जय शम्भो
हिन्दु धर्मालम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउने महाशिवरात्रीको रौनक सकिएको छ। तर महाशिवरात्रीको मेला भर्न स्वदेश तथा विदेशबाट पशुपत क्षेत्रमा आएका साधुसन्त, जोगी तथा बाबाहरुको भिड अझै पातलिएको छैन। महाशिवरात्रीको अवसरमा पशुपत क्षेत्रमा आउने यी थरिथरिका बाबाजीहरु नै यस पर्वका मुख्य आकर्षण हुन्। देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनहरुको घुइँचो लाग्ने भए पनि पशुपत क्षेत्रको रौनक यी नै बाबाजीहरुले बढाएका हुन्छन्।
जटाधारी लामालामा विसंगत केश, निधारमा रातो पहेँलो अबिर र शरीरभरी विगुत धसेका छन्। एक हातमा लठ्ठीसंगै पोका पन्तुरा र अर्को हातले गाँजा तान्दै मुख र नाकबाट निस्किएका धुवाँ हावामा सोखले उडाउँछन्। जय शम्भो जप्दै पशुपत क्षेत्र प्राङगणभित्र र बाहिर ओहोदोहोर गरिरहन्छन्। बाबाजीहरुको यस्तो अवतारले विनाश र संहारका शक्तिको रुपमा मानिने भगवान शिवले जस्तै शरीरमा खरानी घस्नु र शिवजस्तै बन्नुले सांसारिक सुखबाट मुक्त रहेको संकेत गर्छ।
७० वर्षभन्दा माथिका देवदास मण्डल (नाम परिवर्तन) रातो वस्त्रमा पशुपतिको उत्तर ढोका बाहिर भिक्षा माग्दै बसेका थिए। मुख्यतया शिवरात्रीको मेला भर्न काठमाडौं आएको बताउने उनी सपरिवार यतिखेर पशुपत क्षेत्रमै छन्। अगाडिका सबै दाँत फुक्लिसकेका ती बाबा अलि अस्वस्थ जस्तो देखिन्थे। शिवरात्रीका लागि उनी भारतको कलकत्ताको कालीघाटदेखि आएका थिए।
हिन्दू धर्मावलम्बीहरूका आराध्यदेव पशुपति नाथको मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको ध्यान खिच्न सक्ने यी बाबाजीहरु एकाएक कहाँबाट ओइरिन्छन् ? पत्तो हुन्न तर फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा बाबाजीहरुको उपस्थिति अनिवार्यजस्तै मानिन्छ।
खडे बाबा, बडे बाबा, त्रिकालदर्शी बाबा, मौसमी बाबा, प्रोफेसनल बाबा थरीथरीका बाबालाई पशुपति परिसरमा शिवरात्री सकिए पनि देख्न सकिन्छ।
पशुपतिमा वयस्क उमेर ढल्किसकेका बाबाजीहरुमात्र होइन, तिनीहरुका ससाना भुराभुरी पनि संगै आएको देख्न सकिन्छ। पशुपति परिसरमा घुम्ने क्रममा एक १० वर्षका, पातलो शरीर र पातलै लुगा लगाएका प्रिन्तु नामका बालक भेटिए। उनी आफ्ना बुबा र दाईको साथमा काठमाडौं आएका रहेछन्। ‘भिक्षा भिक्षा’ भन्दै सानो पित्तलको भाँडो जस्तो बोकेर पशुपति आउने जानेको छेउ छेउ पुगेर भिक्षा माग्दै थिए।
शिवरात्रीमा आएका बाबाजीहरुका थरिथरिका पहिरन, अनुहार र शरीरभरि पोतिएका खरानी, अविर र विभिन्न रङ्गले यी बाबाजीहरुले आफूलाई अन्यभन्दा फरक देखाउन निकै मिहिनेत गरेको देखिन्छ। फोटो पत्रकारको क्यामेरा र पर्यटकका मोबाइलहरुमा भिडियो र फोटोमा आफूलाई नै उतारुन् भन्ने शैलीमा यी बाबाहरुले छिनछिनमै आफ्नो पोज परिवर्तन गर्दै बस्छन्। पशुपत क्षेत्रमा यी बाबाजीहरुको क्रियाकलाप र आवरणलाई हेर्ने हो भने यिनीहरु कुनै पौराणिक कथामा आधारित चलचित्रको सुटिङमा आ-आफ्नो भूमिकामा छन् जस्तो लाग्छ।
विशेष गरी नेपाल, भारत, बंगलादेश, कश्मीर र श्रीलंकामा शिवरात्री धुमधामसंग मनाइन्छ। शिवरात्री पर्वको पूर्वसन्ध्यामा विश्वका हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको पवित्र पाशुपत क्षेत्रमा सयौं साधु र नागा बाबाहरु धुनी जगाएर बस्छन्। धुनी जगाएर बस्ने बाबाजीहरुले शिवजीको बुटी गाँजा सेवन गर्छन् र आफ्नै सुरमा मग्न रहन्छन्। शिवरात्रीका दिन पशुपत क्षेत्रमा बाबाजीहरुको क, ख र ग वर्गिकरण पनि हुने गरेको छ।
प्रायः भजनकृतनमा संलग्न देखिने बाबाजीहरुले गाँजाको व्यापार भने खुलेआम गरेको देखिन्छ। भाङ धतुरोलाई शिवजीको प्रसाद मानिने भएकोले पनि यस दिन पुलिस प्रशासन मौन रहन्छन्। केही बाबाजीहरु शिव देवलको पछाडिपट्टि बसेर आउने जाने युवाहरुलाई भाङ्को सर्को तान्न लगाइरहेका थिए।
एक सर्को तानेको ७० रुपैँयासम्म लिएको पनि देखियो। ‘जय शम्भो’ भन्दै ती बाबाहरु विशेषगरी विदेशी पर्यटकलाई आफूतिर आकर्षित गर्न खोज्थे। कोही पूर्ण रुपमा शिवजीको जस्तै वस्त्र लगाएर आएका बाबाजीहरु पनि भेटिए। कोही डमरु बजाउँदै चुपचाप आफ्नै धुनमा देखिन्थे भने कोही दानमा आएको पैसा र चामलको भारी थन्काउनमा व्यस्त देखिन्थे।
सयौंको संख्यामा आउने यी बाबाजीहरुको लवाइ खवाइ र पहिरनमा पनि समय अनुसारको परिवर्तन देखियो। कोही कालो चस्मा ढल्काएर बसेका थिए भने कोही पहेँलो वस्त्रमाथि कोट लगाएर जाडो छल्दै थिए।
कतिपय बाबाजीहरु हात हेरेर भविष्य बताउन व्यस्त देखिन्थे त कतिपय आर्शीवाद दिँदै टीका लगाइदिन व्यस्त थिए। कतिपय अग्रज बाबाहरुले युवासाधु तथा बाबाजीहरुको भड्किलो क्रियाकलाप गर्नबाट रोक्न र सालिन अनि सभ्य रहन पाठ सिकाएको पनि पाइयो।
शिवरात्रीकै लागि आएका प्रेम गोसाई नामका एक साधु भारतको इलाहावादबाट हरेक साल शिवरात्रीमा भिक्षा माग्न आउने गरेको बताउँछन्। उनी विगत ८ वर्षदेखि पशुपतिमा शिवरात्रीको समयमा आउन थालेका हुन्।
स्वदेश तथा विदेशबाट आएका यी बाबाजीहरुलाई विहानदेखि बेलुकीसम्म खाना र खाजा खुवाउन थुप्रै भक्तजनहरु शिवरात्रीभरी दानपुण्यमा लागेको देखियो। शिवरात्रीमा आउने जाने भक्तजनको सुरक्षाको लागि ७ हजार सुरक्षाकर्मी परिचालित थिए।
शिवरात्रीकै दिन भगवान शिवको ज्योतिर्लिंगको उत्पति भएकाले शिवरात्रीको अघिल्लो दिनसम्म पनि निकै सालीन स्वभावमा देखिने बाबाजीहरु शिवरात्रीमा भने शरीरभरी विगुत घसेर नाङ्गै बस्न रुचाउँछन्।
पुरुष भक्तजनभन्दा पनि आउने जाने विदेशी तथा महिला भक्तजनहरुलाई आफूतिर आकर्षित गर्न खोज्छन्। खडे बाबा, बडे बाबा, त्रिकालदर्शी बाबा, मौसमी बाबा, प्रोफेसनल बाबा थरी थरीका बाबाहरुलाई पशुपति परिसरमा शिवरात्री सकिए पनि देख्न सकिन्छ। गुठी संस्थानबाट पाइने सिधाको आशामा पनि उनीहरुको बसाइ लम्बिन्छ।