ओली-देउवा दिनभर लुकामारी

ओली-देउवा दिनभर लुकामारी

काठमाडौं : एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे। ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनुहोला’, टेलिफोनमा देउवाले ओलीलाई भने। त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्बाङ देउवालाई कुरेर बसे।

केहीबेरमा देउवा आए, राष्ट्रपतिलाई राजीनामा बुझाए र एमाले नेताहरूसँग भेट नहुँदै राष्ट्रपति कार्यालयबाट बाहिरिए। ‘देउवा पुग्नुभन्दा पहिल्यै हामीले प्रधानमन्त्रीका लागि दाबीपत्र पेस गरिसकेका थियौं’, एमाले नेता नेम्बाङले अन्नपूर्णसँग भने, ‘त्यहाँ देउवाजीसँग हाम्रो भेट भएन।’

देउवा बाहिरिएलगत्तै अर्को कोठामा पुगेर राष्ट्रपति भण्डारीले ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र दिइन्। राष्ट्रपति कार्यालयमा ४ बजे शपथ गर्ने तयसँगै ओलीसहितका एमाले नेताहरू राष्ट्रपति कार्यालयबाट बाहिरिए र पार्टी कार्यालयतर्फ लागे। देउवाले राजीनामा नदिए पनि सरकार गठनमा अप्ठ्यारो नपर्ने भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा ओली नियुक्त भएको पत्र त थमायो, तर मिति गलत लेखेर। एक वर्षअघिको मिति राखेर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको पत्र थमाएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। राष्ट्रपति कार्यालयबाट बाहिरिएका ओली एमाले पार्टी कार्यालयमा पुगेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइयो।

संसदीय दलको नेता चयन भएपछि प्रधानमन्त्रीमा दाबी गर्नुपर्नेमा उल्टो भएको एकथरी एमाले नेताहरूको भनाइ छ। तर, दुई दलको समर्थनमा प्रधानमन्त्री हुन संविधानले दलको नेता नतोकाले संसदीय दलको नेता अघि वा पछि भन्ने कुराको अर्थ नहुने पूर्वसभामुख नेम्बाङले बताए। संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई पोसाकमा ध्यान दिन र ‘इमान’ मा रहन निर्देशन पनि दिए।

ओलीले पुरुष सांसदलाई दौरा सुरुवाल र महिला सांसदलाई सारी चोलो लगाउन निर्देशन दिए। विगतमा ओली संसदीय दलको नेता भएपछि एमालेका सांसदहरूलाई यस्तो निर्देशन दिइएको थियो।

ओलीले सांसदहरूलाई राष्ट्रिय झन्डा भएको लोगो लगाउन पनि निर्देशन दिएका थिए। एमाले दलको बैठकपछि ओली शपथका लागि राष्ट्रपति कार्यालय पुगेका थिए। दिउँसो ४ बजे शपथको समय निर्धारण गरिए पनि उपराष्ट्रपति नन्दबहादुर पुन आउन ढिला भएपछि शपथ समारोह एक घण्टा ढिलो भएको थियो।

शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री देउवाले कुर्सी हस्तान्तरण गर्न बिर्सेका थिए। शपथपछि प्रधानमन्त्रीको कुर्सी नयाँ आउने प्रधानमन्त्रीलाई छाडनुपर्नेमा देउवाले कुर्सी नछाडेर प्रधानमन्त्रीकै कुर्सीमा बसेका थिए। केहीबेर अलमलजस्तो देखिएपछि राष्ट्रपति कार्यालयका मर्यादापालकले देउवालाई नयाँ प्रधानमन्त्रीका लागि कुर्सी छाडन र अर्को कुर्सीमा बस्न आग्रह गरे। त्यसपछि देउवा उठे र ओलीलाई कुर्सी हस्तान्तरण गरे। त्यसअघि ओलीले कसलाई मन्त्री बनाउँछन् भन्ने अनेक अड्कल काटिएका थिए।

कसैले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने चर्चा गरेका थिए। तर, ओलीले मन्त्री नियुक्तिमा ‘सरप्राइज’ नै दिए। विगतमा मन्त्रीको राम्रो छवि बनाएका लालबाबु पण्डित र थममाया थापालाई मन्त्रीका लागि बोलाइँदा एमालेका अधिकांश नेता अचम्ममा परेका थिए। दुई मन्त्रीको नियुक्तिले एकातिर जातिय, क्षेत्रीय र भौगोलिक सन्तुलन मिलेको भन्दै शीतलनिवासमा चर्चा भयो भने अर्कोतर्फ ओलीले गुटमा पनि सन्तुलन मिलाएको चर्चा चल्यो। थममाया ओलीनिकट भए पनि पण्डित वरिष्ठ नेता माधव नेपालनिकट हुन्।

दोस्रो पटक प्रधानमन्त्रीको शपथ गर्दै गर्दा ओलीको मुहार भने केही मलिनो देखिन्थ्यो। ओलीनिकट नेताहरूका अनुसार माओवादी केन्द्रले अन्तिम समयमा आफ्नो दलबाट मन्त्री नपठाउने खबर गरेपछि ओली भित्रैबाट खुसी हुन नसकेका हुन्।

अन्नपूर्णसँग कुरा गर्दै ओलीनिकट एक नेताले भने, ‘जसरी ओलीले आज दुई जना मन्त्री नियुक्तिमा सरप्राइज दिनुभयो, त्यसैगरी माओवादीसँग सहमति गरेर पार्टी एकता र सरकार गठन गर्न सके अर्को सरप्राइज हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.