बाइक एन्ड ब्युटी
हिजोआज महिलाले मोटरसाइकल मात्रै होइन हवाईजहाज नै चलाए पनि आश्चर्य मानिन्न। तर, महिलाले प्रतिघन्टा १३५ किलोमिटरको गतिमा ठूला बाइक चलाउँदै सडकमा आफूलाई ‘दादा’ सम्झने केटाहरूलाई समेत पछाडि पारेको सुन्दा भने अनौठो लाग्न सक्छ। यति मात्रै होइन, धेरै केटाहरूले समेत देखाउन नसक्ने बाइकका स्टन्टहरू देखाएर केही महिलाले धेरैलाई चकित पार्दै आएका छन्।
बाइकर वर्षा बस्नेत रेसर हुन्। उनले बाइकको फोटोसुटसमेत गर्ने गरेकी छन्। प्रत्येक वर्ष नेपाल अटोमोबाइल स्पोर्टस् एसोसिएसनले आयोजना गर्ने रेस नारीमा उनी विजेता बनेको सातौंपटक भइसक्यो। करिब चार वर्षपहिले उनले एउटा पत्रिकामा व्यावसायिक रेसर शुभानी थापाको नाम पढेकी थिइन्।
त्यति बेला केटीहरूको पनि रेस हुँदो रहेछ भन्ने थाहा भएपछि उनले पनि पहिलोपटक होन्डा डिभा कप २०१३ मा भाग लिइन्। सो प्रतियोगितामा उनले पल्सर १५० सीसीको बाइक चलाएकी थिइन्। उनी हाल ह्विल्सको क्रसफायर २५० सीसी चलाउँछिन्। वर्षा यही बाइक चलाएर पोखरा, मुस्ताङ, लोमान्थाङ लगायतका ठाउँमा समेत पुगिसकेकी छन्।
हाल त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास विषयमा स्नातकोत्तर अध्ययनरत वर्षाले राम्रो बाटोमा प्रतिघन्टा १३५ किलोमिटरभन्दा बढी गतिमा बाइक कुदाउने गरेकी छन्। बाइकमा बसेपछि आफू केटी हो भन्नेजस्तो कहिल्यै नलाग्ने बताउँदै उनले भनिन्, ‘बाइकमा केटा बसे ठूलो, केटी बसे सानो हुँदैन। चलाउन जानेपछि केटाकेटी भन्ने नै हुँदैनजस्तो लाग्छ।’
यामाहाको एफजेड भर्सन २ बाइक चलाउने रिया हालै बाइकमै पूर्वका १४ जिल्ला घुमेर फर्केकी छन्। आफ्नो तालमा बाटोमा बाइक चलाइरहँदा कोही केटाले हेपेर पेल्न ल्याए उनले आफू पनि के कम भन्दै उसलाई त्यस्तै पाराले जवाफ दिने गरेकी छन्।
ब्रिटिस काउन्सिलले लन्डनको साउथ बैंक सेन्टरसँग मिलेर विश्वव्यापी रूपमा सञ्चालन गर्दै आएको ‘वुमेन अफ द वल्र्ड (वाउ)’ अभियानअन्र्तगत नेपालमा आगामी आइतबार ‘वाउ काठमाडौं’ हुँदैछ। यसैअन्तर्गत बाइक रेसिङमा पुरुषलाई समेत चुनौती दिनसक्ने महिलाले गत आइतबार पुल्चोकको इन्जिनियरिङ कलेज अगाडिको बाटोमा विभिन्न सामाजिक कार्यकर्ता तथा सञ्चारकर्मीलाई आफ्नो पछाडि राखेर बाइक कुदाएका थिए। तल जिन्स र माथि लेदरको ज्याकेट। आँखामा सनग्लास र टाउको ढपक्कै ढाक्ने हेल्मेट लगाएर करिब १५ जनाको समूहमा रहेका यी महिलाले ट्र्याकमा बाइक कुदाउँदा केटी हो कि केटा भनेर छुट्याउन धेरैलाई मुस्किल परेको थियो।
यसरी रेसमा भाग लिएर सबैको सातो लिनेमध्येकी रिया स्वार पनि एक हुन्। एक अन्तर्राष्ट्रिय फ्रेन्साइज कार्यक्रमका रूपमा रहेको हिमालयन रोडिजमा उत्कृष्ट ६ सम्म पुग्न सफल रियाको बाइक चलाउने सोख ५ कक्षा पढ्दादेखिकै हो। बाइकको एक्सिलेटर के हो, गियर के हो लगायतका विषयमा उनी आफ्ना केटा साथीहरूलाई सोध्ने गर्थिन्। ७ कक्षामा पुगेपछि त दाइहरूसँग बाइक मागेर उनले चलाउन सिकिसकेकी थिइन्।
बास्केटबलकी राष्ट्रिय खेलाडीसमेत रहेकी रियाले सन् २०११ को एसियन गेममा नेट बलमा सहभागिता जनाएकी थिइन्। हाल सांग्रिला स्पिरिट्स प्रालिमा बिजिनेस डेभेलपमेन्ट अफिसरका रूपमा कार्यरत उनी एक व्यावसायिक बारटेन्डरसमेत हुन्। जर्जिया विश्वविद्यालयबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक गरेकी रियाले एक वर्ष चीनमा इन्टर्नसिप गरेकी छन्। चार वर्षपहिले भएको अल नेपाल बारटेन्डर प्रतियोगितामा विजेता बनेकी रिया हाल नेपालभरका पाँचतारे होटेल, होटेल म्यानेजमेन्ट कलेज र हस्पिटालिटीसँग सम्बन्धित विद्यार्थीलाई तालिम दिन्छिन्।
अहिले रिया यामाहाको एफजेड भर्सन २ बाइक चलाइरहेकी छन्। यही बाइक लिएर उनी हालै पूर्वका १४ वटा जिल्ला घुमेर फर्केकी छन्। आफ्नो तालमा बाटोमा बाइक चलाइरहँदा कोही केटाले हेपेर पेल्न ल्याए आफू पनि के कम भन्दै उसलाई त्यस्तै पाराले जवाफ दिने उनले बताइन्।
शिवा सिंह ठकुरी र नाहा भट्टराई पनि रेसर हुन्। शिवाले कहिले यामाहाको सजेर त कहिले बजाजको एभेन्जर चलाउँछिन्। बाइक चलाउन थालेको भर्खर ६ महिना भए पनि नाहालाई क्रस एक्स कुदाउँदा रमाइलो लाग्छ। शिवा पनि रेस नारी नामक बाइक रेसमा भाग लिएर चौथो भएकी थिइन्। प्लस टु पास गर्नासाथ बाइक चलाउन थालेकी शिवाले ठूला बाइक चलाएको पनि सात वर्ष भइसक्यो। रेसको ट्र्याकमा जति नै गतिमा बाइक चलाए पनि सडकमा भने आफ्नो सन्तुलनमा रहने गरी नै चलाउनु उचित ठान्छिन् उनी। त्यसैले बाइकमा चढेपछि कहिल्यै पनि प्रतिघन्टा ८०÷९० किलोमिटरभन्दा बढीको गतिमा चलाउँदिनन्।
सोसियल वर्कमा स्नातकोत्तर पूरा गरेकी शिवा पहिले पाटनस्थित मानसिक अस्पतालमा काम गर्थिन्। अहिले भने उनी एउटा कलेजमा पढाउनुका साथै विभिन्न गैरसरकारी संस्थाहरूमा स्वयंसेवक छिन्। आफूले एभेन्जर चलाएर हिँड्दा धेरैले ‘वाउ’ भनेको सुन्दा उनलाई पनि निकै खुसी लाग्छ। यो समाजमा केटीले यो गर्नु हुन्छ, यो गर्नु हुँदैन भनेर तोकिदिएको सीमालाई तोड्न चाहने शिवाले भनिन्, ‘यो स्टेरोटाइपलाई हामीले नै हटाउँदै जानुपर्छ।’
बाइकको रेसभन्दा पनि आर्जु सिंह ठकुरीको बाइक स्टन्टले धेरैलाई चकित पार्नसक्छ। उनी नेपालकै पहिलो स्टन्ट राइडर हुन्। गत वर्ष आयोजना भएको राष्ट्रिय स्टन्ट ब्याटलमा उनी विजेता बनेकी थिइन्। त्यसैगरी रेस नारीमा भाग लिएर दोस्रो भएपछि उनले थाइल्यान्डमा भएको एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएकी थिइन्। यसरी छोरी भएर पनि अन्तर्राष्ट्रिय ट्र्याकमा बाइक कुदाउन पाउँदा आफूलाई निकै गर्व महसुस भएको उनले बताइन्।
बाइक कुदाउनेसम्बन्धी पहिलो टेलिभिजन रियालिटी सो पल्सर डेर भेन्चर सिजन ३ मा सहभागी भएर उनी उत्कृष्ट चारसम्म पुग्न सफल भएकी थिइन्। त्यति बेला उनी बाटोमा पर्ने विभिन्न बाधा, अवरोध पन्छाउँदै प्रतिस्पर्धी अन्य केटाहरूसँगै बाइकमै मनाङ पुगेर फर्केकी थिइन्।
भक्तपुरमा आफ्नै केटा साथीहरूसँग बाइक चलाउन सिकेकी आर्जुलाई राम्ररी सिक्न झन्डै तीन महिना लाग्यो। बाइक चलाउन र स्टन्ट गर्न सिक्दा वरिपरि सबै केटैकेटा, अनि उनी भने एक्लै हुन्थिन्। धेरैपटक लड्थिन्, अरूका अगाडि धेरै असहज अनुभव हुन्थ्यो। तर पनि उनले सिक्न भने छाडिनन्। लड्दा लागेको चोटले खुट्टाभरि दागैदाग छ।
तर यो कला सिकेर केटाहरूले जस्तै स्टन्ट देखाउँछु भन्ने दृढ आत्मविश्वासले उनी डटिरहिन्। अहिले बेलाबेलामा भृकुटीमण्डपमा हुने स्टन्ट सोमा उनले स्टन्ट देखाउने गरेकी छन्। एउटा स्टन्ट सोका लागि उनले पाँचदेखि १५ हजार रुपैयाँसम्म लिने गरेकी छन्।
स्टन्टका लागि आर्जुले प्रयोग गर्ने बाइक एफजेड हो भने नियमित चलाउने बाइक केटीएम आरसी ३९० हो। स्टन्टका क्रममा बाइक उडाउन मज्जा मान्ने आर्जु राम्रो बाटोमा १२५ देखि १३० किलोमिटरको गतिमा चलाउँछिन्। बाटोमा असभ्य तरिकाले बाइक चलाउँदा आफ्नो ज्यान मात्रै नभई अरूको ज्यानलाई पनि खतरा हुने भएकाले सबैलाई सडक अनुशासन पालना गर्न उनी सुझाव दिन्छिन्।