निर्णयविपरीत समानुपातिकमा दोहोर्याउँदै कांग्रेस
काठमाडौं : कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ यसअघि मौका पाइसकेका नेताहरूलाई अवसर नदिने निर्णय गरेको भए पनि अहिले १३ जना पुरानै नेताको नाम सिफारिस गर्न लागेको छ।
अहिले कांग्रेसले समानुपातिकतर्फ प्रतिनिधिसभामा सिफारिस गर्न लागेका सूचीमा एक दर्जनभन्दा धेरै नेताहरू दोहोरिने सम्भावना देखिएको छ। निर्वाचन आयोगले शुक्रबार कांग्रेससहित सबै दललाई २९ गतेभित्र समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची पठाउन पत्र पठाएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बन्द सूचीको क्रम संख्या हेरफेर गर्न नमिल्ने कानुनी बाध्यताले पार्टी निर्णयविपरीत केही नाम दोहोरिएको स्विकारे। उनले भने, ‘बन्द सूची पठाउने बेलामै यसमा ध्यान दिनु पर्ने थियो तर अहिले त्यसमा केही गर्न सकिँदैन।’ कांग्रेसले समानुपातिक सूची पठाउन शनिबार गृहकार्य थालेको उनले बताए।
प्रतिनिधिसभाको प्रत्यक्षमा २३, समानुपातिकमा ४० सिट र राष्ट्रियसभामा १३ सांसदसहित कांग्रेसको संघीय संसदमा ७६ सिट छ। राष्ट्रियसभा चुनावपछि आयोगले शुक्रबार समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै कांग्रेसले ४० सिट पाउने निर्णय गरेको छ। संविधानको धारा ८४ (८) अनुसार संघीय संसदमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाका कारण आयोगले बन्द सूचीबाट कम्तीमा २० जना महिलासहित ४० जना निर्वाचित गर्न शुक्रबार नै पत्र पठाएको छ।
संघीय संसदमा कांग्रेसले पाएको ७६ सिटको एक तिहाइ अर्थात् २६ जना महिला हुनुपर्नेमा राष्ट्रियसभामा ६ जना महिला निर्वाचित भइसकेका छन्। कांग्रेसले बाँकी २० जना महिला प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको ४० सिटबाट पूरा गर्नु पर्ने हुन्छ। कांग्रेसले खस आर्यबाट ६ जना, आदिण्वासी जनजातिबाट ६ जना, दलितबाट ३ जना, मधेसीबाट ३ जना र थारु र मुस्लिमबाट १÷१ जना गरी २० जना महिला पुर्याउनु पर्नेछ।
कांग्रेसको खस आर्यबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा सांसद बन्ने देखिएको छ। आदिवासी जनजातिबाट ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन सासंद बन्ने देखिएको छ। दलितबाट सुजाता परियार, लक्ष्मी परियार सेवा र विमला नेपाली सांसद बन्ने छन्। मधेसीबाट सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्ने निश्चित छ। थारुको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहेकी सर्वत आरा खानमध्ये एक जनाले सांसद बन्न पाउनेछन्। पिछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्ने पक्का छ।
पुरुषतर्फ पनि कांग्रेसले विभिन्न समूह मिलाएर २० जना सिफारिस गर्नु पर्ने हुन्छ। क्रमअनुसार खस आर्यबाट ६ जनामा बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे सांसद बन्ने सम्भावना प्रवल छ। आदिवासी जनजातिबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जीपछिरिङ लामा र दिव्यमणि राजभण्डारी पर्ने देखिएको छ।
दलितबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली गरी ३ जना सांसद बन्ने देखिएको छ। मधेसीबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय सांसद बन्ने छन्। थारुतर्फ पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एक जना सांसद बन्ने छन्। पिछडिएको क्षेत्रबाट पुरुषतर्फ बन्द सूचीको पहिलो नम्बरमा रहेका अछामका रामबहादुर बिष्ट सांसद बन्ने छन्।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पार्टी निर्णयविपरीत समानुपातिकमा नेता दोहोर्याउने काम गलत हो। ‘पार्टी बैठकमा कसैलाई नदोहोर्याउने निर्णय भएको थियो, पछि माइन्युट बनाउँदै अपवाद भन्ने शब्द थपियो’, पौडैलले अन्नपूर्णसँग भने, ‘शीर्ष नेताहरूले सुजाता कोइरालाबाहेक अरुलाई सिफारिस नगर्ने गरी अपवाद शब्द थपेको जानकारी हामीले पाएका थियौं।’