प्रभाषले राति ११ बजे फोन गरेपछि
एक्कासी बजेको मोबाइलको घन्टीले म र निद्रादेवीबीच दूरी बढाइदिएको थियो। दिनभरिको काम गराइले जिऊ निकै थाकेको थियो। हुन पनि घरमा केही फङसन चलेपछि यस्तै हो, दिनभरी व्यस्त भइन्छ। पाहुनाको सत्कार गर्दा आफू थाकेको पनि थाहा हुँदैन। सुत्नेबेलामा शरीरले पनि ओछ्यान चाँडै खोज्न थाल्छ। ओछ्यानको मोहलाई त्याग्न नसकेर चाँडै सुत्न पाएको दिन भएकाले म निकै खुसी थिएँ।
थकानको समयमा ओछ्यानमा लम्पसार परेर सुत्नुको मजै बेग्लै थियो। तर, बीचमा बजेको यो घन्टीले भने भिलेनको काम गरेको थियो। साइलेन्ट मोडमा राखेर सुतेको भए म आनन्दले निद्रादेवीको काखमै हुन्थेँ। मोबाइल साइलेन्टमा नराखेकोमा एक हिसाबले पछुतो पनि लाग्यो। मोबाइलमा देखिएको नम्बर र नामले एकछिन अगाडिको पछुतोलाई छुमन्तर बनाइदिएको थियो किनभने त्यो नम्बर प्रभाषको थियो। अर्थात्, मैले कुनैबेला माया गरेको मान्छे तर अहिले राम्रो साथी।
आफूलाई मन परेको मान्छेले सम्झिँदा मन निकै फुरुङ्ग हुन्छ। यसो घडी हेर्छु, भर्खर रातिको ११ बजेको रहेछ। हैन यतिबेला उसलाई मसँग के काम पर्यो होला ? दोधारे अवस्थामै फोन रिसिभ गरे।
उताबाट आवाज आयो,‘हेलो, श्वेता के गरिराखेको ?’
कस्तो हावा प्रश्न सोधेको यो। यति राति मान्छेहरू के गर्छन् सबैले सजिलै अनुमान लगाउने कुरा नै हो। ‘नाचिराखेको छु। अरे यार, यति राति नसुतिकन मान्छे के गर्छन् ?’
‘ए..., त्यसो भए गुड नाइट, राम्ररी सुत्नुहोला।’
प्रभाषको निहुँ खोज्ने बानी अझै उस्तै रहेछ। आज झन्डै दुई वर्षपछि कल गर्दा पनि उसको बोल्ने तरिकामा परिवर्तन भएको रहेनछ। ऊसँग फेरि पनि मै हारेँ।
‘अनि, भन के कति कामले मलाई यति राति कल गर्यौँ ?’
‘ह्याप्पी बर्थ डे टु यु श्वेता’
मेरो जन्मदिन त ३ महिना अगाडि नै गइसक्यो। आज आएर किन उसले जन्मदिनको शुभकामना दियो ? सोचनीय कुरा छ। मैले कुरा घुमाइहालेँ, ‘आज मेरो बर्थ डे हैन, के काम पर्यो भन त ?’ म अलि चिढिएँ किनभने राति थकानले चुर भएको अवस्थामा आएको मिठो निद्रासँग सम्बन्ध विच्छेद गरेर अर्धनिद्रामा बोल्नुपरेको थियो मैले।
‘डु यु एभर लभ मी ?’ अलि शंकोचयुक्त आवाज मेरो कानमा प्रवाहित भयो।
‘हँ !’ म झसङ्ग भएँ। अब भने निद्रादेवीसँग पूरै छोडपत्र गरिसकेकी थिएँ।
‘म.....मैले बुझिनँ।’
‘इङ्गलिस आउँदैन, डु यु एभर लभ मी भन्न खोजेको, के तिमीले मलाई जीवनमा कहिले माया गरेका थियौँ ?’
म अकमकिएँ। प्रभाषको एक्कासिको यस्तो प्रश्नले मलाई मेरो विगतमा पुर्याउन लागेको थियो। म ठक्क अडिए। अनि लामो श्वास फेर्दै फेरि सोधेँ, ‘आज यो प्रश्न किन ? हामीबीचको म्याटर पहिला नै क्लियर भइसक्यो हैन र ?’
‘हो, तैपनि मलाई आज यसको जवाफ चाहियो किनभने आज मैले मान्छेहरूलाई चिनिसकेँ। आज मैले इष्टमित्र, नातागोता, आफन्त सबैलाई चिनिसकेँ।’ अलि हतासयुक्त आवाजमा यो सब भनिरहेको थियो उसले।
उसको यो प्रश्नले पुरानो घाउ बल्झिन खोज्दै थियो अनि मन उही पीडामा जान खोजिरहेको थियो। मैले आफूलाई सकेसम्म सम्हालिरहेकी थिएँ किनभने भर्खरभर्खर मात्र पीडादायी क्षणबाट उम्किरहेकी छु, यस्तो अवस्थामा मेरो मनलाई दह्रो बनाउनु जरुरी थियो। अनायासै जीवनरुपी किताबमा कहीँ लुकाएको पानाले खुल्ने प्रयास गर्दै थियो।
‘हेल्लो, के भयो ? कता हरायौँ ? मेरो प्रश्नको उत्तर खोई ? आज तिमीले मलाई यसको सही जवाफ दिनुपर्छ। तिम्रो एउटा जवाफ मेरो लागि निकै महत्वपूर्ण छ, प्लिज।’
‘थाहा छैन मलाई। मैले केही पनि बुझेको छैन।’ अकमकिँदै जवाफ दिएँ मैले।
‘त्यत्रो मिडिया पर्सन भएर सबैको मन जित्ने मान्छेले थाहा छैन र बुझेन भन्न पाउँछ। तपाईले सबै बुझ्नुभएको छ। सो प्लिज गिभ मी एन्सर।’
माया त गर्थें नि मैले तर के गर्नु यो माया भन्ने शब्द मुखबाट निकालेपछि म फेरि उही पीडामा जान्छु भनेर मलाई राम्रोसँग थाहा थियो। त्यसैले म यो प्रश्नबाट उम्किन खोज्दै थिएँ। माझीको जालमा परेको माछा उम्किन नसकेझैँ म पनि प्रभाषको प्रश्नबाट उम्किन सकिरहेकी थिइनँ।
उताबाट मधुरो भए पनि आवाज आउँदै थियो। अलि निराश र हतास आवाजले ऊ आज दुःखी छ भन्ने महसुस गराइरहेको थियो। यस्तैमा उसको आवाज फेरि मेरो कानमा ठोक्किन थाल्यो।
‘आइ नो यु लभ मी’ तर, मैले तिमीलाई बुझ्न निकै ढिला गरेँ श्वेता। तिम्रो मायालाई बुझ्न सकिनँ। तिमी टाढाको मान्छेलाई मैले जहिले पनि पराई सम्झेरै बिहेभ गरेँ। आखिरमा मैले तिम्रो माया बुझेको भए आज यस्तो हुने थिएन। आज किन हो कुन्नि मन निकै दुःखी छ। तिमीले मलाई हरेक पल आफ्नो सम्झेर साथ दियौं। तर, मैले तिमीलाई कुनै पनि समय साथ दिन सकिनँ। आज निकै पछुतो लागिरहेछ श्वेता।’
‘हैन ठिकै छ, त्योबेलाको तिम्रो कन्डिसन नै त्यस्तै थियो।’ मैले सान्त्वनाका शब्दहरू प्रयोग गरेँ।
‘हैन, तिमी चुप लागेर मेरो कुरा सुन। आज तिमीलाई केही भन्नु छ। मबाट आज तिम्रो लागि यो लास्ट कल हो। अब आइन्दा तिमीलाई कल गर्नेछैन। कुनै दिन भेट भएछ भने तिमीसँग सानो प्रभाष र तिमीलाई बुझ्ने अनि हरपल साथ दिने मान्छे देख्न पाइयोस्।’
म अचम्ममा पर्दै थिएँ। मैले सोच्दै नसोचेको कुरा आज हुँदैछ। मान्छेको जीवन पनि अजीवको छ, कहिले कुन समयमा के घटना घट्छ भनेर भन्नै नसकिने रहेछ। असजिलो अवस्थालाई काबुमा लिएर मैले आवाजमा जोड दिँदै भने, ‘यो सब कुरा आज किन गर्दैछौं ? तिम्रो त्योबेलाको अवस्था कस्तो थियो भनेर मलाई राम्रोसँग थाहा छ। म तिमीसँग रिसाएको छैन। किन यस्तो कुरा गर्दैछौं तिमी ? के मैले तिमीलाई अप्ठ्यारोमा पार्ने काम गरेँ ? तिमी किन आज लास्ट कल भन्दैछौं ? मेरो गल्ती के छ ? तिमीलाई के भयो ?’ मैले एकै सासमा भन्न भ्याएँ। यति नभनेको भए त उसले बोल्ने मौकै दिदैनथ्यो क्यारे।
‘तिमी एकछिन चुप लागेर मेरो कुरा सुन। श्वेता, आइ लभ यु टु।’
म झसङ्ग भएँ। यो के भइराखेको छ आज। जुन कुरा बिर्सिसकेकी थिएँ त्यही कुरा सम्झाउँदै छ यो मान्छेले। मैले उसको के बिगारेको थिएँ ? आखिर उसकै खुसीको लागि म आफ्नो भावनालाई कुल्चेर राम्रो साथीको रुपमा अगाडि बढेकी नै थिएँ त। उसँगकोे भेटघाट र बोलीचाली पनि कम नै गरेकी थिएँ। तैपनि आज आएर उसले यस्तो कुरा किन गर्दैछ ? अब भने उसको कुरा सुन्नु निकै जरुरी थियो। अब त निद्रादेवीले बिहानसम्ममा पनि साथ दिन आउँलाजस्तो लागेन। यो अवस्थामा उसको कुरा सुन्नुबाहेक अर्को उपाय नै थिएन।
ऊ भन्दै गइरहेको थियो, ‘रियली श्वेता, आइ एम इन लभ विथ यु। मैले तिम्लाई बुझ्न धेरै ढिला गरेँ। अब मेरो केही हुनेवाला छैन। त्यसैले भोलि म यो सहर छोडेर जाँदैछु। समय र भाग्यले चाहे भने हाम्रो भेट फेरि होला। तर, अब भने तिमीले मलाई कल नगर है। तिमीसँगको सामिप्यताले फेरि तिमीसँग माया बस्न सक्छ। त्यसैले प्लिज मलाई माया गर्ने वातावरण नदेऊ। मलाई सबै पुग्यो। अब कतै टाढा गएर जिन्दगी बिताउँछु। बाई एन्ड आइ लभ यु टु श्वेता।’
फोन राखेको आवाजले म झसङ्ग भएँ। धेरै वर्षअगाडि सुन्न चाहेको कुराले आज पूर्णता लिँदैछ अनि कसैसँग विछोडिनुपर्दाको पीडा फेरि मनमा बल्झेको छ।
प्रभाषले एकै सासमा सबै भनेर गयो तर मेरो कुरा अलिकति पनि सुनेन। माया त अहिले पनि गर्छु उसलाई तर ऊ किन मबाट टाढा जाँदैछ मैले बुझ्न सकिनँ। उसलाई फेरि फोन गरेर सोधौँ भने फोन अफ नै आउँछ। उसको बानी मलाई राम्रोसँग थाहा छ। यस्तो अवस्थामा उसले फोन अन कहिले पनि गर्दैन। के ऊ अब मबाट टाढा जाँदैछ त ? मन भरिएर आँखाबाट आँसु छचल्किन थाल्यो।
प्रभाष मेरो पहिलो माया थियो तर म उसको पहिलो माया थिइनँ। मैले उसलाई मेरो मनको कुरा भन्नुभन्दा अगाडि नै ऊ कसैलाई मन पराउँथ्यो अनि उसले मन पराएको मान्छेले अरु कसैसँग विवाह गर्ने तरखर गरिरहेकी थिई। एक हिसाबले भन्नुपर्दा मेरो माया त्रिकोणमा रहेको एउटा कोण थियो। एउटा कोणमा म थिएँ अर्को कोणमा प्रभाष थियो अनि तेस्रो कोणमा प्रभाषले माया गर्ने केटी। यसरी त्रिकोणमा अल्झिएर म फनफनी मायाको पासोमा बेरिंदै गइरहेकी थिएँ। उसको कुराले म कहिल्यै पनि उम्किन नसक्ने पासोमा अल्झिएको जस्तो महसुस भएको थियो।
– – –
प्रभाष र मेरो भेट एउटा सानो पारिवारिक जमघटमा भएको थियो। आजभन्दा ठ्याक्कै साढे दुई वर्षअगाडि साथी सबनमको घरमा फ्यामिली फक्सन थियो। म सबनमको नजिकको साथी भएकीले उक्त फक्सनमा सामेल हुन योग्य मान्छेको रूपमा गनिएकी थिएँ। फ्यामिली फक्सनजस्तो व्यस्त कार्यक्रममा पनि उसको र मेरो आँखा जुध्न पुगेको थियो। उसको आँखामा जादु थियो या उसको आँखाको गहिराइमा रहेका केही रहस्यहरू बाहिर आउन खोजिरहेको जस्तो थियो। जेसुकै भए पनि उसको आँखाले मलाई तानिरहेको थियो। भनौं उसको रहस्यमयी आँखामा म भुलिएकी थिएँ। हुन पनि फक्सनमा सबनमका आफन्तहरू कति आएका थिए, सबैजनालाई चिन्दै हिँड्न फुर्सद पनि कहाँ थियो र ? नचिन्ने मान्छेमा खासै चासो नदिने मान्छे भएकीले म सबनम र अन्य परिवारका सदस्यहरूसँग रमाउनमै व्यस्त थिएँ। तर, कताकता मनमा एकजोडी रहस्यमयी आँखाले केही छाप भने छोडेको थियो।
– – –
राति अबेरसम्मको पार्टीले बिहानको सुताइ समयलाई केही लम्ब्याइदिएको थियो। हुन पनि सट्टापट्टा त गर्नैपर्यो नभए यो शरीरले पनि कसरी ठामोस्। यसलाई अल्छी भएर सुत्ने एउटा बहाना भने पनि हुन्छ किनभने कार्तिकको चिसोचिसो हावाले सिरक ओढेर सुत्नुको बेग्लै आनन्द दिइरहेको थियो। मैले मोबाइल चेक गरेँ। आँखा खुल्नासाथ मोबाइल हेर्ने बानीका कारण निद्राबाट उठेपछि स्वचालित रूपमा मेरो हात मोबाइलमा गइहाल्छ। अहिलेको प्रविधिको जमानामा यो बानी मेरो मात्र होइन होला भन्ने लाग्छ। यसलाई प्रविधिसँगको गहिरो नाता पनि भन्न सकिन्छ। सबनमले मेसेज छोडेकी रहिछे। फेसबुकमा हिजोको पार्टीको फोटो अपलोड गरेकी रहिछे। पार्टीको ह्याङओभर सकिन नपाउँदै फेसबुकमा फोटो राख्न भ्याउनु पनि ठूलै कुरा हो।
मैले सबनमको जाँगरलाई मानेँ। उसको मेसेजसँगै मेरो फोटोचाहिँ कस्तो आएको रहेछ भनेर हेर्न मलाई निकै हतार भएको थियो। मैले समय बर्बाद नगरी फेसबुक खोलेँ। थुप्रै फोटो अपलोड गरेकी रहिछे। मेरो त जम्मा ४ वटा फेला पर्यो। दुई÷चार जनाले फ्रेन्ड रिक्वेस्ट पनि पठाउन भ्याएका रहेछन्। त्यो लिस्टमा हिजोको रहस्यमयी आँखावाला मान्छेको फोटो पनि रहेछ। म अकमकिएँ। हिजो उसलाई हेर्दा हाम्रो आँखा जुधेछ कि क्या हो, नभए त फेसबुकमा मलाई ट्याग गरेको फोटोकै भरमा त के फ्रेन्ड रिक्वेस्ट पठाउँथ्यो र ! हुन पनि आजकलका केटाहरू नयाँ केटीहरूसँग परिचय गर्न र गफ गर्न निकै सिपालु हुन्छन्। सायद यो पनि त्यसकै नमुना होला।
बाटो बिराएर यता जाऊँ कि उता जाऊँ भएको बटुवाझैं अलमलमा परेर मैले उसको फ्रेन्ड रिक्वेस्ट स्वीकारेँ। अप्रत्यक्ष रूपमै सही आखिरमा सो रहस्यमयी आँखा भएको मान्छेसँग कुरा गरेर उसको आँखाको रहस्य पत्ता लगाउने यो मेरो लागि सुनौलो अवसर थियो। यो अवसरलाई कहाँ उम्किन दिन्थेँ र !
रिक्वेस्ट एसेप्ट गरेको केही सेकेन्डमै उसको हाइवाला मेसेज आयो। हुन पनि केटाहरू नयाँ केटीसँग बोल्ने अनेक बहाना हेर्छन्। मबाट पनि उसलाई मौका गएकै थियो। उठाओस मौकाको फाइदा। यही बहानामा उसको आँखाको केही रहस्य पत्ता लाग्छ कि भन्ने आश मैले पनि गरेँ।
‘हाइ फ्रेन, हाउ आर यु, यु आर लुकिङ प्रिटी अन पिक्स’ एउटा प्रभाव जमाउने हिसाबले उनले मसँग कुरा गर्यो।
‘थ्याङ्क्स’ मैले योभन्दा माथि भन्नु जरुरी ठानिनँ र सिधै अफलाइन भइदिएँ।
नाम प्रभाष रहेछ। प्रभाष शर्मा, ग्रयाजुएट सकाएर अहिले काठमाडौंकै एउटा प्रतिष्ठित बैंकमा जागिरे रहेछ। सबनमको नजिकको साथीको नाताले ऊ पनि हिजोको फङ्सनमा सहभागी भएको रहेछ।
ऊसँग विस्तारै कुरा बाक्लिँदै गइरहेको थियो। प्रविधिको जमाना भएकोले मान्छे भेट्नैपर्छ भन्ने पहिलाको मानसिकतालाई पुरै असत्य बनाइदिएको थियो। फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जाल भएपछि मानिसहरू जति टाढा भए पनि नजिकै भएको महसुस हुने रहेछ। यी सामाजिक सञ्जाल हामीबीचको दूरीलाई कम गर्ने माध्यम बनेको थियो। यसबीचमा हामीबीच निकटता बढेर राम्रो साथीका रुपमा स्थापित हुन थालिसकेका थियौं।
– – –
प्रभाषसँगको सामिप्यतामा म रमाउन थालेकी थिएँ। साथै हामीले दुईपटक भेट्न भ्यायौं। उसँगको भेटमा मैले आत्मीय साथीको छवि पाएँ। यी भेटहरूले उसप्रतिको मेरो नकारात्मक सोचाइ पूरै हटाइदिएको थियो। मान्छे अलि रसिक रैछ। जहिले पनि ठट्टा गरिरहनुपर्ने। कहिलेकाहीं उसलाई ‘तिमी किन बढी ठट्टा गर्छौं’ भनेर सोध्थेँ।
‘किनकी मलाई हास्न मन लाग्छ।’ उसको साधारण अनि जहिलेको जवाफ हुन्थ्यो यो।
उसको हरेक कुराले मलाई आकर्षित गर्न थालेको थियो। नचाहँदा नचाहँदै पनि ऊप्रतिको मेरो भावना बदलिँदै गइरहेको थियो। सायद उसलाई मैले मन पराउन थालेकी थिएँ। हिजोअस्ति मात्र भेटेको मान्छेप्रति मेरो मनमा आएको यो भावनाले मलाई नै अप्ठेरो परिस्थितिमा पार्नेछ भन्ने राम्ररी थाहा थियो। तर, के गर्ने यो मन र माया भन्ने चिज यस्तै हुने रहेछ, जहाँ नजाऊ भन्यो त्यहीँ गइदिन्छ।
प्रभाषको निर्दोषीपन र उसको रहस्यमयी आँखाको जादूले मलाई ऊप्रति पागल बनाइदिएको थियो। म उसलाई साँच्चिकै माया गर्न थालेकी थिएँ। एक हिसाबले भन्नुपर्दा म खुसी नै थिएँ किनभने मैले पनि जीवनमा कसैलाई माया गर्न थालेँ। ऊ मेरो पहिलो माया थियो। त्यसैले उसलाई मेरो मनको कुरा भन्नु आवश्यक भइसकेको थियो। मैले उसलाई मनको कुरा भन्ने निर्णय गरेँ। हतार नगरी मैले फोनमा उसको नम्बर डायल गरेँ।
‘हेलो, श्वेता, हाउ आर यु ?’ मुस्कानमिश्रित आवाज आइरहेको थियो।
‘मी फाइन, सुन न, हामी आज भेट्न सक्छौं ?’ मैले बिनाऔपचारिकता सिधै भनिदिएँ। आखिरमा भन्नु नै छ भने भूमिका किन बाँध्नु !
‘उम्, ठिक छ, आज ५ बजे काठमाण्डू मलमा आऊ। उतै भेटाैला।’
‘ओके, सि यु।’
घडी हेरेँ, भर्खर ११ बजेको रहेछ। अझै निकै समय बाँकी थियो। त्रिपुरेश्वरबाट काठमाण्डू मल पुग्न धेरै समय लाग्दैन थियो। त्यसैले अब उसलार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्ई भेटेर मैले कसरी आफ्नो कुरा भन्ने बारेमा सोच्न थालेँ। समय निकै बाँकी थियो। सोच्दा सोच्दा मेरो दिमागले काम गर्न छोड्ला कि भन्ने पीर पनि पर्न थालेको थियो। विचरा यो दिमागलाई यतिसम्म जोड कहिले पनि दिएकी थिइनँ।
यो बीचमा समयसँग मेरो एकप्रकारको प्रतिस्पर्धा चल्दैथियो। समय आफ्नो गतिमा रहे पनि आज यसले मसँग निहुँ खोजेको जस्तो लाग्यो। हिजोअस्ति केही गर्न नपाउँदै चाँडै बेलुका हुने समय आज जति कोसिस गर्दा पनि धीमा गतिमा गइरहेकोजस्तो लाग्यो।
– – –
घडी हेरेँ, बेलुकाको ठिक पाँच बजिसक्यो। म सुन्धारास्थित काठमाण्डू मलमा रहेको बिजुली भर्याङबाट माथि उक्लिँदै एउटा क्याफेको कुनामा रहेको टेबलमा बसेँ र एउटा मिल्क कफी अर्डर गरेँ।
समयभन्दा ढिलो आइदिने प्रभाषको बानीसँग म राम्ररी परिचित थिएँ। यो सब थाहा पाउँदापाउँदै पनि म समयमै पुगेँ किनभने समयमै पुग्ने मेरो पनि बानी थियो। कहिलेकाहीं लाग्छ उसको र मेरो बानी, व्यवहार पृथ्वीको दुई ध्रुवजस्तै छ। कुनै पनि कुरा मिल्दैन सिवाय हामीबीचको कुराकानी। तैपनि उसलाई मैले जीवनसाथीको रूपमा सोचेको छु। कतै यो मेरो जीवनमा बिझ्ने काँडा त बन्ने हैन ? हरेक मान्छेमा आफ्नो चाहनालाई लिएर कुनै न कुनै समयमा शंका उत्पन्न हुन्छ। शंकाले पीडाभन्दा माथि केही दिँदैन। यो सब थाहा पाएर पनि मानिसहरू आफ्नो भाग्यप्रति शंका गर्न बाध्य हुन्छन्। म पनि त्यसकै नमुना थिएँ। एकातर्फ मैले प्रभाषसँग सुनौलो भविष्य बिताउने कल्पना गर्न थालेकी थिएँ भने अर्कोतिर यही सपना जीवनभरिको काँडा बन्छ कि भनेर शंका पनि गर्न थालेकी थिएँ। मैले मेरो शंकाभन्दा सपनालाई बढी विश्वास गरेकी थिएँ।
म कल्पनाको दुनियाँमा रमाउँदै गर्दा कतिखेर मनजिक प्रभाष आइपुग्यो पत्तो पाउन सकिनँ।
‘हाई’ मिठो मुस्कानसहित उसले अभिवादनको शब्द मतिर फ्याँकेको थियो।
क्याफेको भित्तामा झुन्ड्याइएको घडीले साढे पाँच बजेको सङ्केत दिइरहेको थियो। आज पनि ढिला आएकोमा प्रभाषलाई अलि रिसाएको जस्तो देखाएँ। रिसाउन त कहाँ सक्थेँ र ऊसँग, तैपनि नक्कली नै भए पनि मेरो रिसलाई बुझेर उसले थप सतर्कता देखाओस् भन्ने लागेको थियो।
‘सरी बेबी, ढिला भयो, नरिसाऊ न तिमी।’ मेचमा बस्दै उसले माफी माग्दै थियो।
उसको यही ‘बेबी’ भन्ने बानी मलाई निकै मन पर्थ्यो। त्यसैले उसको मुखबाट घरीघरी बेबी भन्ने शब्द सुन्न म लालायित हुन्थे। मन परेको मान्छेको सबै कुरा राम्रो हुन्छ भनेझैं उसका हरेक कुरा मेरो लागि विशेष लागिरहेको थियो।
मन बेचैन हुन थाल्यो किनभने जुन कुरा भन्न उसलाई यहाँ बोलाएको थिएँ, त्यो भन्ने समय आइसक्यो। मन जोडले धड्किन थाल्यो। मेरो मुटुको धड्कन क्याफेका सबै मान्छेले सुनिरहेका छन् जस्तो लाग्यो। अब के गर्ने ? कसरी भन्ने ?
‘खासमा मैले तिमीलाई यहाँ किन बोलाएको भने म...... म....... मलाई तिम्रो एउटा हेल्प चाहियो ?’ हँ यो के भन्दैछु म ? मलाई उसको सहयोग किन चाहिएको छ र ? मलाई त उसको माया चाहिएको छ। माया चाहिएको कुरा नगरी म किन सहयोगको कुरा गर्दैछु ? हुन त संसारमा कसैसँग सहयोग माग्न हामीलाई हिच्किचाहट हुँदैन सजिलै सहयोगको अपेक्षा राख्न सक्छौं तर माया माग्न भने कुनै अग्निपरीक्षा दिएको भन्दा कम हुँदैन।
‘अँ, भन न, के भयो ? कस्तो कुरामा हेल्प चाहियो।’
मेरो कुरा भुइँमा पर्न नपाउँदै ऊ सहयोगको लागि राजी भइसकेको थियो। तर, उसलाई के थाहा मलाई उसको सहयोग हैन माया चाहिएको भनेर। अब भने न्वारानदेखिको बल निकालेर आँटेरै भनेँ, ‘आइ लभ यु प्रभाष, आइ वाना बी योर लाइफ पार्टनर, विल यु म्यारी विथ मी ?’
मलाई कताकता डर लागिरहेको थियो। मैले मेरो कुरा एकै सासमा भनेँ तर ऊ कुनै पनि जवाफ नदिई चुप लागेर बसेको थियो। मेरो कुरा उसलाई मन परेन होला, त्यसैले ऊ मलाई हेर्दै नहेरी अन्त कतै हेरिरहेको छ। उसको आँखाको गहिराइमा कतै पानी छचल्किएको जस्तो महसुस भइरहेको थियो।
‘आर यु ओके ?’ मैले आफूलाई रोक्न सकिनँ र सोधिहालेँ।
‘एस, आइ एम ओके।’
‘मेरो कुराले तिमीलाई नराम्रो फिल भएको भए आइ एम एक्स्ट्रम्ली सरी।’ मैले मनको कुरा भन्न नहुने जस्तो महसुस भइरहेको थियो मलाई, त्यसैले पछुतो मानेर माफी पनि मागिहालेँ।
ऊ विस्तारै बोल्दै गयो, ‘सुन श्वेता, तिमीले आफ्नो मनको कुरा भन्यौं म निकै खुसी छु। भेटघाट भएको कम समयमै तिमीले मलाई आफ्नो जीवनसाथी बन्न लायक ठान्यौं। यसको लागि म तिमीप्रति आभारी छु। आइ लभ यु टु तर साँच्ची भन्नुपर्दा म तिम्रो हुन सक्दिनँ किनभने म अरु कसैलाई मन पराउँछु। मेरो पनि आफ्नै एउटा कहानी छ, असफल प्रेमको कथा छ। म त्यो पीडाबाट अझै बाहिर आउन सकेको छैन। मैले जसलाई माया गर्थें, उसले अरु कसैसँग विवाह गर्दैछे। उ र मबीच कहाँ मिसअन्डस्ट्यानिङ भयो भन्ने थाहा छैन तर ऊ मसँग नराम्ररी रिसाएको छ। मैले मेरो मन अरु कसैलाई दिइसकेको छु। ऊसले मलाई छोडेर गई तर आजसम्म पनि म उसलाई नै पर्खेर बसेको छु। मेरो आँखाले जहिले पनि उसलाई खोजिरहेको हुन्छ। ऊबाहेक यो मनमा अरु कसैलाई राख्न सक्दिनँ होला। त्यसैले मेरो आशा नगर तिमी। तिमीलाई माया गर्ने मान्छे आउनेछ एकदिन, उसको प्रतीक्षा गर। सक्छौं भने तिमी मसँग नभेट, तिमीसँगको भेटघाट र बोलीचालीले मलाई तिमीसँग माया बस्न थाल्छ। एकपटक कसैलाई गरेको मायाले मलाई यति धेरै पीडा दिइरहेको छ। अब फेरि कसैलाई माया गर्न चाहन्नँ। सो ट्राइ टु अन्डरस्ट्यान्ड है।’
अहिले भने उसको आँखामा स्पष्टसँग आँसु छचल्किन थालेको थियो। म असमञ्जसमा परेँ। उसको आँखामा भएको रहस्य त्यही केटी हो कि भन्ने ठम्याउन थालेँ। जेसुकै भए पनि मेरो पहिलो माया असफल भएको थियो। मुटुभित्र कतै चस्स दुखेको महसुस भयो। यो दुखाइ उसको जवाफले भएको हो कि उसको आँखाको आँसुमा लुेकेको पीडाबोधले भएको हो, बुझ्न सकिनँ। तर, मलाई पनि एकप्रकारको पीडा महसुस भएको थियो।
‘सरी, तर बिहे हुन लागेको मान्छेको सम्झनामा बसेर तिमी आफैंलाई किन पीडा दिइरहेका छौं ? तिमी जीवनमा अगाडि बढ, तिम्रो पूरै जिन्दगी बाँकी छ। एकजना मान्छेको कारण तिमी आफैंलाई किन पीडामा राख्छौ ?’
उसलाई सम्झाउने कोसिस गर्दै थिएँ म तर आफैंलाई भने सम्झाउन सकिरहेकी थिइनँ। मेरो पहिलो माया नै असफल भएकोमा निकै पीडा भइरहेको थियो। हुन पनि माया भन्ने चिज यस्तै हो, मायाको संसारमा खुसीभन्दा पनि पीडा नै बढी हुँदोरहेछ। यसकै एउटा सहभागी म पनि भएकी थिएँ। यसपछि उसले आफ्नो सबै कथा मलाई भन्यो। सायद यो अवस्थामा उसले आफ्नो कथा भन्नु जरुरी थियो।
– – –
उसको रहस्यमयी आँखाको रहस्य उसको मनभित्र रहेको पीडा रहेछ। उसको माया सफल नभएपछि ऊ एक्लै बस्न चाहेको रहेछ। यही पीडालाई भुलाउन ऊ दुनियाँको हावादारी कुरामा रमाउने गर्दोरहेछ। अनि उसको यही हावादारी रसिकपनले मलाई ऊप्रति तानिरहेको थियो। जेसुकै भए पनि उसको आँखाकै कारण मेरो मन चोरिएको थियो। ऊसँग अनायासै माया बस्यो तर त्यही माया मेरो जिन्दगीको बिझाउने काँडा बन्यो। माया गर्ने मान्छेले आफ्नोभन्दा उसको खुसी बढी हेर्ने गर्छ। मेरो सन्दर्भमा पनि यही कुरा लागू भयो। मलाई आफ्नोभन्दा पनि उसको खुसी प्यारो लाग्यो। त्यसैले उसको जिन्दगीमा धेरै दखल नदिईकन केवल राम्रो साथीको रूपमा बसेँ र उसकै इच्छाअनुसार उससँगको भेटघाट, बोलीचाली बन्द गरिदिएँ। मैले जीवनको गन्तव्य पहिल्याउने दिशातिर आफ्नो यात्रा अगाडि बढाएँ।
तर, आज एक्कासि उसको एक कलले म फेरि बिथोलिएँ। मैले दुई वर्षअगाडि राखेको प्रस्तावको अपेक्षित जवाफ आज दिँदै थियो तर पनि पछुतोमिश्रित भावमा। यसबीचमा उसको जीवनमा के भयो ? मलाई आज यो सब किन भन्दैछ ? केही थाहा पाउन सकिनँ। सोध्ने हिम्मत पनि जुटाउन सकिनँ।
मैले दुई वर्षअगाडि नै आशा गर्न छोडेको मान्छेले एक्कासि आफ्नो मनको कुरा सबै भनेर फेरि मबाट टाढा गएको छ। उसलाई मैले त्यही बेलामा स्वतन्त्र छोडिसकेकी थिएँ तर पनि यो सब उसले किन भनिरहेछ ? मलाई केही पनि नभनी गएको भए पनि हुन्थ्यो नि।
त्योबेला मैले आफ्नो मनलाई ‘यो एकतर्फी माया हो, यस्तो मायाको कुनै भविष्य हुँदैन’ भनेर चित्त बुझाएकी थिएँ। तर, आज मेरो माया एकतर्फी नभई दोहोरो हो भन्ने थाहा पाएकी छु। मरिसकेको आशा पुनर्जीवित भएको छ। संसारमा सबै पीडाहरूको जड यही आशा हो। आशाले मानिसलाई जिउने सहारा दिन्छ भने नमेटिने घाउको पीडा पनि यसले नै दिन्छ। म पनि त्यही पीडामा फसेँ। अब म के गरौं ? अब त चित्त बुझाउने कुनै पनि ठाउँ र सन्दर्भ छैन।
उसले आफ्नो मनको कुरा त सबै भनेर गयो तर मेरो मनमा आँधीहुरी छोडेर गयो। अब फेरि मैले त्यही पीडा सहनुपर्नेछ। सायद माया भनेको यस्तै रहेछ, चाहेर अथवा नचाहेरै भए पनि पीडासँग साक्षात्कार हुन बाध्य हुनुपर्दोरहेछ।
समाप्त