वीरगन्जको आन्दोलनमा मिसिए रौतहटवासी

वीरगन्जको आन्दोलनमा मिसिए रौतहटवासी

वीरगन्ज : प्रदेश राजधानी माग्दै वीरगन्जमा जारी आन्दोलनमा शनिबारदेखि रौतहटवासी पनि सहभागी भएका छन् ।घण्टाघर चोकमा पुस २१ गतेदेखि वीरगन्ज राजधानी संघर्ष समितिको आह्वानमा चलिरहेको रिले अनशनमा सहभागी भई रौतहटवासीले वीरगन्जको आन्दोलनप्रति समर्थन जनाएका हुन्।

शनिबार ३९औं दिनको अनशनमा गरुडा नगरपालिका-९ का राजकुमार दास, मि श्रीलाल दास, भूपेन्द्र दास, वृन्दावन नगरपालिका-९ का शुभनारायण दास, वडा नम्बर ६ का छठु साह र गौरका रामेश्वर दास सहभागी भए ।  राजकुमार राजपा पूर्वकेन्द्रीय सदस्य एवं तत्मा दास कल्याण समाजका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूलाई संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले अनशनस्थलमा स्वागत गरेका थिए ।

प्रदेश २ को एक मात्र महानगरपालिका हुनुका साथै आवश्यक सबै पूर्वाधार रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनुपर्ने माग रौतहटवासीको पनि रहेको अध्यक्ष दासले बताए । ‘प्रदेश राजधानीका लागि जनकपुर कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन । जानकी मन्दिरको भेटीले मात्र राजधानी चल्न सक्दैन’, उनले भने, ‘रौतहटका जनता पनि राजधानी वीरगन्ज नै होस् भन्ने चाहन्छन् ।’

अस्थायी राजधानी तोकिएपछि जनकपुरवासीमा उन्माद बढेको आरोप उनले लगाए । ‘अस्थायी राजधानी तोकिँदा त जनकपुरवासीमा यति धेरै उन्माद र अहंकार बढेको छ कि उनीहरूले पर्सा, बारा र रौतहटवासीलाई गन्नै छाडेका छन्’, उनले भने, ‘मैथिलीलाई कामकाजको भाषा बनाउनुपर्छ भनेर जबर्जस्ती गर्न थालेका छन् ।’

मधेस आन्दोलन सफल पार्नका लागि सबैभन्दा बढी भूमिका वीरगन्जले नै निर्वाह गरेको गौरका रामेश्वर दासले बताए । भने, ‘भौगोलिक दूरीका हिसाबले पनि रौतहटवासीका लागि वीरगन्ज नै सहज र उपयुक्त छ’, उनले भने, ‘वीरगन्जसँग हाम्रो भाषा र संस्कृति पनि मिल्छ । हाम्रा छोराछोरी वीरगन्जमै पढ्छन् । रौतहटका थुप्रै युवालाई वीरगन्जले नै रोजगारी दिएको छ । रौतहटका कैयनको व्यापार÷व्यवसाय वीरगन्जमै छ । यी सबै कारणले राजधानी वीरगन्ज नै बन्नुपर्छ भन्ने रौतहटवासीको पनि माग हो ।’

वीरगन्जको आन्दोलनमा समर्थनका लागि रौतहटबाट निर्वाचित सांसदलाई दबाब दिइरहेको अध्यक्ष दासको भनाइ थियो ।रौतहटवासीको साथ पाएसँगै आन्दोलनले उचाइ प्राप्त गरेको संघर्ष समितिका सदस्य बाबुराम कौशिकले बताए । ‘उहाँहरूको सहभागिताले हाम्रो ऊर्जा बढेको छ’, उनले भने, ‘रौतहटका प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यसँग पनि हामीले छलफल गरिरहेका छौं । उहाँहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’

आन्दोलनमा बाराका दल र नागरिक समाजका अगुवा पनि सहभागी हुँदै आएका छन् । पुस २३ गते बारावासी अनशनमा बसेका थिए । आन्दोलनलाई सशक्त बनाउन भन्दै पर्सा, बारा र रौतहटका नेता, नागरिक समाजका अगुवा सम्मिलित अन्तरजिल्ला संवाद समिति गठन भएको छ । संघर्ष समितिका सहसंयोजक गुप्ताको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले तीनै जिल्लामा अन्तत्र्रिmया गर्न लागेको गुप्ताले बताए ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.