लाप्राकमा मकैको बिहे
गोरखा : भूकम्पबाट विस्थापित गोरखा लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन्। मकै खेती सुरु गर्नुअघि मकै बिहे गर्ने प्राचीन परम्पराअनुसार शनिबार उनीहरूले गाउँमा मकैको बिहे गरेका हुन्।
‘मकैको बिहे नगरी मकै रोप्न हुँदैन भन्ने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘फागुन लागेपछि धमाधम मकै रोप्ने काम हुन्छ, त्यसैले मकैको बिहे गरेका हौं।’ मानेडाँडादेखि सुरु भएर गाउँको ठूलो आँगनमा आएर बिहे कार्यक्रम सकिएको उनले बताए।
‘हिजो साँझ लामागुले चोखो ठाउँमा मकैको बीउ रोप्छ, आज बिहान त्यो बीउ निकाल्छ’, उनले भने, ‘त्यसपछि सबै गाउँले भेला हुन्छन्। एउटा १०, ११ वर्षका कुमार केटालाई दुलहा बनाएर लैजान्छौं। अनि लाप्राकको बस्तीभन्दा तल गुम्दा गाउँको सीमासम्म पुगेपछि त्यहाँ त्यही उमेरकी केटीलाई दुलही बनाएर राखिएको हुन्छ। उनीहरूको भेट गराएपछि दुवैलाई डोलीमा बोकेर ल्याइन्छ।’ बाटोमा गाउँलेले नाचगान गरेर रमाइलो गर्ने उनले बताए।
गाउँलेहरू याङ्खो...याङ्खो भन्दै कराएर रमाइलो गर्ने चलन छ। ‘हाम्रो भाषामा ‘याङ्’ भनेको धन हो। ‘खो’ भनेको आऊ भनेको हो’, स्थानीय शिक्षक धनप्रसाद गुरुङले भने, ‘युवायुवती झ्यालीमादल बजाएर र लामा झाँक्रीहरू ढ्याङ्ग्रो बजाएर नाच्छन्।’ लाप्राकीले दिनभरि गाउँ घुमेपछि साँझ भोज खाएर रमाइलो गरेका छन्।
‘गुम्दाको सिमानाबाट किलुङचेत, ठूलो रिञ्जिलुङ, सानो रिञ्जिलुङ, मानेडाँडा हुँदै ठूलो आँगनमा आएर टुंगियो’, शिक्षक गुरुङले भने, ‘घाटु नाच्ने, असिनापानी, हिमपात, हावाहुरीले मकैखेती नष्ट नगरोस्, बाँदर, भालुजस्ता जंगली जनावरले बाली नष्ट नगरोस् भनेर प्रार्थना गरिन्छ।’
मकै बिहेमा प्रत्येक घरका जन्ती सहभागी हुन्छन्। उनीहरूले भोजमा खानेकुरा घरबाट संकलन गरेका हुन्छन्। ‘एक पोङ रक्सी, भुटेको र उसिनेको मकै, भटमास, गहुँ, सिमी ल्याइएको हुन्छ। त्यही खाएर रमाइलो गर्छौं’, मार्सिङ गुरुङले भने।
मकै बिहेको दिन गाउँमा ढिकीजाँतो, घट्ट नचलाउने, मेलापर्म पनि नगर्ने चलन रहेको गाउँले बताउँछन्। लाप्राकलगायत धार्चे गाउँपालिकाको सिङ्ला, गुम्दा, लप्सीबोट, यमगाउँ, उहिया, लापु गाउँमा मकै बिहे गर्ने परम्परा रहेको स्थानीयको भनाइ छ।