क्रिकेटमा सफलतासँगै चुनौती

 क्रिकेटमा सफलतासँगै चुनौती

 

आन्तरिक विवादका कारण लामो समयदेखि नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहे पनि त्यसले हाम्रा खेलाडीको आत्मविश्वास भने डग्मगाएको छैन। हाल नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा खेलाडीले गरेको अविश्वासिलो प्रदर्शन त्यसैको पछिल्लो उदाहरण हो। आईसीसीबाट घरेलु क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा त्यसको प्रत्यक्ष÷परोक्ष प्रभाव खेलाडीमा पर्नु स्वाभाविक हो।

डिभिजन २ जस्तो महत्वपूर्ण प्रतियोगिताको तयारीमा समेत त्यसको असर देखिएको यथार्थ कसैबाट लुकेको छैन। यसअघि नै एकदिवसीय विश्वकपको समेत अनुभव बटुलिसकेको क्यानडा, केन्या, संयुक्त अरब इमिरेट्सजस्ता प्रभावशाली राष्ट्र लामो समयदेखि डिभिजन २ को तयारीमा व्यस्त रहँदा क्यान निलम्बनको मारमा परेका हाम्रा खेलाडी भने घरभित्रै पनि उपयुक्त तयारीको अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता अर्को कटु यथार्थ हो।

यी विषम परिस्थिति हुँदाहुँदै पनि हाम्रा खेलाडीले नेपाली क्रिकेटको भविष्यसँग जोडिएको डिभिजन २ प्रतियोगितामा क्यान निलम्बनका कारण सृजित अप्ठ्यारो परिस्थितिको छायालार्ई आफ्नो प्रदर्शनमा हावी हुन दिएनन्। त्यसैको प्रतिफल हो, नेपाली क्रिकेट आज सफलताको यस्तो बिन्दुमा उक्लिएको छ, जहाँ उभिएर हामी उज्ज्वल भविष्यको सपना देख्न सक्ने अवस्थामा छौं।

डिभिजन १ बाट डिभिजन २ मा झरेको दुई महिनापछि नै हामी पुनः आफ्नै पौरखले डिभिजन १ मै फर्कन सफल भएका छौं। त्योभन्दा ठूलो कुरा, बुधबारको खेलमा क्यानडाजस्तो बलियो प्रतिद्वन्द्वीलाई जिल्याउँदै हामी सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान बनाउन सफल भएका छौं।

छनोट चरण पार गर्दै नेपाली क्रिकेटले एकदिवसीय क्रिकेटमा हात पारेको यो हालसम्मकै सबैभन्दा ठूलो सफलता हो। सिंगो राष्ट्रले गौरव गर्नलायक यो सफलताका लागि हाम्रा खेलाडी बधाइका पात्र भएका छन्। तर अगाडिको यात्रा अझ चुनौतीपूर्ण छ। खेलाडीको अथक परि श्रमपछि यतिबेला नेपाली क्रिकेट जुन उचाइमा पुगेको छ, त्योभन्दा अगाडि बढ्न खेलाडीको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन।

त्यसका लागि ठोस सरकारी प्रतिबद्घता त चाहिन्छ नै, सँगसँगै लामो समयदेखि आपसी स्वार्थ र आन्तरिक विवादमा अल्झिएको घरेलु क्रिकेटको नेतृत्वदायी निकाय क्यानले समेत स्पष्ट र दीर्घकालीन योजनासहित बढ्ने वातावरण बनाउन सक्नुपर्छ। त्यसका लागि आईसीसीबाट क्यानमाथि लगाइएको निलम्बन फुकुवा गराउन सबै पक्ष हातेमालो गरेर बढ्नु सबैभन्दा पहिलो सर्त हो।

खेलाडीले हासिल गर्ने सफलतामा गौरव गर्न सम्बद्घ निकायले त्यस्तो वातावरण बनाउन सक्नुपर्छ। सबैभन्दा पहिले यो दायित्वबोध सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्यानलाई नै हुनुपर्छ, अन्यथा नेपाली क्रिकेटको यात्रा भविष्यमा पनि डिभिजन १ देखि २ र पुनः २ देखि डिभिजन १ को ओहोरदोहोरमै सीमित रहने पक्का छ।

एक महिनापछि हामीले सन् २०१९ को विश्वकपका लागि अन्तिम चरणको छनोट खेल्नेछौं। पक्कै पनि आगामी मार्चमा जिम्बाब्बेमा हुने अन्तिम चरणको छनोटमा हामीले आफूभन्दा निकै शक्तिशाली प्रतिद्वन्द्वीहरूसँग सामना गर्नुपर्ने हुन्छ। अन्तिम चरणको छनोट प्रतियोगिता हाम्रा अगाडि विश्वकपको उपाधिसमेत जितिसकेको टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजसँगै जिम्बाब्बे, आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, स्कटल्यान्ड, पपुवान्युगिनी, हङकङ र यूएई तगारोका रूपमा उभिनेछन्।

विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्ड, पपुवान्युगिनी, हङकङ र यूएईमध्ये शीर्ष तीनभित्र अटाउन सके नेपालले आईसीसीबाट चार वर्षका लागि पहिलोपटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नेछ। हामीलाई अहिलेको प्रतिबद्घता, लगानी, परि श्रम र वातावरण पर्याप्त छैन। यसका लागि सबैभन्दा पहिले खेल पदाधिकारीको आपसी द्वन्द्वबाट सृजित परिस्थितिले दिने मानसिक तनावबाट खेलाडीलाई मुक्त बनाउनु आवश्यक छ। सँगसँगै खेलाडीलाई पर्याप्त सुविधा उपलब्ध गराएर निरन्तर रूपमा आन्तरिक र वैदेशिक प्रशिक्षणमा व्यस्त बनाउन सक्नुपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.