दल साना, नेता ठूला

दल साना, नेता ठूला

काठमाडौं : एउटा भनाइ नै छ, कम्युनिस्ट पार्टीको नेतृत्व परिवर्तन उति सहज हुँदैन। ‘जसको नीति, उसकै नेतृत्व’ भन्ने कम्युनिस्ट सिद्धान्त छ। नेतृत्वमा रहेका नेताको मृत्यु नहुन्जेल नयाँ नेता जन्मिन कठिन हुने कम्युनिस्ट प्रवृत्ति नेपालका केही साना कम्युनिस्ट दलमा पनि लागू हुन्छ। उसो त नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेमा भने नेतृत्व हस्तान्तरण लोकतान्त्रिक प्रक्रियाबाट हुँदै आएको छ। एमालेले ५/५ वर्षमा हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दै आएको छ तर केही साना कम्युनिस्ट पार्टीमा भने नयाँ नेतृत्व नआएको दशकौं भइसकेको छ।

सानो संगठन त्यसमा पनि अधिकांश नेतृत्वकै विश्वासपात्रको झुण्ड, त्यसैले कतिपयले साना दललाई नेतृत्वको भजनमण्डली भन्दै आलोचना गर्ने गरेका छन्। उनीहरू नेतृत्वको विकल्प खोज्नुभन्दा त्यही नेतृत्वबाट लाभ लिन सक्रिय हुने भएकाले पनि साना दलमा नयाँ नेतृत्व आउन नसकेको राजनीतिक विश्लेषक बताउँछन्।

विसं २०१३ देखि औपचारिक रूपमा कम्युनिस्ट आन्दोलनमा होमिएका नारायणमान बिजुक्छे त्यसबेला पुष्पलाल समूहमा थिए। नेतृत्वसँग सैद्धान्तिक रूपमा असहमति जनाउँदै बिजुक्छेले आफ्नै नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्थापना गरेका थिए। चार दशकदेखि उनी अनवरत नेमकिपाको अध्यक्ष छन्। नेमकिपाका सचिव प्रेम सुवाल यसलाई स्वाभाविक ठान्छन्। कम्युनिस्ट पार्टीमा जसको नीति उसकै नेतृत्व हुने भएकाले बिजुक्छेको विकल्प नखोजिएको उनी बताउँछन्। उनी भन्छन्, ‘उहाँकै विचारमा पार्टी चलेको छ, उहाँको नेतृत्व सफल हुँदै आएको छ। त्यसैले उहाँको विकल्प खोज्ने बेला भएको छैन।’

विसं २०४८ सालपछि भएका सबै चुनावमा भक्तपुर १ बाट निर्वाचित हुँदै आएका बिजुक्छे मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएनन्। पार्टीभित्र दोस्रो पुस्तालाई अवसर दिनुपर्ने भन्दै उनले उम्मेदवारी नदिएको बताएका थिए। भक्तपुरमा बलियो प्रभाव रहे पनि अन्य जिल्लामा भने नेमकिपा निकै कमजोर देखिन्छ।

अहिले ठूला दुई वामघटक माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको छ तर यी साना वामदल भने यो एकताबाट टाढै छन्।


सक्रिय राजनीतिज्ञमध्ये पाका नेता हुन् चित्रबहादुर केसी। उमेर र अनुभवले खारिएका केसी अहिलेका धेरै कम्युनिस्ट नेताहरूका पनि गुरु हुन्। विसं २०५२ मा स्थापित राष्ट्रिय जनमोर्चाको संस्थापक अध्यक्ष केसी त्यसपछि अनवरत पार्टी नेतृत्वमा छन्। उनी विसं २०५६, २०६८ र २०७२ मा भएका महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुँदै आएका छन्। विसं २०४६ को परिवर्तनपछि अत्यधिक बढेको राजनीतिक भ्रष्टाचारबाट निकै टाढा रहेका सदाचारी नेता मानिन्छन् केसी। जनमोर्चाको जननी पार्टी नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंह पनि नेतृत्वमा रहेको दशकौं भइसकेको छ।

राजनीतिशास्त्रका प्राडा. सुरेन्द्र केसी दलका नेताहरूले पार्टीलाई बिर्ताजस्तै बनाएकाले नयाँ नेतृत्व आउन नसकेको बताउँछन्। उनी भन्छन्, ‘नेताहरूले पार्टीलाई निजी कम्पनीजस्तै बनाएका छन् र पार्टी कार्यकर्तालाई मजदूर ठान्छन्। दललाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्छन्।’ उनी नेतृत्व हस्तान्तरणको समस्या साना दलमा मात्र नभएर ठूला दलहरूमा पनि उत्तिकै रहेको दाबी गर्छन्।

नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित नेता हुन्, सीपी मैनाली। विसं २०२८ मा भएको झापा विद्रोहमा संलग्न मैनाली विसं २०३५ सालमा गठित नेकपा मालेका पहिलो महासचिव हुन्। विभिन्न नाममा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकत्रित गर्ने ध्येयले उनीसहित नेताहरूको पहलमा नेकपा माले गठन गरिएको थियो। मालेपछि नेकपा एमाले पार्टी बन्यो।

आन्तरिक द्वन्द्वका कारण विसं २०५४ सालमा एमाले विभाजित भयो र फेरि माले गठन भयो तर विसं २०५८ मा मालेका तत्कालीन नेता वामदेव गौतमसहित ठूलो समूह एमालेमै फर्कंदा मैनाली भने मालेमै रहे। त्यसपछि पार्टी महासचिव बनेका मैनाली दुई दशक पुग्न लाग्दा पनि नेतृत्वमै छन्। प्राडा. केसी भन्छन्, ‘साना दलहरूमा त यतिसम्म समस्या छ कि नेतृत्वविरुद्ध बोल्दा कि त कारवाहीका लागि तयार हुनुपर्छ कि पार्टी छाड्नुपर्छ।’ उनी साना दललाई पार्टीभन्दा पनि स्वार्थसमूह भन्छन्।


अहिले ठूला दुई वामघटक माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेको छ तर यी साना वामदल भने यो एकताबाट टाढै छन्। राजनीतिक रूपमा विलयको स्थितिमा पुग्दासमेत यी दल अझै छुट्टै अस्तित्व कायम राख्न लागिपरेका छन्। कतिपयले भने यसलाई आफ्नो नेतृत्व गुम्ने चिन्ताले विलयको स्थिति आउँदासमेत पार्टी एकीकरणमा सहभागी नभएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.