प्रेम दिवसमा पुस्तक उपहार
काठमाडौं : प्रणय दिवसको अवसरमा पुस्तक उपहार दिने चलन नचलिसकेको भए पनि प्रणय दिवसकै दिन अर्थात् १४ फेब्रुअरीमा ‘अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस’ मनाइन्छ। प्रणय दिवसको रमझम चलिरहंँदा पुस्तक उपहार दिने दिन पनि यही हो भन्ने जानकारी भने निकै कमलाई मात्र छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा धेरैलाई पुस्तक उपहार दिन्छन् तर उनलाई यो दिवसबारे भने जानकार छैनन्। ‘प्रेम दिवसलाई पुस्तक उपहार दिने दिनका रूपमा मनाउनु त राम्रो कुरा हो’, उनी भन्छन्, ‘बरु पुस्तकालय नभएका गाउँ सहरमा पुस्तकालय नै खोल्न पाए झन् राम्रो।’
झापास्थित घरमा परिवारका साथ रहेका शर्माले भ्यालेन्टाइन डे नेपालको अर्गानिक दिवस नभएको बताए। ‘अरूले रातो गुलाब साटासाट गर्दै गर्दा म भने रातो रगत दान गर्न लागेको छु’, उनले भने।
प्रणय दिवसलाई आयातित र बजारिया संस्कृतिका रूपमा व्याख्या गर्ने एउटा जमात छ भने अर्को जमात यसलाई आत्मसाथ गर्दै अघि बढिरहेको छ। राजनीतिकर्मी तथा लेखक आहुति प्रेमको कुनै दिवस नै नहुने विचार राख्छन्। उनी थप्छन्, ‘मानवीय संवेदनासँग जोडिएका चिजको व्यापार बढी हुन्छ। प्रेम पनि मान्छेको संवेदनासँग प्रत्यक्ष जोडिन्छ। प्रेम दिवसका नाममा बजारले संवेदनाको व्यापार गरेको मात्रै हो।’
तराई मधेस नेसनल काउन्सिलका संयोजक कासिन्द्र यादव पनि प्रेम दिवसको कुनै औचित्य देख्दैनन्। ‘प्रेम दिवस पनि पुँजीवादी संस्कृतिसँगै भित्रिएको चिज हो’, यादव भन्छन्, ‘आफ्ना उत्पादन बेच्नका लागि प्रेम दिवसको प्रोमोसन गरिएको हो।’
आहुति र यादव दुवैलाई पुस्तक उपहार दिवसबारे जानकारी छैन। संयोग कस्तो भने यादवले आजै मात्र तीनवटा किताब उपहार दिएका रहेछन्। यादव पुस्तक उपहार दिइरहन्छन्, तर आहुति भने बिहेमा उपहार दिए पनि अरूबेला खासै पुस्तक दिन रुचाउँदैनन्। उनी भन्छन्, ‘उपहार पाएको किताब कसैले पढ्दैनन्, यसै मिल्काउँछन्।’
कांग्रेस प्रवक्ता शर्मा भने प्रेम दिवसलाई नकारात्मक रूपमा हेर्नु जरुरी नभएको बताउँछन्। लेखक सावित्री गौतम पनि यो दिवसबारे कुनै टिप्पणी गर्दिनन्। बरू आफ्ना पाठकका लागि प्रेम दिवसमा एउटा आकर्षक लेख उपहार दिन लागेको जानकारी उनले दिइन्।
प्रेम दिवसभन्दा पनि पुस्तक उपहार दिवसकै रूपमा यो दिनलाई मनाउनु बढी प्रभावकारी हुने गौतमको निचोड छ। ‘म धेरै किताब बाँड्छु’, उनले सुनाइन्, ‘बिहे, व्रतबन्ध जे सुकै होस्, म किताब नै उपहार दिन्छु।’ किताबसँगै गहिरो प्रेम भएको बताउने गौतमलाई लिपिस्टिक, पाउडर पनि उपहार आउँछ, तर उनी त्यस्ता कस्मेटिक्स प्रयोग गर्दिनन्।
त्यसो त प्रणय दिवसको मौका पारेर प्रकाशकहरूले किताबमा अफर पनि राख्ने गर्छन्। फाइन प्रिन्ट प्रकाशनले प्रेमसम्बन्धी पुस्तकहरूमा ५० प्रतिशतसम्म छुट दिएर पाठकलाई प्रणय दिवसको उपहार दिएको निर्देशक निरज भारी बताउँछन्। फिनिक्स बुक्सले भने त्यस्तो कुनै उपहार योजना नल्याएको निर्देशक कुमार ढकालले जानकारी दिए।
अन्तर्राष्ट्रिय पुस्तक दिवसकै दिन नभए पनि दुवै प्रकाशन संस्थाले प्रशस्त पुस्तक उपहार दिने गरेका छन्। विभिन्न पुस्तकालय वा संघसंस्थाले अनुरोध गर्दा प्रशस्त किताब उपहार दिने गरेको फाइनप्रिन्टका भारी बताउँछन्। फिनिक्सले पनि त्यसैगरी पुस्तकहरू उपहार दिने गरेको ढकालको भनाइ छ।
‘दिनका लागि हामीसँग पुस्तकबाहेक अरू के नै हुन्छ र !’ भारी टिप्पणी गर्छन्। व्यक्तिगत रूपमा पनि पुस्तक नै उपहार दिने गरेको दुवैको भनाइ छ।
के तपाईंले आफूले प्रेम गरेको व्यक्तिलाई पुस्तक उपहार दिनुभयो ? दिनुभयो भने अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवसका रूपमा पनि आजको दिन सार्थक भयो।