मुख्यमन्त्रीमा त्रिलोचनको दाबी
धनगढी : माओवादी केन्द्रका तर्फबाट प्रदेश ७ का संसदीय दलका नेता त्रिलोचन भट्टले ३५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
एमालेको संसदीय दलको नेता चयनमा भइरहेको ढिलाइका कारण माओवादीले मुख्यमन्त्रीको दाबी पेस गर्न सकिरहेको थिएन। एमालेले संसदीय दलको नेता चयन नगरीकनै बुधबार आफ्ना २४ जना प्रदेश सदस्यमध्ये २१ जनाको हस्ताक्षर गरेर आफूहरूको समर्थन रहेको जनाएपछि भट्टले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष दाबी पेस गरेका हुन्।
माओवादीका स्थायी कमिटी सदस्य लेखराज भट्टसहितका एमाले र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित भट्टले बुधबार ४ बजे धनगढीको उत्तरबेहडीस्थित प्रदेश प्रमुख कार्यालय पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। प्रदेश प्रमुख मल्लले बुधबार बिहानै बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नू भन्ने आह्वान गरेपछि बुधबार नै माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी पेस गरेको हो।
एमालेका दार्चुलाबाट प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराको गाडी बिग्रिएकाले समयमै पुग्न नसकेको र अछामबाट प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर (गोविन्द) पनि पुग्न नसकेपछि २४ मध्ये २२ जनाको मात्रै हस्ताक्षर बुझाइएको एमालेका तर्फबाट डोटीबाट प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन्।
प्रदेश ७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालय तोकिएका छन्।
प्रदेश ७ मा एमालेका २४ र माओवादी केन्द्रका १४ सदस्य छन्। ५३ सदस्यीय प्रदेशसभामा एमाले र माओवादी केन्द्रको दुईतिहाई बहुमत छ। एमालेबाट सभामुख चयन भएका अर्जुनबहादुर रावलले हस्ताक्षर गर्न नमिल्ने, अछामबाट हर्कबहादुर कुँवर र दार्चुलाबाट गेल्बुसिंह बोहरा अनुपस्थित भएकाले एमालेका २१ र माओवादी केन्द्रका चारजनाको मात्रै हस्ताक्षर बुझाइएको हो। एमालेका दुवै जनाले बिहीबारसम्म प्रदेश प्रमुखको कार्यालयमा आएर हस्ताक्षर गर्ने प्रदेशसभा सदस्य तथा एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष तारालामा तामाङले बताए।
केन्द्रमा सरकार गठनअगावै पार्टी एकीकरण हुने भएकाले पनि एमालेले संसदीय दलको नेता चयन नगरी माओवादी केन्द्रका भट्टलाई समर्थन गरेको हो। वाम गठबन्धनबीच प्रदेश ६ र ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएको थियो।
‘पार्टी एकीकरण भयो भने संसदीय दल नेता चयन गर्नुको औचित्य छैन, त्यसैले पनि मुख्यमन्त्रीका लागि हस्ताक्षर गरेर समर्थन गरिएको हो’, एकजना एमाले नेताले भने, ‘केन्द्रको अवस्था हेर्दा आजभोलिमै पार्टी एकता घोषणा होलाजस्तो छ।’
अहिले प्रदेश ७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालय तोकिएका छन्। दुवै पार्टीले मन्त्रालयको भागबन्डा ७०/३० अनुपातमा गर्ने सहमति गरिसकेका छन्। मुख्यमन्त्री माओवादीको भागमा गएको र एक मात्र मन्त्रालय माओवादीले पाउने भएपछि मन्त्रालयको संख्या नौ गर्नेमा गठबन्धनबीच छलफल भइरहेको भट्टले बताए।
गठबन्धनले फागुन ५ गते मुख्यमन्त्रीको शपथलगत्तै अन्य मन्त्रीहको पनि शपथ गराउने गरी तयारी थालेको बताइएको छ। तर अहिले नै प्रदेश मन्त्रीको टुंगो भने लगाइसकिएको छैन।
प्रदेश समृद्धि प्राथमिकता
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेपछि भट्टले आफ्नो प्राथमिकता प्रदेश समृद्धि रहने बताएका छन्। ‘मेरो प्राथमिकता सुदूरपश्चिम अथवा प्रदेश ७ को समृद्धि हुनेछ’, उनले भने, ‘त्यसका लागि प्रतिबद्ध भएर लाग्नेछुु। मलाई थप जिम्मेवारीबोध बनाएको छ।’