गर्दै आएको छ। यस वर्ष पाँचथरका साहित्यकार कवि एवम् समालोचक रमेश शुभेच्छु सम्मानित भएका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसा उप्रेतीले शुभेच्छुलाई ताम्रपत्रसहित १५ हजार राशीको पुरस्कार प्रदान गरे। प्रमुख अतिथि उप्रेतीले शुभेच्छु जस्ता प्रतिभा छनोट गर्न सकेकामा संस्थालाई धन्यवाद दिँदै शुभेच्छुले अनेक संघर्षका साथ पाँचथरबाट इलाम हुँदै काठमाडौँ आएर आफूलाई यस सफलताका बिन्दुसम्म पुर्याएको बताए।
विशेष अतिथिको आसनबाट बोल्दै प्राज्ञ प्रा. दिनेशराज पन्तले शुभेच्छुसँग नेपाल प्रज्ञाप्रतिष्ठानका गौरवमय साठी वर्ष पुस्तक लेखन गर्दाको अनुभव सुनाउँदै शुभेच्छुको सम्मान हुनु आजको युवा पुस्ताको सम्मान भएको चर्चा गरे।
कार्यक्रममा प्रा.डा लालुप्रसाद पौडेलले स्वागत मन्तव्यसहित संस्थाको परिचय प्रस्तुत गरेका थिए। पुरस्कृत प्रतिभा शुभेच्छुको परिचय दिँदै डा. अशोक थापाले शुभेच्छु बाल साहित्य, कविताकाव्य सिर्जना, समीक्षा, संगठन, संघसंस्थासँग संलग्न भएर लागिरहेको र उनको मूल देन कविता विधामा र त्यसमा पनि शास्त्रीय कवितामा रहेको बताए।
शुभेच्छुका कविता, काव्य, महाकाव्य, समालोचना, बालसाहित्य, सम्पादन र पाठ्यपुस्तक गरी चार दर्जनअधिक कृतिहरु प्रकाशित छन्। साहित्य सिर्जना समीक्षा, सङ्गठन, साहित्यिक पत्रकारिता आदिमा सक्रिय शुभेच्छुलाई यो पुरस्कार पहिलोपटक स्याङ्जा जिल्लाभन्दाबाहिर प्रदान गरिएको र अब यसलाई राष्ट्रिय स्तरमा विकास गर्ने जानकारी प्रतिष्ठानका संरक्षक पूर्वमन्त्री त्रिलोचन ढकालले दिए। उनले धन्यवाद ज्ञापनका क्रममा भने, ‘आज हामीले सही प्रतिभालाई चयन गरेका छौँ। हामीले हाम्रा अभिभावकका नाममा राखेको यो पुरस्कारबाट साहित्य र शिक्षा क्षेत्रमा योगदान पुगोस् भन्ने हाम्रो कामना हो।’
कार्यक्रममा पुरस्कृत प्रतिभा शुभेच्छुले यस पुरस्कारले आफूलाई विचलित नभइ साहित्य सिर्जनामा लागिरहने अभिप्रेरणा मिलेको अनुभूति साट्तै वर्तमान नेपाली साहित्य र युवापुस्ताको भूमिका विषयक मन्तव्य राखे।
कार्यक्रममा स्याङजा जिल्लाबाट दश जोड दुईमा नेपाली विषयमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु विष्णु अर्याल र गीता पाठकलाई पछि स्याङजामै कुनै कार्यक्रम गरी पुरस्कार अर्पण गर्ने जानकारी गराइएको छ। कार्यक्रममा प्रतिष्ठानको अभिलेखको पनि विमोचन भयो।
कार्यक्रमका सभापति डा. महेश्वर शर्माले भने, ‘सुरुमा स्याङ्जाली स्रष्टालाई मात्र प्रदान गर्ने उद्देश्य रहे पनि यस प्रतिष्ठानको राष्ट्रव्यापी विस्तारका लागि यस पुरस्कारलाई यस पटक मेचीको पल्लोछेउ पाँचथर पुर्याएका छौँ।’ उनले शुभेच्छुको सिर्जन सक्रियताबाट आफू प्रभावित भएको बताए।
कार्यक्रमा साहित्यकार राम विनय, धीरकुमार श्रेष्ठ, जगत् उपाध्याय प्रेक्षित्, डा. घनश्याम परिश्रमी, गंगा पौडेल, रामप्रसाद पन्त, सागर काफ्ले,पाते पच्युलगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा नेपाली साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।