धुलोको कहर

धुलोको कहर

काठमाडौं उपत्यका धुलोको ‘साम्राज्य’ बाट प्रताडित छ। सबैभन्दा बढी असर सर्वसाधारण र सडकमै उभिनुपर्ने ट्राफिक प्रहरी खेपिरहेका छन्। सडकको धुलो र त्यसमाथि सवारी साधनले निकाल्ने धुवाँ र ध्वनि प्रदूषणका कारण ट्राफिक प्रहरी श्वासप्रश्वाससम्बन्धी रोगले ग्रस्त हुन थालेका छन्। सवारी चालकहरू सहयोगी नभइदिँदा ट्राफिक प्रहरीका लागि जागिर ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भएको छ। यसका साथै उनीहरू मानसिक तनावको सिकारसमेत भएका छन्। तर पनि सरकार र सम्बद्ध निकायले धुलो र प्रदूषण न्यून गर्ने उपाय खोजी नगर्नु अर्को विडम्बना हो। एक हिसाबले काठमाडौंको धुलोले धेरैलाई नाक थुनेर हिँड्न बाध्य पार्नुले यो ‘सामूहिक लज्जा’ को विषय बनेको छ।

सवारी साधनबाट निक्लने धुवाँमा कार्बन डाइअक्साइड, कार्बन मोनोक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र लिडजस्ता प्रदूषणका कारक छन्। त्यसबाहेक चक्रपथलगायतका सडकहरू विस्तार कार्यले पनि धेरै धुलो उड्ने गरेको छ। मेलम्ची खानेपानी आयोजनाका पाइप बिछ्याउने क्रममा खनिएका सडकका क्षेत्र पुनः कालोपत्रे नगरिँदा धुलोको मात्रा ह्वात्तै बढेको छ। चारैतिर अग्ला डाँडाले घेरिएको काठमाडौंको भौगोलिक बनावटका कारण यहाँ प्रदूषण गराउने तत्व बाहिर जान पाउँदैनन्। पानी नपर्ने र जाडो मौसममा काठमाडौंको वातावरण बढी प्रदूषित हुने गर्छ। यस्तो प्रदूषणले श्वासप्रश्वाससम्बन्धी, मुटुसम्बन्धी रोग, क्यान्सर आदि प्राणघातक रोगको सम्भावना पनि बढाउँछ।

हालै विश्व स्वास्थ्य संगठनलगायत अरू संस्थाले गरेको अनुसन्धानअनुसार काठमाडौंको प्रदूषण उच्च तहमा र हानिकारक रहेको छ। वायुको गुणस्तर मापन गर्ने संकेत एअर क्वालिटी इन्डेक्स (एक्युआई) मा शून्यदेखि ५० मापन हुँदा वायुको गुणस्तर स्वस्थ मानिन्छ र मानवीय क्रियाकलापका लागि स्वीकार्य मानिन्छ। त्यस्तै ५१ देखि सय मापन हुँदा बालबालिका र क्रियाशील वयस्कलाई धेरै घरबाहिर नबस्न सुझाव दिइएको छ।

एक्युआई १०१ देखि १५० श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू र बालबालिकालाई संवेदनशील मानिएको भए पनि अरू सामान्य वयस्कलाई पनि यस्तो वातावरणमा धेरै नबस्न सुझाव दिइएको छ। एक्युआई योभन्दा पनि बढी हुँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ। काठमाडौं उपत्यकामा एक्युआई धेरैजसो १०१ देखिमाथि र कहिलेकाहीं अस्वस्थ नै मानिएको १५० को माथि पनि पुग्ने गरेको छ। वायु प्रदूषण धेरै र अस्वस्थ हुँदा नयाँदिल्ली, बेइजिङलगायत सहरमा सवारी साधन चलाउन नियन्त्रण गरिने मात्र होइन, विद्यालयलगायत सार्वजनिक संस्थाहरू पनि बन्द गरिन्छ।

प्रदूषण घटाउन सवारी साधनहरूले निकाल्ने धुवाँ नियन्त्रणका उपाय सशक्त रूपमा कार्यान्वयन गर्नुपर्छ। साथसाथै मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने धुलो नियन्त्रण नगरी सडक खनेर महिनौं तथा वर्षौं अलपत्र छोड्नु हुँदैन। योजनाबद्ध ढंगले धुलो कम उड्ने र प्रदूषण न्यून गर्ने उपाय अवलम्बन गर्दै विकास र विस्तारका काम बढाइनु उचित हुन्छ। सारमा, सरकारले वायु प्रदूषण र धुलो नियन्त्रणका सशक्त र प्रभावकारी तरिका अवलम्बन गर्नु अत्यावश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.