माओवादी केन्द्रले बुझायो समानुपातिक सांसदको सूची
काठमाडौँ: नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि समानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाइएको छ ।
त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन् । शर्मा पूर्वमन्त्री एवं सभासद् हुन् । सुवेदी पूर्वउपसभामुख, चापागाईँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुन्। पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुन् ।
यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहनुभएको प्रवक्ता भुसालले जानकारी दिइन् । जयपुरी पूर्वमन्त्री तथा ओनसरी पूर्वसभामुख हुन् ।
यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट हुनुभएको छ । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन हुनुभएको प्रवक्ता भुसालले जानकारी दिइन् ।
माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा चयन हुनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।