सर्वनाममा गुञ्जिए भिखारी र अभिलाषी
काठमाडौं : हामी कवि र कविताको ५४औं शृंखलामा कविद्वय बद्री भिखारी र देवकी अभिलाषी प्रस्तुत भएका छन्। लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनाम थिएटरको संयुक्त आयोजनामा हरेक महिनाको पहिलो दिन यो कार्यक्रम हुन्छ।
ऐना शीर्षकको व्यंग्यात्मक कविता सुनाउँदै बद्रीले कार्यक्रमको सुरुआत गरे। उनले साँच्चि तपाईंको छोरो भेट्नु भो ? , मेनकाको डायरी, नागरिकता, तिमीले राम्रो भनेपछि, तिम्रो हेडक्वार्टरमा पुगेपछि दुःख सम्झेर लगायतका कविता सुनाए।
उनका कवितामा राष्ट्र भावनाले ओतप्रोत, विम्बात्मक, स्वतन्त्रता र प्रकृतिको चित्रण पाइन्छ। भारतले नेपालका हरेक क्षेत्रमा हस्तक्षेप गरेको प्रसंग नागरिकता शीर्षकको कवितामा निकै मार्मिक शैलीमा उनले प्रस्तुत गरेका थिए। लामो समयदेखि कविता लेख्दै आएका भिखारीले छोटो समयमा चोटिला कविता प्रस्तुत गरेका थिए।
म यो सहरलाई प्रेम गर्छु भन्दै कार्यक्रमको दोस्रो चरणमा देवकी अभिलाषी प्रस्तुत भइन्। उनले नारी समानताको विषयलाई कवितामार्फत प्रस्तुत गरेकी थिइन्। आधुनिक दास, प्रेम उत्सव, वनमान्छे, पसिनाको रङ, समयकी नायिका, मरुभूमिबाट जस्ता कविता सुनाएकी थिइन्।
कविताका माध्यमबाट उनले हरेक नारीलाई बन्धन त्यागेर उन्मुक्तिको आकाशमा उड्न आग्रह गरेकी थिइन्। उनले अरबको मरुभूमिमा घरमालिकको यातना खप्न विवश हाम्रा तमाम दिदीबहिनीलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेकी थिइन्। उनका कवितामा प्रेम चाहना, प्रकृति चित्रण र नारी स्वतन्त्रताजस्ता भाव झल्किएका थिए।