पृथ्वीसुब्बा मुख्यमन्त्री बन्ने पक्का

पृथ्वीसुब्बा मुख्यमन्त्री बन्ने पक्का

पोखरा : एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री हुने पक्कापक्की भएको छ। आइतबार एमाले संसदीय दलको नेता सर्वसम्मत चुनिएपछि उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

एमाले जिल्ला कमिटी कास्कीको कार्यालयमा बसेको संसदीय दलको बैठकमा सांसद किरण गुरुङले पृथ्वीसुब्बालाई नेता प्रस्ताव गरेका थिए। आफैं तीव्र आकांक्षी रहेका सांसद तथा एमाले प्रदेश ४ कमिटी संयोजक किरणले बिनासर्त योग्य र सक्षम नेता पृथ्वीसुब्बालाई संसदीय दलको नेता प्रस्ताव गरेको सुनाए। प्रदेश संयोजक, अभिभावक तथा संरक्षकको हिसाबले आफ्नै पहलमा सहमति बनेको उनले बताए।

‘म नै हुन्छु भन्यो भने सहमति हुँदैन, मैले छाडेपछि मात्रै यो सहमति गर्न सकिन्छ, व्यक्तिगत महत्वकांक्षा पालेर हुँदैन, व्यक्तिकेन्द्रित भएर हुँदैन’, किरणले भने, ‘बृहत् वाम एकता र पार्टी एकतालाई ध्यानमा राखेर मैले पृथ्वीसुब्बा नेता प्रस्ताव गरें।’ १ र ३ नं प्रदेशमा जस्तो हुनु हुँदैन र एकताको सन्देश दिनुपर्छ भनेर सर्वसम्मत नेता चुनिएको किरणले बताए। उनले आफू र पृथ्वीसुब्बा हुनुमा कुनै फरक नरहेको पनि सुनाए।

पार्टी नेताहरूको सहजीकरण र एमाले प्रदेश संयोजक सांसद किरण गुरुङको प्रस्तावमा आफू सर्वसम्मत संसदीय दलको नेता चुनिएको पृथ्वीसुब्बाले बताए। गठबन्धनको अर्को साझेदार माओवादी केन्द्रले पनि संसदीय दलको नेता चुनिसकेको हुँदा उसँग मिलेर भरेभोलि नै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखकहाँ पुग्ने जानकारी पनि उनले दिए। प्रदेश संसदीय दलको नेता चयनको बैठकमा पार्टी नेताहरू खगराज अधिकारी, सोमनाथ अधिकारी प्यासी र रवीन्द्र अधिकारी लगायतले सहजीकरण गरेका थिए।

प्रदेश संयोजक, अभिभावक तथा संरक्षकको हिसाबले आफ्नै पहलमा सहमति बनेको किरण गुरुङको भनाइ।

त्यसअघि दलको नेता चुन्ने प्रयोजनका निम्ति चुनावी प्रक्रिया सुरु गरिएको थियो। पहिलोपटक दिइएको निर्धारित समयभित्र पृथ्वीसुब्बाले मात्रै उम्मेदवारी दर्ता गरेका थिए। त्यसबीचमै सहमतिको प्रयासका लागि बैठक बसिरहँदा उम्मेदवारी दिने समय दुई पटकसम्म थपिएको थियो। अन्ततः सहमतिमै पृथ्वीसुब्बा सर्वसम्मत संसदीय दलको नेता चुनिएका हुन्। बैठकले संसदीय दलको उपनेता, प्रमुख सेचतक, सचेतकचाहिँ चयन गरेन। सभामुख माओवादी भागमा पर्ने भएपछि एमालेले बनाउनुपर्ने उपसभामुखबारे पनि बैठकमा कुनै चर्चा चलेन। मन्त्रीहरू को-को बन्ने भन्नेबारे पनि कुनै छफलफल भएको थिएन।

६० सांसद रहेको प्रदेश ४ मा एमालेका २७, माओवादीका १२, कांग्रेसका १५, जनमोर्चाका ३, नयाँ शक्तिका २ र १ स्वतन्त्र सांसद छन्। एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख लिने सहमति यसअघि भइसकेको थियो। माओवादीले पनि सभामुखमा पठाउन सांसद नेत्रनाथ अधिकारीको नाम टुंगो लगाइसकेको छ। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान चयन भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.