वैद्य र विप्लवलाई सम्झँदा प्रचण्डले बाबुरामलाई किन छुटाए ?

वैद्य र विप्लवलाई सम्झँदा प्रचण्डले बाबुरामलाई किन छुटाए ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्दलाई वाम एकतामा सहभागी हुन आह्वान गरेका छन्।

जनयुद्धको २३ औँ वार्षिकोत्सव मनाउन पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहयोद्धाहरू वैद्य र चन्दलाई एकताका लागि विशेष आह्वान गरेका हुन्।

आफ्ना दुई पूर्व 'कमरेड' हरूलाई सम्झिँदा प्रचण्डले त्यतिबेला पार्टीको दोस्रो वरियतामा रहेका नेता डा. बाबुराम भट्टराईलाई भने सम्झिएनन्। २०७२ असोज ९ मा माओवादी परित्याग गरेका भट्टराई अहिले नयाँ शक्ति नेपालका संयोजक छन्।

वाम गठबन्धन घोषणामा सहभागी भट्टराई गोरखामा निर्वाचन क्षेत्र दिन माओवादी केन्द्र अनिच्छुक भएपछि गठबन्धनबाट बाहिरिएर कांग्रेसको समर्थनमा चुनाव लडेका थिए। 

विप्लवलाई भने- 'क्रान्ति दिवास्वप्न होइन'

'प्रचण्डले धोका दियो, खतम पार्‍यो भनेर पार्टी छोडेर जाने साथीहरू फर्किन थाल्नुभएको छ', केही बेर अघि विप्लव नेतृत्वको नेकपाका १०० जनालाई टिका लगाएर पार्टी प्रवेश गराएका प्रचण्डले उनीहरूलाई देखाउँदै भने, 'दिवास्वप्न र लहडले क्रान्ति हुँदैन भन्ने बुझ्नुभएको छ।' विप्लवलाई उनले 'बसेर छलफल गर्न' प्रस्ताव गरे।

पढ्नुस्: प्रचण्डले भनेः नेतृत्व गर्नेे अवसर अब हाम्रो काँधमा

 

'म कमरेड विप्लवलाई आग्रह गर्छु- दिवास्वप्नबाट केही पनि हुँदैन। सपना धरातलमा टेकिएको हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ, विज्ञानमा आधारित हुनुपर्छ', अध्यक्ष प्रचण्डले भने, 'रहर र लहड क्रान्ति होइन। यदि त्यस्तो हुन्थ्यो भने दुनिया अर्कै भइसक्थ्यो। एकचोटी बसेर छलफल गरौँ र शक्तिशाली केन्द्र बनाएर राष्ट्रलाई एकताबद्ध गर्दै समाजवादको यात्रामा अघि बढ्न म अपिल गर्न चाहन्छु।' 

वैद्यलाई बुझाए मार्क्सवाद !

रामबहादुर थापा, प्रचण्ड र नारायणकाजी श्रेष्ठ

विप्लवलाई 'सुझाव' दिएपछि प्रचण्ड आफ्ना 'राजनीतिक गुरु' वैद्यमाथि केन्द्रित भए। 'मेरो गुरु भनेर परिचित  कमरेड किरण... द्वन्द्वात्मक भौतिकवाद के चिज हो? अतिभूतवाद के हो?', प्रचण्डको प्रश्न थियो, 'कितावमा द्वन्द्वात्मक भौतिकवाद धेरैले पढे, धेरैले लेखे तर जीवनमा रियलाइज (महसुस) गरेर जनता जहाँ छन् त्यहाँ जानु नै मार्क्सवादको चुरो कुरा हो।'

वैद्य र विप्लवका बारेमा अलगअलग बोलेपछि प्रचण्डले दुबैलाई एकताका लागि संयुक्त आह्वान गरे। उनले दुबैजना जनता छोडेर र बहसबाट भागेर हिँडेको आरोप लगाए। 'उहाँहरू जनता छोडेर जान थाल्नुभएको छ। जनतादेखि भाग्ने अनि लुके छिपेर भन्दै नभनिकन घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नबाट बिउँझिन म कमरेडहरूलाई अपिल गर्न चाहन्छु। मेरो यो गम्भीर अपील हो। मेरो हार्दिक अपिल पनि हो।'

सबै कम्युनिस्टहरू मिलेर अघि बढेमात्र समाजवाद स्थापना गर्न सकिने भन्दै प्रचण्डले व्यवहारद्वारा आफ्नो कित्ता स्पष्ट गर्न वैद्य र विप्लवलाई आग्रह गरे। 'हामी सबै एक ठाउँमा केन्द्रित भयौँ भने समृद्धि र समाजवाद एकसाथ अगाडि बढाउन सक्ने असाधारण परिस्थिति नेपालमा छ', उनले भने, 'यसलाई भत्काउन संसारभरका साम्राज्यवादी र प्रतिक्रियावदी लागेका छन्। तपाईँहरू साम्राज्यवाद/प्रतिक्रियावादको पक्षमा कि जनताको पक्षमा ? तपाईँको व्यवहारद्वारा टुंगिने कुरा हो।' 

एउटै केन्द्रमा एकीकृत हुने अवसरहरू सधैँ नआउने भन्दै प्रचण्डले यसलाई गुम्न नदिन आग्रह गरे।

'नेतृत्वको अवसर नगुमाऔँ'

वाम एकता प्रक्रियालाई 'महान अभियान' को संज्ञा दिएका प्रचण्डले त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको बताए। एमाले र माओवादी केन्द्रको एकता नेतृत्व व्यवस्थापनमा कुरा नमिलेर अड्किरहेका बेला प्रचण्डले नेतृत्वको अवसर आएको भन्दै त्यसमा पटक पटक जोड दिए।   

'नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त छ, हामीलाई', प्रचण्डले भने, 'नेतृत्व भन्ने कुरा मलाई दिनपर्छ भनेर पाइने होइन। आफ्नो सक्रियता, क्षमता, त्याग, तपस्याद्वारा लिनुपर्ने कुरा हो।'

जनयुद्ध, त्यसको जगमा जनआन्दोलन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, हालै भएका तीन तहका निर्वाचन, माओवादीले अघि सारेको वाम गठबन्धन र पार्टी एकताको प्रस्तावका कारण नेतृत्वको अवसर प्राप्त भएको प्रचण्डको भनाई थियो। 'यो अवसर गुम्न नदिउँ' प्रचण्डले भने, 'एउटा ग्रेट डिबेट (महान बहस) बाट मात्रै ग्रेट रिभोलुसन (महान क्रान्ति) को जन्म हुन्छ। बहसबाट भागेर दुनियामा क्रान्ति कहीँ पनि अगाडि बढेको छैन।' 

२०५२ फागुन १ गते सशस्त्र युद्धको घोषणा गरेको दिनको सम्झनामा माओवादीले आजको दिनलाई 'जनयुद्ध दिवस' का रुपमा मनाउने गरेको छ। २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएसँगै माओवादीको सशस्त्र युद्ध अन्त्य भएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.