संगीतका 'नयाँ साथी'
काभ्रे, तेमालकी संगीता रायमाझी (१९) टीका लगाउँदा जम्मा भएको १० हजार बोकेर काठमाडौं छिरिन्, गीत रेकर्ड गर्ने ठूलो सपना बोकेर। अडियो नेपाल स्टुडियोका बुद्ध सायमी उनका लागि ‘भगवान्’ जसरी भेटिए। पहिलोपटक गीत गाउन लगाए उनले। ‘तिमी मेरो साथी बोल’को गीत गाएर सुनाइन् उनले। त्यही स्टुडियोमा गीत गाउन आएका अर्का गायक रमेश राईले उनको अर्को गीत १५ हजार रुपैयाँमा किनिदिने सहमति गरे। त्यो नै संगीताले गीत लेखेर कमाएको पहिलो कमाइ थियो।
उनले गाएको गीत उनकै शब्दमा लेखिएको थियो। उक्त गीतको कम्पोज पनि उनी आफैंले गरेकी थिइन्। यो बीचमा उनले संगीतका क्लास पनि सुरु गरिन्। पहिलो गीत गाएको २० दिनमै भिडियो सार्वजनिक भयो। पहिलो गीत गाएको दुई महिनापछि सायमीले उनलाई एउटा गीतको कोरस गाउन बोलाए। अहिले उनले दिनमै चारदेखि पाँचवटा गीतमा कोरस गाउने गर्छिन्। एउटा गीतको कोरस गाउँदा एक हजार रुपैयाँभन्दा बढी लिने गरेकी छन्। गाएरै महिनामा करिब २० देखि ३० हजार रुपैयाँ कमाउँछिन्।
६०/७० जति गीत रेकर्ड गराइसकेकी संगीता दर्जनजति गीत आफ्नै शब्दमा आफैंले कम्पोज गरेकी छन्। उनको पहिलो कलेक्सन एल्बम ‘मेरो यस्तो साथी’ विमोचनका लागि तयार छ। यसमा उनका सातवटा गीत छन्। ‘कमिलाको ताँती’ बोलको गीत नेपाल आइडलका प्रकाश दास र उनको स्वरमा रहेको छ। तिम्रो कसम, म त मरिदिन्छु, हावाहुरी चलेपछि, हामी गोर्खाली बोलका गीतहरू समावेश छन्।
गायन क्षेत्रमा नयाँ कलाकारलाई टिक्न गाह्रो भएको सुनाउँछिन् उनी। स्टुडियोले विश्वास गर्दैनन्। पैसा भएका र क्षमता नभएकाहरू पनि त्यसै हिट बनाइदिने उनको गुनासो छ।
घिसिङको संगीतमोह
‘तिमी झन् आगो बन्नु लक्ष्य नपुग्दै म ढलेछु भने’, ‘काँडाहरूको बीचमा हाँसेर फूल फुल्छ’ आदि बोलका प्रगतिशील गीत गाउँदागाउँदै गायन क्षेत्रमा जमिसकेको पत्तै पाइनन्, निर्मला घिसिङ (२६) ले। मकवानपुर फापरबारीकी उनी अब त गायनबिना जिन्दगीको कल्पनै गर्न नसक्ने बताउँछिन्।
गायनमा आउन चाहनेहरूको गुनासो छ, ‘मिडियाले नयाँलाई अवसर दिँदैनन्। गलत नियतका मान्छेले अवसर दिने बहानामा यौनशोषण पनि गर्न खोज्छन्। सही मान्छे भेट्टाउन निकै गाह्रो छ।’
२०५९ सालदेखि नै सांगीतिक क्षेत्रमा लागेकी उनी करिब एक दशक त प्रगतिशील गीत गाउँदै जनताका बीचमा पुगिन्। उनको ‘आस्थाका स्वरहरू’ नामक कलेक्सन एल्बम २०६४ सालमा नै बजारमा आयो। उनले प्रगतिशील गीत गाएको पैसा भने लिने गरेकी छैनन्। २०७२ सालमा ‘रहर’ र २०७३ सालमा ‘खबर’ सोलो एल्बम बजारमा ल्याएकी छन् उनले।
गीत गाएर बेग्लै सम्मान र इज्जत पाएको उनको अनुभव छ। उनले ‘सिरिरिरि हावा चल्यो’ बोलको गीतको भिडियो भर्खरै मात्र सार्वजनिक गरेकी छन्। यो गीतबाट अत्यन्तै राम्रो रेस्पोन्स आएकोमा उनी दंग छिन्। यो गीत अपलोड भएको दुई घन्टामा ७५ हजारले हेरेका थिए। ‘कसले बनायो दाजै उडी जाने बस’ बोलको गीतले उनलाई सांगीतिक आकाशमा चिनायो। यो गीत नेत्रविक्रम चन्दले लेखेका थिए।
स्कुल पढ्दादेखि नै अत्यन्त सिर्जनशील थिइन् उनी। स्कुलमा पढ्दा पनि गीत गाउँथिन्। सन् २०१२ मा उपत्यकास्तरीय उपत्यका सिंगिङ स्टारमा दोस्रो स्थान हासिल गरेकी थिइन् उनले। यो नै उनको पहिलो पुरस्कार थियो। यसले थप अगाडि बढ्न हौसला भयो। करिब एक सय ५० गीतमा आवाज दिइसकेकी निर्मलाले दुई दर्जन तामाङ गीत पनि गाइसकेकी छन्।
गीत सुनाउँदै नेपालका धेरैजसो जिल्ला अनि यूके, हङकङ, जापान, पुगिसकेकी छन् उनी। नयाँ गायिकालाई अप्ठ्यारोका साथै अवसर पनि भएको बताउने उनको गुनासो पनि छ, ‘मिडियाले नयाँलाई अवसर दिन खोज्दैनन्। गलत नियतका मान्छेले अवसर दिने बहानामा यौनशोषण पनि गर्न खोज्छन्। सही मान्छे भेट्टाउन निकै गाह्रो छ।’
एउटा एल्बम निकाल्न दुई लाख रुपैयाँभन्दा बढी खर्च हुने भएकाले आफ्नै खर्चमा एल्बम निकाल्न निकै गाह्रो भएको उनी बताउँछिन्। ५÷६ वर्षसम्म लगातार शास्त्रीय संगीत सिकेकी उनी गुरुहरूको पर्फेक्ट सिकाइले नै यहाँसम्म पुगेको बताउँछिन्।
रकिङ गीतमा बबिना
भनिन्छ, खोटाङमा कि त कवि, कि गायक नभएको घर नै हँुदैन रे। बुवा जसराज किराती नै नाम चलेका साहित्यकार भएपछि बुइपा, खोटाङकी बबिना किराती (२५) रकिङ गीतमा छुट्टै पहिचान बनाउने प्रयासमा छिन्। १६ सन्तानमध्ये कान्छी छोरी उनी सानैदेखि नाच्न र गीत गाउन रुचि राख्थिन्। गाउँमा प्लस टु सकेर २०६८ मा काठमाडांै आइन् र संगीतमा भिजिन्।
उनले ‘शान्तिले मात्र पुग्दैन’ बोलको राष्ट्रिय भावनाको गीत गाएर सांगीतिक यात्रा सुरु गरेकी हुन्। हालै ‘मर्निङ’ एल्बम विमोचन गरेकी उनी चाँडै कार्यक्रममा कोरिया जाने तयारीमा छिन्। यो एल्बमको पूर्वेली मारुनी गीत ‘माथिमाथि हिमाली भेगैमा’ बोलको गीत उनी आफैंलाई मन पर्ने गीत हो। त्यस्तै मेरो साइँला, टाढा थिएजस्ता लोक फ्युजन गीत पनि समावेश छ यसमा। आइटम सङ ‘मट्टीमाला’ र ‘झुमी झुमी’मा पनि उनले आवाज दिएकी छन्। यसका अलावा करिब २५ वटा सोलो गीत गाइसकेकी छन्।
सांगीतिक क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा छ। एल्बम बिक्री फिटिक्कै हुँदैन। पाइरेसी र रोयल्टीको नियम कार्यान्वयनमा छैन। देशविदेशमा प्रशस्तै सांगीतिक कार्यक्रम हुन्छ तर त्यहाँ लिंक हुनेले मात्र अवसर पाउने अवस्था छ। उनको बुझाइमा स्वर भएको तर पैसा नहुने र सामाजिक सञ्जालमा पहुँच नहुनेका लागि यो क्षेत्र ‘आकाशको फल’ सरी रहेको छ। यस्तो हुँदाहुँदै पनि धेरै नयाँ कलाकार निरन्तर संघर्ष गरिरहेका छन्।