विवादले मुख्यमन्त्री चयन कठिन

विवादले मुख्यमन्त्री चयन कठिन

सुर्खेत : प्रदेश ६ को मुख्यमन्त्री चयनमा वाम गठबन्धनलाई निकै सकस भएको छ। गठबन्धनभित्रका एमाले र माओवादी केन्द्रका आआफ्नै अडानका कारण मुख्यमन्त्री चयनमा सकस भएको हो, जसका कारण मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेससमेत हुन सकेको छैन।

दुई पार्टीबीच केन्द्रमा भएको भागबन्डाअनुसार प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाएको छ। सोही सहमतिअनुसार यसअघि नै एमालेबाट सभामुख निर्वाचित भइसकेका छन्। सभामुख चयन भएलगत्तै माओवादीले मुख्यमन्त्री चयनको कसरत सुरु गरेको थियो। तर गठबन्धनकै दल एमाले तयार नभएपछि माओवादीले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न सकेको छैन।

एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो हुनुपर्ने, मन्त्रालयको भागबन्डा र अन्य विषयमा प्याकेजमै सहमति हुनुपर्ने प्रस्ताव गरेको छ। यही विषयमा दुई दलबीच कुरा नमिलेपछि मुख्यमन्त्री चयनको प्रक्रियामा पनि विलम्ब भएको हो। बारम्बार भएका छलफल र वार्ताबाट पनि कुनै निकास नआएपछि मुख्यमन्त्री चयन अन्योलमा छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्रमा मुख्यमन्त्री चयन प्रक्रिया सुरु हुनुपर्ने संवैधानिक व्यवस्था छ। यही व्यवस्थाअनुसार बिहीबार ३० दिन पुग्दै छ। यही बाध्यताका कारण माओवादीले संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री चयन गर्न बुधबार नै बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको थियो। तर एमाले सांसदले हस्ताक्षर नगरेपछि उक्त दाबी पेस हुन सकेन।

मुख्यमन्त्री चयन सकस भएपछि निकास निकाल्न माओवादी नेता शक्तिबहादुर बस्नेत बिहीबार सुर्खेत आउँदै छन्।

माओवादीले पार्टी केन्द्रमा भएको सहमतिअनुसार अगाडि बढ्नुपर्ने भन्दै प्रदेश सरकारको नेतृत्वमा आलोपालो प्रस्ताव अस्वीकार गरेको छ। यसबारे थप निर्णय केन्द्रले नै गर्नुपर्ने माओवादी अडान छ।

एमालेले भने प्रदेशसभामा आधा हिस्सा आफ्नो रहेको र एक्लै सरकार गठन गर्न सक्ने अवस्था रहेको भन्दै पूरै अवधि माओवादीलाई नेतृत्व दिन नसकिने जानकारी दिएको छ। जनमतअनुसार आलोपालो सरकारको नेतृत्व हुनुपर्ने भन्दै एमालेले प्याकेजमा सहमति नभएसम्म मुख्यमन्त्रीका लागि माओवादीले तयार पारेको दाबीपत्रमा हस्ताक्षर नगर्ने अडान लिएको छ। दुवै दलका आआफ्नै अडानका कारण बुधबार भएको सहमतिका प्रयास पनि असफल भएका छन्। एमालेसँग सहमति हुने आशामा माओवादीले प्रदेश प्रमुखलाई बुझाउने दाबीपत्र तयार पारिसकेको छ। त्यसमा माओवादीका १३ सांसदले बुधबार नै हस्ताक्षर गरिसकेका छन्।

एमालेका सांसदलाई हस्ताक्षर गराउने प्रयास भने सफल हुन नसकेको माओवादीले जानकारी दिएको छ। सहमतिका लागि एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीच बुधबार पनि छलफल भएको थियो। तर दुवै नेताले अडान नछाडेपछि सहमति जुट्न नसकेको हो। ‘हामी हस्ताक्षर गर्न तयार छौं, माओवादीलाई मुख्यमन्त्री स्वीकार गरेकै छौं। तर पहिला सरकारको नेतृत्व गर्ने समयावधि र मन्त्रालय बाँडफाँटको टुंगो लाग्नुपर्छ’, उनले भने, ‘यस विषयमा प्याकेजमा सहमति भएपछि सरकार गठनको बाटो पनि खुल्छ।’ यस विषयमा सरकारको नेतृत्व गर्ने दलले नै बढी पहल थाल्नुपर्ने र स्पष्ट खाका ल्याउनुपर्ने उनको भनाइ छ। एमालेको प्रदेश कमिटी र प्रदेशसभा संसदीय दलको बैठकले यसअघि नै मुख्यमन्त्री छाड्न नसकिने निर्णय गरिसकेका छन्।

मुख्यमन्त्री माओवादीको भागमा परे पनि एमालेका नेता र प्रदेश सांसदले आफैंले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन्। प्रदेशसभामा एमालेका २० जना सांसद छन्। यो प्रदेशमा एमालेबाहेक सरकार गठनका लागि बहुमत पुग्दैन। मुख्यमन्त्री चयनमा सकस भएपछि निकास निकाल्न भन्दै माओवादी नेता शक्तिबहादुर बस्नेत बिहीबार सुर्खेत आउँदै छन्। एमालेले पनि अब यस विषयमा केन्द्रले नै थप निर्णय गर्नुपर्ने जानकारी दिएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार नै आफूहरू अगाडी बढ्ने एमाले नेताको भनाइ छ।

यता माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले भने बिहीबार नै मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस हुने बताए। ‘छलफल सकारात्मक बनेका छन्, हामीले हस्ताक्षर गरिसकेका छौं। अब एमालेबाट पनि हस्ताक्षर हुन्छ’, उनले भने, ‘बिहीबार दाबी पेस गर्नेछौं।’

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.