खोप्लाङबाट जनप्रतिनिधिको भीड
गोरखा : २०६८ साल भदौमा गोरखा खोप्लाङका बाबुराम भट्टराई नेपालका ३५ औं प्रधानमन्त्री बने। त्यतिबेला माओवादी उपाध्यक्ष रहेका भट्टराई २०६९ फागुनसम्म नेपालको प्रधानमन्त्रीमा रहे।
भट्टराई २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचन र पछिको ०७० सालको दोस्रो संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए। माओवादी पार्टीबाट अलग्गिएर हालसालै उनले नयाँ शक्ति पार्टीबाट पनि प्रतिनिधिसभा निर्वाचनमा विजयी हासिल गरे। भट्टराई साविक खोप्लाङ गाविस वडा नं ४ निवासी थिए।
पहिलो प्रदेशसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं २ प्रदेश ‘ख’ बाट हरिशरण आचार्य विजयी भए। नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार बनेका ३९ वर्षीय आचार्य माओवादी केन्द्रकी कमला नहर्कीलाईपछि पार्दै विजयी बनेका हुन्। आचार्य साविक खोप्लाङ गाविस २ पोखराबेंशीका हुन्।
वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पालुङटार नगरपालिकाको उपमेयरमा पम्फा बसेल निर्वाचित भइन्। २८ वर्षीय यिनी पनि खोप्लाङ ४ बेलबास निवासी हुन्।
भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे निर्वाचित भए। नयाँशक्ति र राष्ट्रिय जनमोर्चाको समेत मत पाएका पाण्डे नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन्। यिनी पनि साविक खोप्लाङ गाविस ६ डाँडागाउँ निवासी हुन्।
भट्टराई, पाण्डे र बसेल हालको पुनर्संरचनाअनुसार पालुङ्टार १ का हुन् भने आचार्य पालुङटार २ पोखराबेंशीका हुन्। यसरी एउटै गाउँका बासिन्दा धेरै ठाउँमा र धेरै पटक जनप्रतिनिधि बन्नु भनेको संयोग मात्र नभई यो रहस्यमय नै भहेको बताउँछन्, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई।
उनी भन्छन्, ‘द्रव्य शाहलाई गोरखामा ल्याउन भूमिका खेल्ने गणेश पाण्डे, गजानन भट्टराई पनि खोप्लाङकै हुन्, इतिहास हेर्ने हो भने द्रव्य शाहलाई गोरखामा ल्याउने नारायणदास अज्र्याल, गणेश पाण्डे र गजानन भट्टराईमध्ये पाण्डे र भट्टराई खोप्लाङकै हुनुहुन्थ्यो’, उनी थप्छन्, ‘नेपाल एकीकरणमा योगदान दिने कालु पाँडे, पहिलो मुख्तियार दामोदर पाँडे, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, कृष्णप्रसाद भट्टराई पनि गोरखाकै हुनुहुन्थ्यो।’ गणेश पाण्डे, दामोदर पाण्डे हालका सुरेन्द्र पाण्डेको पुर्खा र गजानन भट्टराई कृष्णप्रसाद भट्टराई आफ्नो पुर्खा रहेको बाबुराम भट्टराई बताउँछन्।
इतिहासका पात्र गजानन भट्टराई, कृष्णप्रसाद भट्टराई आफ्नो पुर्खा रहेको बाबुराम भट्टराई बताउँछन्।
‘तीन वटा प्रधानमन्त्री जन्माइसकेको ठाउँ हो खोप्लाङ’, उनी भन्छन्, ‘यो एउटा खोजको विषय हो।’ राजनीतिक रूपमा विकास भए पनि भौतिक पूर्वाधार विकास भने नभएको स्थानीय कृष्णप्रसाद पोखरेल बताउँछन्। ‘आफ्नो गाउँठाउँको मान्छे ठूलो ठाउँमा पुग्दा खुसी लाग्छ’, पोखरेल भन्छन्, ‘पूर्वाधार विकास भएको छैन। काम गरे पनि नगरे पनि गुनासो गर्ने ठाउँ भएको छ।’