आर्मी र एपीएफका खेलाडी बीच मैदानमा मुक्का हानाहान

आर्मी र एपीएफका खेलाडी बीच मैदानमा मुक्का हानाहान

सिमरा : सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका आर्मी र एपीएफका खेलाडी मैदानमै मुक्का हानाहानमा उत्रिए। ७४औं मिनेटमा दुवै टिमका खेलाडीले अनुशासन बिर्सिए। खेलमा ३-० ले पछि परेको एपीएफका खेलाडी रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई लडाएपछि स्थिति तनावपूर्ण बन्यो। विमललाई लडाएका रञ्जनलाई रेफ्री प्रकाशनाथ श्रेष्ठले पहेँलो कार्ड देखिएपछि उनी दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिन बाध्य भए। दोहोरो पँहेलो कार्ड खाएका रञ्जनले विमलमाथि मैदानमै आक्रोश पोखे। उनले विमललाई मुक्का प्रहार गरेपछि आर्मीका नवयुग श्रेष्ठले प्रतिवाद गरे।

सामान्य विवाद बढ्दै गएपछि रञ्जनका भाइ अञ्जन विष्ट पनि आर्मीका खेलाडीलाई रोक्न पुगे र विवाद सुरु भयो। दुई टिमबप्चको विवाद अन्ततः मुक्का हानाहानसम्म पुग्यो। मुक्का हानाहानपछि रेफ्री प्रकाशनाथले नवयुगलाई रातो कार्ड र अञ्जनलाई पहेँलो कार्ड देखाए। अञ्जन पनि दोहोरो कार्ड पाएर मैदान छाड्न बाध्य भए।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडीमा संयमता नदेखिँदा दुई जना राम्रा खेलाडीलाई महर्‍वपूर्ण समयमा गुमाउन पुगेको बताए। खेलमा गोलले पछि परेपछि खेलाडी दबाबमा देखिनु स्वाभाविक भए पनि अनुशासन र संयमता दुवै जरुरी रहेको उनको भनाइ थियो। महर्जनले खेलको सुरुवातमै अवसर चुकाउन पुग्नु र फिनिसिङ पक्ष राम्रो नहुँदा पराजय भोगेको बताए। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए। खेलमा गोलको खाता खोलेपछि टिमले सुधारिएर प्रदर्शन गरेको र सहज जित हात पारेको बताए। नवयुगले आफूलाई सम्हाल्न नसक्दा मैदानबाट बाहिरिनुपरेको भन्दै उनले आगामी खेलमा उनको अभाव टिमलाई खड्किने बताए।

एपीएफमाथि आर्मीको रवाफ 

एपीएफ क्लबमाथि सानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतबार भएको खेलमा आर्मीले एपीएफलाई ४-० गोलले हरायो। एपीएफमाथि सहज जित हात पार्ने क्रममा आर्मीका जर्ज प्रिन्स कार्कीले दुई, नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकएक गोल गरे।

पाँच हजार दर्शकले भरिएको रंगशालामा दुई विभागीय टोलीको भिडन्त रोमाञ्चक बनेको थियो। खेलको सुरुआतदेखि नै दुई टोली आक्रामक देखिएका थिए।

सुरुआतमै एपीएफले गोल गर्ने राम्रो अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा फराकिलो हार बेहोर्‍यो। खेल सुरु भएको तीन मिनेटमै एपीएफका युवराज खड्काले डीबक्सभित्रको अवसर गुमाए। उनले प्रहार गरेको हेड बल क्रसबार माथिबाट बाहिरियो। २८औं मिनेटमा आदित्य चौधरीको फ्रिकिक बलमा राजेन्द्र रावलले अर्को अवसर खेल फाले। डीबक्सभित्र पाएको बललाई राजेन्द्रले पोस्टको दिशा दिन सकेनन्। त्यसपछि एपीएफले आकर्षक अवसर बनाउन सकेन र दबाबमा देखियो।

एपीएफलाई दबाबमा राखेको आर्मीको फिनिसिङ सुरुवातमा कमजोर देखियो। इन्जुरीका कारण भरत खवासलाई बेन्चमै राखेर मैदानमा उत्रिएको आर्मीले खेलमा खाता खोल्न ३७ मिनेटसम्म संघर्ष गर्‍यो। डीबक्सभित्रबाट आर्मीका जर्ज प्रिन्स कार्कीले तेस्रो प्रहारमा गोल गरे। पहिलो प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले फर्काएको बललाई प्रिन्सले दोस्रो प्रहार गरे। उनको दोस्रो प्रहार गोल लाइनबाट एपीएफका खेलाडीले फर्काएपछि प्रिन्स तेस्रो प्रहारमा सफल हुन पुगे।

खेलमा आर्मीले अग्रता लिएपछि एपीएफ थप दबाबमा देखियो। एपीएफका खेलाडीबीच तालमेलको अभाव देखिन्थ्यो। एपीएफमाथि लगातार अवसर बनाएको आर्मीले दोस्रो हाफको सुरुवातमै गोल अन्तर दोब्बर बनायो। ४७औं मिनेटमा नवयुग श्रेष्ठले एकल प्रयासमा गोल गरे। एपीएफका खेलाडीलाई बिट गर्दै डीबक्स बाहिर पाएको बललाई नवयुगले गोल गर्दै खेल २-० को स्थितिमा पुर्‍याए।

आर्मीको तुलनामा कमजोर प्रदर्शन गरेको एपीएफले आफ्नो समर्थकलाई लगातार निराश बनाएको थियो। आर्मीलाई रोक्न असफल देखिएको एपीएफले खेलको ७१औं मिनेटमा तेस्रो गोल खाएको थियो। नवयुग श्रेष्ठको पासलाई सदुपयोग गर्दै अन्डर १९ राष्ट्रिय फूटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले गोल गरे। दोस्रो हाफमा राजु नगरकोटीको स्थानमा मैदानमा आएका एपीएफका गोलरक्षक अमृत चौधरीले दिनेशको प्रहारलाई गोल लाइनभित्रबाट नियन्त्रणमा लिएपछि एसिस्टेन्ट रेफ्री रोजन श्रेष्ठले गोलको संकेत गरेका थिए।

आर्मीले खेल ३-० को स्थितीमा पुर्‍याएपछि ७४औं मिनेटमा दुई विभागीय टिमका खेलाडीबीच मैदानमा झगडा हँुदा एपीएफ नौ र आर्मी १० खेलाडीमा सीमित हुन पुग्यो। विभागीय टिमका दुई खेलाडीबीच मैदानमा झगडा भएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपीएफका रञ्जन विष्ट, अञ्जन विष्ट र आर्मीका नवयुग श्रेष्ठलाई रातो कार्ड देखाएका थिए। खेलमा तीन गोलले पछि परेको एपीएफका दुई खेलाडी मैदानबाट बाहिरिएपछि थप दबाबमा देखियो।

स्ट्राइकर नवयुग मैदानबाहिर गएपछि आर्मीले ८२औं मिनेटमा अर्को गोल थप्यो। टिमको खाता खोलेका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४-० को जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका प्रिन्स खेलको म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत सोमबार रुस्लान थ्रीस्टार क्लब र सुदूरपश्चिम ११ धनगढीबीच प्रतिस्पर्धा हुनेछ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.