प्रदेश एकको सभामुखमा भण्डारी निश्चित : को हुन् भण्डारी ?
विराटनगर : प्रदेश एकमा एमालेका प्रदीपकुमार भण्डारी सभामुख बन्ने निश्चित भएको छ। प्रदेश एकको संसद सचिवालयले सभामुखमा एक जनाको मात्र उम्मेद्वारी परेकाले भण्डारी नै सभामुख हुने पक्कापक्की भएको जानकारी दिएको छ।
आइतबार दिउँसो तीन बजेसम्मका लागि सभामुखको उम्मेद्वारी दिने अन्तिम समय तोकिएको थियो। तर, उक्त समयमा एमालेका भण्डारीको मात्र नाम आएको प्रदेश सभाका सचिव धुव्रपसाद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार भोलि बस्ने दोस्रो प्रदेश सभाको बैठकमा जेष्ठ सदस्यले नै बैठकको सभापतित्व ग्रहण गर्दै बैठक संचालन गर्नेछन्। बैठकले सभामुखलाई अनुुमोदन गरेपछि भने आगामी बैठक भण्डारीले संचालन गर्नेछन्।
सभामुखका लागि अन्य प्रत्याशी भए पनि प्रदेश संयोजक भीम आचार्य नजिक रहेका भण्डारीको नाम सर्वसम्मतरुपमा चयन भएको हो। ओलीनिकट रहेका शेरधन राई संसदीय दलको नेतामा निर्वाचित भए पनि माधव नेपाल नजिक रहेका आचार्यको टीमलाई सम्बोधन गर्न पनि सभामुख भण्डारीलाई बनाउने निर्णय भवएको देखिन्छ।
प्रदेश १ मा सभामुख तथा उप सभामुखको अन्तिम टुगो फागुन ३ गते लाग्ने छ। फागुुन २ गते उप सभामुखको मनोनयन दर्ता कार्यक्रम राखिएको छ भने भोलिपल्ट निर्वाचन गर्ने कार्यतालिका छ। एमालेले सभामुख र माओवादीले उप सभामुख पाउने दुई दलबीच यसअघि नै सहमती भएको थियो।
माओवादीले उप सभामुखको टुगो लगाएको छैन। यद्धपी उक्त पदमा भने माओवादीबाट पोलिटब्यूरो सदस्यसमेत रहेकी सुनसरीकी सरस्वती पोख्रेल र पाँचथरकी सीता थेबेले दाबी गर्दै आएका छन्।
को हुन भण्डारी ?
विक्रम सम्वत २०१२ साल साउन २८ गते पूर्वी नेपालको शंखुवासभामा जन्मिएका भण्डारी, यस अघि पेशाले शिक्षक हुन्। धरानको शिक्षा सदनमा लामो समय शिक्षक भएर काम गरेका उनी केही समय अघि मात्र रिटायर्ड भएका हुन्। २०२७ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय भएर लागेका हुन्।
सुनसरी १ (क) बाट निर्वाचित भण्डारी यसअघि पार्टीको जिल्ला कमिटी तहमा थिए। जिल्ला कमिटीको सचिवालय सदस्य रहेका भण्डारी धरान नगर कमिटीको इन्चार्जसमेत हुन्।