जस लिँदै बाहिरिए देउवा

जस लिँदै बाहिरिए देउवा

काठमाडौं : २३ जेठमा प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवा ८ महिनापछि बिहीबार सत्ताबाट बाहिरिएका छन्। बिहीबार बिहान देशवासीका नाउँमा सम्बोधन गरी उनले राजीनामा दिएका हुन्। सम्बोधनलगत्तै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामापत्र सुम्पेका थिए।

राजिनामा दिनुअघि देउवाले मन्त्रिपरिषद् बैठक गरेर सरकार सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। मन्त्रिपरिषद्को अन्तिम बैठकलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको सरकारले तीनै तहको निर्वाचन सम्पन्न गराएर लामो राजनीतिक संक्रमण अन्त्य गरी सही मार्गदिशामा डोर्‍याएको दाबी गरे।

बुधबार राजीनामा दिने तयारी गरेका देउवाले अन्तिम समयसम्म राष्ट्रियसभाका लागि सरकारले सिफारिस गरेको ३ जनाको नाम अनुमोदन गराउन प्रयास गरेका थिए। यसका लागि उनले बुधबार राति अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास पठाएर राष्ट्रपतिसँग परामर्श गर्न लगाएका थिए। तर, राष्ट्रपतिबाट सकारात्मक सन्देश नपाएपछि देउवाले बिहीबार राजीनामा दिएर सरकारबाट बाहिरिने निर्णय लिएका हुन्।

सम्बोधनका क्रममा देउवाले आफ्नो नेतृत्वको सरकार सफल भएको दाबी गरे। उनले भने, ‘मैलै सरकारको नेतृत्व गर्दा देशको एउटा भागमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका व्याप्त थियो, तर आफूले सरकारको नेतत्व लिएपछि तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ।’

देउवाले सरकारको नेतृत्व लिँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक चरणको स्थानीय तहको निर्वाचन गराएको थियो।

स्थानीय तह निर्वाचन बहिष्कार गरी आन्दोलन घोषणा गरेका राष्ट्रिय जनता पार्टी नेपालसँग संवाद गरी देउवाले प्रदेश २ मा असोज ३ मा स्थानीय तहको निर्वाचन गराउने निर्णय लिएका थिए।

राजपाको सहभागितासँगै निर्वाचनको माहोल देशैभर बन्यो। लगत्तै उनी नेतृत्वको सरकारले १० र २१ मंसिरमा दुई चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन गरायो। संविधान कार्यान्वयनको जिम्मेवारी आफूले निभाएको भन्दै देउवाले गर्व महसुस भएको बताए।

उनले भने, ‘बीपी कोइरालाको प्रेरणाबाट २०२२ सालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिँदा त्यसबेलाको युवकलाई संविधानसभाबाट संविधान निर्माण गरी समृद्ध नेपाल निर्माण गर्ने बीपीको सपना पूरा गर्ने अभियानको नेतृत्व आफैंले गरौंला भन्ने लागेको थिएन।’

‘नेपालको सबैभन्दा पुरानो पार्टी कांग्रेस सभापतिको हैसियतमा समावेशी राजनीति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि मेरो बाँकी जीवन समर्पित रहनेछ’, देउवाले भने।

आफ्नो नेतृत्वको सरकार गठन भएसँगै निर्वाचन आचारसंहिता लागु भइसकेकाले आफूले विकास निर्माणमा सोचेजस्तो काम गर्न नसकेको देउवाको मूल्यांकन छ।

उनले भने, ‘यद्यपि बूढीगण्डकी स्वेशी लगानीमै निर्माण गर्ने, द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिनुलगायत कैयन् महŒवपूर्ण काम पनि भएका छन्।’

देउवाले नवनियुक्त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक अडानलाई गलत भएको घुमाउरो पाराले संकेत गरे।

उनले भने, ‘लोकतन्त्रलाई साधनका रूपमा मात्र बुझ्ने, राष्ट्रिय एकताबारे संकुचित र हलुका टिप्पणी गर्ने, कुनै भेगका जनताले अधिकारको कुरा गर्दा तिनलाई राष्ट्रविरोधी देख्ने, समृद्धिको गहनतालाई अविश्वसनीय नारामा कैद गर्ने राजनीतिक अवसरवादको जमाना अब सकिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.