पारस खड्काको सेन्चुरीले पनि नेपाल जोगिएन : युएईसँग सात रनले पराजित
काठमाडौं : कप्तान पारस खड्काको सतकीय पालीका बाबजुद नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) विश्व क्रिकेट लिग डिभिजन दुईमा दोस्रो स्थानमा रोकिएको छ। बिहिबार भएको डिभिजन दुईको फाइनल खेलमा नेपाल संयुक्त अरब ईमिरेट्स (यूएई) सँग सात रनको झिनो अन्तरले पराजित हुन पुग्यो। यो सँगै नामिबिया भने डिभिजन दुईको विजेता टोली बन्यो।
यस अघिनै पक्का गरीसकेको डिभिजन एक र क्रिकेट विश्व कपको अन्तिम चरणको छनोट प्रतियोगिताको यात्रामा भने यो खेलको नतिजाले कुनै असर पार्ने छैन। नामिबियाको वान्डेरर्स क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा चार विकेट गुमाउदै दुई सय ७७ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ७० रन मात्रै जोड्न सकेपछि पराजित हुन पुगेको हो।
लक्ष्य पछ्याउने क्रममा कप्तान पारसले सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरे पनि अन्य खेलाडीले उनलाई साथ दिन सकेनन्। पारसले एक सय तीन बलमा अविजित रहदै एक सय १२ रनको सतकीय पाली खेले। पारसले आफ्नो पालीमा आठ छक्का र तीन चौका प्रहार गरे। पारसले दीपेन्द्र सिंह ऐरी (३५) सँग मिलेर तेस्रो विकेटका लागि ७३ रन तथा शरद भेषावकर (३०) सँग मिलेर चौथो विकेटका लागि ६३ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहो¥याउने प्रयास गरेका थिए। यद्यपि उनको प्रयास सफल भएन।