ग्याल्पो लोसार तीन दिन मनाइँदै
काठमाडौं : बौद्ध धर्मावलम्बीहरूको पर्व नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रमसहित ज्याेती पार्टी प्यालेस कुमारीगल लाउरेटाेलमा तीन दिन मनाइने भएको छ। पर्व बुधबारदेखि शुक्रबारसम्म मनाउने तयारी गरिएको हो। धार्मिक मान्यताअनुरूप हिमवतखण्डबाट सुरु भएको ‘च्या लो’ (चरा वर्ष) लाई विदा गरी ‘खि लो’ (कुकुर वर्ष) २१४५ भव्य रुपमा मनाइँदै छ।
बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिवर्तन हुँदा बौद्ध धर्मावलम्बीले नयाँ वर्ष ग्याल्पो लोसार मनाउने गर्छन्। यस वर्ष हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल तामाङ बौद्ध महासंघले संयुक्त रूपमा कार्यक्रम गरी लोसार मनाउने केन्द्रका महासचिव सेर्कु शेर्पाले बताए। लोसारलाई राष्ट्रिय पर्वका रूपमा विकास गरी बौद्धमार्गीले एकै स्थानमा स फो खि लो २१४५ औं ग्याल्पो लोसार टुँडिखेलमा मनाउन सुरुवात गरेको उनले बताए।
लोसारमा बुधबार गुथुक साँझ, साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता हुने छ भने बिहीबार पुरस्कार वितरणसहित सांस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरी लोसार मनाइने छ। शेर्पा, तामाङ, भोटे, गुरुङ, थकाली, ह्योल्मोलगायत बौद्ध धर्मावलम्बीले पात्रोअनुसार चारै वटै लोसार मनाउने गर्छन्। लोसारमा छेमार र छेयाङफुद सजाउने गर्छन्। नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समय लोसार मनाउने गरिन्छ।
बर्सेनि १२ लो (बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्र्यागन, सर्प, घोडा, भेडा) वर्ष परिवर्तन भएर नयाँ वर्षको सुरुवात हुन्छ। तिथि परिवर्तन भई १२ महिना सकिएर नयाँ वर्ष लागेसँगै ग्याल्पो लोसार मनाइने गरिन्छ। महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु)मा कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ। हिमाल क्षेत्रका बासिन्दाले लोसार (नयाँ वर्ष) लागेको शुभ संकेतस्वरूप जौ र गहुँका बाला राख्ने गर्छन्।
कोङ्पोलाई लोपोन्मुख लोसार मानिन्छ। तोला लोसार ग्रह नक्षत्र वा आकासीय पिण्डहरूको चलायमान अवस्थासँग जोडिएको अग्रज धार्मिक व्यक्तिहरू तर्क गर्छन्। ११ औं महिना पुसमा पर्छ। सोनामको अर्थ कृषि हो, किसानले रोपेको अन्नबाली घरभिœयाएपछि खुसीयालीमा सोनाम लोसार मनाउने गरिन्छ। पात्रो अनुसार १२ औं महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ।