क्याफेमा चित्रकला
त्रिपुरेश्वरस्थित ब्लुबर्ड डिपार्टमेन्ट स्टोरको मूल गेट छिरेपछि पूर्वपट्टि एउटा सानो क्याफे देखिन्छ, ‘द आर्ट क्याफे।’क्याफेभित्र छिरेपछि यो कुनै आर्ट ग्यालरीझैं देखिन्छ। किनकि भित्ताभरि लहरै टाँगिएका छन् विभिन्न चित्र। क्याफेका सञ्चालक सुदीप आलेमगर (३०) चित्रकार पनि हुन्। आफ्ना पेन्टिङ बेच्न उनले खोलेका हुन् ‘द आर्ट क्याफे।’ मगरको दाबी छ, ‘चित्रकार स्वयंले आफ्नो कला प्रवद्र्धनका लागि यसरी क्याफे सञ्चालन गरेको राजधानीमा पहिलोपटक हो।’ भन्छन्, ‘केही क्याफेमा बेच्न एकाध चित्र टााँगिएका छन् तर ती क्याफे सञ्चालकको नभई अरूका नै पेन्टिङ हुन्।’
मगर सानैदेखि चित्र बनाउन सोखिन थिए। क्याफेमा टाँगिएका चित्र पहाडी जनजीवनको घर, वसन्तपुर दरबार, बालबालिकाका मुहार चित्रलगायत छन्। उनले फाइन आर्ट विषय पढेनन्। सिनियर आर्टिस्टका चित्र नियालेर अनि युट्युबमा पेन्टिङ गरेको भिडियो हेरेर आफ्नो कलायात्रा अघि बढाए।
यसै वर्ष मगरले दुईवटा चित्रकला प्रर्दशनीमा भाग लिए। पहिलो थियो, भूकम्पपीडितको मनोदशा झल्काउन वाटर कलर सोसाइटीले अनलाइनमार्फत आयोजना गरेको खुला चित्रकला प्रतियोगिता। यसमा हनुमानढोका दरबार क्षेत्र चित्रण गरिएको उनको पेन्टिङ टप १५ मा छनोट भयो।
क्याफेमा खाजा खान पस्नेहरू चित्र देख्नेबित्तिकै त्यसबारे जिज्ञासा राख्छन् र त्यसमध्ये केहीले चित्र बनाउन अर्डर पनि दिन्छन्। प्रायःले आफ्नो या परिवारका सदस्यका मुहारचित्र बनाउन अर्डर दिने गरेका छन्। कम्तीमा तीन हजार पाँच सय रुपैयाँ उनको एउटा चित्रको मोल छ। उनले आफ्नो नामबाट फेसबुक पेज बनाएका छन्, ‘आले सुदीप्स् वाटर कलर फेसबुक पेज।’ यही वालबाट पनि उनलाई चित्र बनाउन अर्डर आउँछ। उनले क्याफेबाटै तीन दर्जनभन्दा बढी चित्र बेचिसकेका छन्।
मगरले चित्र बेचेको रकम लागूऔषध दुव्र्यसनमा फँसेका युवाहरूको उद्धारमा लगाएका छन्। धापाखेल, ललितपुरका मगरले माउन्ट मकालु स्कुल भैंसेपाटीबाट एसएलसी गरे। जनस्वास्थ्य विषयमा एमभीपीएच गरेका उनको चित्रकारिता मोह बीचमा पढाइ अनि संगीतले खायो। बीचमा सेभ द चिल्ड्रेनको जगिरमा आबद्ध भए। त्यसमा नेपाल परिवार नियोजन संघको सहकार्यमा भएको परियोजनाका लागि उनले थुप्रै पोस्टर बनाए। भन्छन्, ‘म अर्कै प्रोजेक्टमा थिएँ। पोस्टरका लागि चित्र बनाएको छुट्टै पैसा त पाइएन तर यसले मेरो पेन्टिङमा निखार ल्याउन मद्दत गर्यो।’
उनले चितवनका विभिन्न कलेजमा जनस्वास्थ्य विषय पढाए। त्यहाँ खाली रहेको समयमा पेन्टिङ कोरेर बसे। मगर अहिले सरकारी जागिरे छन्। टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा जनस्वास्थ्य अधिकृत छन् उनी। तर, पेन्टिङको मोह छुटेको छैन। त्यसैले त सोखका रूपमा रहेको चित्रकलालाई व्यवसायकै रूपमा लगाउन अघि बढेका छन्। क्याफेको व्यवस्थापन हाल उनका बुवा केशव आलेमगरले सम्हालेका छन्।
चित्र मन पराउने ग्राहकलाई उनले छोरासँग फोनमा कुरा गर्न लगाइदिन्छन्। साँझबिहान अनि बिदाको दिनको सदुपयोग सुदीपले चित्र बनाएरै बिताउँछन्। घरपरिवारका सदस्यसँग कुराकानी पनि नगरेर चित्रमा एकोहोरिएको देख्दा उनका अभिभावकलाई कहिलेकाहीँ झिँजो पनि लाग्छ। उता सुदीपको एकवर्षे छोरो अहिले नै चित्र कोरिरहेको कुची समाउन आइपुग्छ। छोरो सुतेको बेला कोर्छन् उनी चित्र।
चित्रकलामा वाटरकलर सबैभन्दा गाह्रो विधा मानिन्छ। तर, सुदीप प्रायः यही कलर चलाउँछन्। उनी आफ्नो प्रेरणाको स्रोत कलाकार एनबी गुरुङ र डी राम पाल्पालीलाई मान्छन्।