शेरधन राई मुख्यमन्त्री नियुक्त
विराटनगर : शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा बुधबार नियुक्त भएका छन्। प्रदेश १ का एमाले संसदीय दलका नेता राईलाई बुधबार दिउँसो ३ बजे प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा नियुक्त गरे।
राईलाई संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख तुम्बाहाङले जानकारी दिए। वाम गठबन्धनले बहुमत रहेको भन्दै राईलाई मुख्यमन्त्री बनाउन सोमबार दाबीपत्र बुझाएको थियो।
राईले बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण गर्नेछन्। वीरेन्द्र सभागृहमा शपथ ग्रहण कार्यक्रमको आयोजना गरिने भएको छ। यो प्रदेशमा एमाले ५१ सांसद संख्यासहित बहुमत अवस्थामा छ।
नियुक्ति पत्र बुझेपछि मुख्यमन्त्री राईले बिहीबार सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिँदै भने, ‘यो प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी आएको छ। म गम्भीर भएर इमानदारीपूर्वक रूपमा पूरा गर्नेछु।’ उनले मन्त्रिमण्डलमा जाने धेरैको इच्छा पूरा हुन नसक्ने पनि बताए। उनले संविधानले मन्त्रिमण्डल गठनबारे आकार दिए पनि प्रदेशले धान्न नसक्नेलगायत विविध बाध्यताका कारण ठूलो आकारको मन्त्रिमण्डल गठन गर्न नसकिने जानकारी दिए। उनले भने, ‘जति सक्दो सानो आकारमा छरितो मन्त्रिमण्डल बन्ने छ।’
मन्त्रिमण्डल गठनमा माओवादीसँग ७०/३० को अनुपातमा सिट बाँडफाँट हुने राईले बताए।
राईले सातदेखि बढीमा ११ सदस्यसम्मको मन्त्रिमण्डल बनाइने बताए। मन्त्रिमण्डलमा जाने इच्छा गर्नेहरूलाई उपयुक्त ढंगले मूल्यांकन गरेर जिम्मेवारी दिइने पनि उनले बताए। माओवादीसँग मन्त्रिमण्डल गठनमा ७०/३० को अनुपातमा सिट बाँडफाँट हुनसक्ने बताए।
राईको जन्म २०२७ साल फागुन ११ गते भोजपुर साविकको थिदिङखा गाविस र हालको आमचोक गाउँपालिका ३ मा सामान्य किसान परिवारमा भएको हो। बुबा जागिरमान र आमा राम्रीमाया राई अहिले पनि गाउँमै खेती किसानी गर्छन्।
भोजपुरको तत्कालीन क्षेत्र नं २ बाट २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी बनेका बेला उनी २७ वर्षका मात्रै थिए। २०५६ मा मुलुककै कान्छो सांसद बनेर राजनीतिमा छलाङ मारेका राईले २०७४ सालसम्म आइपुग्दा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरे। समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले २०४४ सालदेखि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।