जाँदाजाँदै देउवाले ओलीमाथि गरे यस्तो कटाक्ष

जाँदाजाँदै देउवाले ओलीमाथि गरे यस्तो कटाक्ष

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीका रुपमा चौँथो कार्यकाल सम्पन्न गरी बिदा हुँदै गर्दा देउवाले संविधान कार्यान्वयनको नेतृत्व गरौँला भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवासबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले संविधानअनुसार तीन तहका निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। 'स्थानीय, प्रादेशिक र संघीय तीनै तहमा निर्वाचित निकायको गठनबाट समृद्ध नेपाल निर्माणका लागि मजवुत लोकतान्त्रिक आधारशिला निर्माण भएको' देउवाको दावी छ। सम्बोधनका क्रममा देउवाले आफूले गरेका राम्रा कामको फेहरिस्त प्रस्तुत गरेका छन्।

४९ वर्षको उमेरमा पहिलोपटक २७ भदौ २०५२ मा प्रधानमन्त्री निर्वाचित देउवा पछिल्लोपटक २३ जेठ ०७४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो सम्झौताबाट प्रधानमन्त्री चुनिएका थिए। दोस्रोपटक ११ साउन ०५८ मा प्रधानमन्त्री बनेका देउवा २१ जेठ ०६१ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए।

'बीपी कोइरालाको प्रेरणाबाट २०२२ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिँदा त्यसबेलाको युवक शेरबहादुर देउवालाई संविधानसभाबाट संविधान निर्माण गरी समृद्ध नेपाल निर्माण गर्ने बीपीको सपना पूरा गर्ने अभियानको संविधान कार्यान्वयन चरणको नेतृत्व म आफैले गरौंला भन्ने लागेको थिएन', आफ्नो युवावस्था स्मरण गर्दै देउवाले भनेका छन्, 'नेपालको अत्यन्त विकट डडेल्धुरा जिल्लामा जन्मेको, ५० वर्ष भन्दा लामो राजनीतिक यात्रामा करिब ९ वर्ष जेल जीवन बिताएको व्यक्तिका लागि यो कार्य सम्पन्न गर्न सक्नु सन्तोषको विषय भएको छ।'

'नेपाली कांग्रेसको सभापतिको हैसियतमा समावेशी राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि बाँकी जीवन समर्पित रहने' देउवाको प्रतिबद्धता छ।

देउवाले २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बनाउने कार्यमा अवरोध भएको सन्दर्भ उठाउँदै देउवाले सबैजसो राजनीतिक उथलपुथलमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको जिकिर गरेका छन्।

संविधान निर्माण प्रक्रियाबाट अलग समुदायलाई सहमतिमा ल्याइ संविधान सर्वस्वीकार्य बनाउन सबै दललाई निर्वाचनमा सहभागी गराउन आफू नेतृत्वको सरकार सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरेका छन्।  

'राजनीतिक सहमतिका साथ सबै दलहरुलाई निर्वाचनमा सहभागि गराउनु पर्ने थियो। यस्तो अवस्थामा मेरो नेतृत्वमा नयाँ सरकार गठन भयो', देउवाले सम्बोधनमा भनेका छन्, 'सबै दलहरूको सहभागितामा प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचन तथा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन सफल भयौँ।'

नाम नलिई ओलीमाथि आरोप

देउवाले जाँदाजाँदै नाम नलिइकन एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्न भ्याए। वाम गठबन्धनका तर्फबाट नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हाल्न लागेका ओलीलाई देउवाले 'राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने' भनेका छन्।

संविधान घोषणाबाट असन्तुष्ट मधेसकेन्द्रित दलहरूले संविधान संशोधन गर्न माग गर्दा एमालेकै अडानका कारण त्यो सफल भएको थिएन। ओलीले संविधान संशोधन औचित्यहीन रहेको बताउने गरेका थिए। देउवाले बिहीबारको सम्बोधनमा 'कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने' भनी ओलीको कटाक्ष गरेका छन्।

वाम गठबन्धनमाथि पनि देउवाले रोष प्रकट गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा विकास र समृद्धिलाई चुनावी नारा बनाएर वाम गठबन्धनले बहुमत ल्याएको छ। 'समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्ने' टिप्पणी देउवाको छ।

'लोकतन्त्रलाई आस्था नभई साधनको रुपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनु पर्दछ', प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ।

सम्बन्धित समाचारः


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.