पार्टी एकता टुङ्ग्याउन एकता संयोजन समिति बैठक

पार्टी एकता टुङ्ग्याउन एकता संयोजन समिति बैठक

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ।

ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको एक्ला एक्लै छलफलका क्रममा सो सहमति भएको हो। 

पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्‍याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आएका छन्।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

'पार्टी एकतालाई सरकार गठन अगावै टुंगो लगाउने लक्ष्यका साथ आजको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ, बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ', अध्यक्षद्वयबीच भएको छलफललाई उद्धृत गर्दै अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने।

सोमबार अध्यक्ष ओली र अध्यक्ष दाहालबीच पार्टी एकतालाई अगाडि बढाउने सन्दर्भमा दुवै अध्यक्ष नै पार्टीमा रहने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो। 

मंगलबारको बैठकमा त्यसको खाका, सांगठनिक तथा राजनीतिक वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको जनाइएको छ।

'सम्भवतः सरकार गठन अगावै पार्टी एकता गर्ने गरी छलफल भएको छ, छलफल असाध्यै सकारात्मक छ', अध्यक्ष दाहालका स्वकीय सचिव महराले भने।

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए। त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए। सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ। 

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ। 

यस्तै, पार्टीका शीर्ष नेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ। तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन्। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.