प्रदेश-३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त

प्रदेश-३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त

हेटौंडा : प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेका प्रदेश संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । पौडेललाई आइतबार साँझ ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (१) बमोजिम नेकपा एमाले प्रदेश नम्बर ३ संसदीय दलको कार्यालयको सिफारिसमा संसदीय दलका नेता पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका सचिव चत्रुभुज ज्ञवालीले जानकारी दिए ।

एमाले संसदीय दलका नेता पौडेलले बहुमतसहित ५८ जना सांसदको हस्ताक्षर भएको पत्र तथा नेकपा माओवादी केन्द्रबाट समर्थन पाएको पत्रसहित मुख्यमन्त्री नियुक्ति गर्न प्रस्ताव गरेपछि कोइरालाले आइतबार साँझ पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको उनले जानकारी दिए ।

नव नियुक्त मुख्यमन्त्री पौडेलको सोमबार बिहान ९.३० बजे प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण हुने सचिव ज्ञवालीले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिँदै पौडेलले ३ नम्बर प्रदेशलाई अन्य प्रदेशले सिक्नेगरी नमुना प्रदेश बनाउन काम गर्ने बताए । ‘सबैले विश्वास गरेर मलाई मुख्यमन्त्री बनाउनुभएको छ, म सबै पक्षसँग सहकार्य गरेर प्रदेशको विकासमा लाग्ने छु ।’

मकवानपुर १ (ख) मा प्रदेशसभा सदस्यमा विजयी पौडेल २०६४ र २०५४ मा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । ७१ वर्षीय पौडेल ३८ वर्षदेखि राजनीतिमा सक्रिय छन् । २०५४ सालदेखि निरन्तर नेपाल नगरपालिका संघका अध्यक्ष रहेका उनले राजनीतिक मुद्धामा चार पटक कैद सजाँय र १८ पटक प्रहरी हिरासतमा परेका छन् । राज्य पुर्नसंरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।

काठमाडौंको तत्कालीन फपिङ्ग गाविसमा २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११, नवलपुर हो । २०३० सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनले २०३२ देखि १० बर्ष शिक्षकको जागिर खाएका थिए । लामो समय अर्धभूमिगत र भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालीन सरकारले टाउकोको मूल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका छन् । मायानाथ पौडेल र कुलकुमारी पौडेलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.