अविजितबारे छलफल
पोखरा : ‘कवि हुन्छु भनेर जन्मेको हुँ जस्तो लाग्दैछ’, उपन्यासकार अवतारमा प्रकट भएका कवि विप्लव प्रतीकले भने, ‘समयले मलाई कविता लेख्न लगायो, समयले नै प्रेम, विरह र बिछोड ल्यायो, मैले खोजेर चाहेर केही भएको छैन ।’
र्यान्डम रिडर्स सोसाइटीको निम्तोमा शनिबार पोखरामा आफ्नो उपन्यास अविजितको छलफलमा प्रतीकले आख्यान कृति पनि समयकै उपज भएको सुनाए । ‘लेख्छु, रूप धारण गर्यो भने, उपन्यास भयो भने भयो भनेर लेखेँ । जे जति भएको छ, समयकै कारण भएको छ’, उनले भने ।
कविता पनि जानीनजानी लेख्ने मान्छे भएको आत्मस्वीकृति थियो उनको । कोही बेला कविताबाट भन्न नसक्ने भइयो भन्ने लागेर उपन्यासमा आएको उनले सुनाए । ‘उपन्यासको बजार छ, बिक्छ, पैसा छ भनेर लेख्न आएको होइन’, अर्काे प्रस्टीकरण दिए उनले । तमु कला परिषद्की बुद्धि गुरुङ र अभियन्ता सरस्वती गुरुङले गुरुङ जातीय पोसाक भांग्रा लगाइदिएपछि त्यसैमा सजिएका प्रतीकले काठमाडौंबाट बसाइँ सर्नु परे आफू पोखरा आउने चाहना पनि सुनाउन भ्याए ।
समीक्षक राजकुमार बानियाँले प्रतीकको उपन्यास अविजित फिक्सनल बायोग्राफीजस्तो भएको टिप्पणी गरे । उनले उपन्यासलाई राणा शासनदेखि २०४६ सालसम्मको अतिरिक्त इतिहासको संज्ञा पनि दिए । ‘कसैले पनि नछुने पात्रलाई उपन्यासले न्याय दिएको छ’, उनले भने, ‘उपन्यास पढ्दा राणाकालको काठमाडौं कस्तो थियो, हिप्पीहरू आएपछि कस्तो भयो भन्नेसम्म थाहा हुन्छ र त्यति बेलाको कम्युनिस्ट कामरेडको मनोदशा थाहा दिन्छ । यस्तो कामरेड जो गणतन्त्रको सपना देख्छ तर उसकै पार्टीको महासचिव राजावादी हुन्छ ।’