प्रदेश २ को उपसभामुखमा उपमाकुमारी निर्विरोध
जनकपुरधाम : प्रदेश नम्बर २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी प्रदेशसभा सदस्य उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छिन्।शुक्रबार बसेको प्रदेशसभाको बैठकले उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
सभामुख सरोज यादवले बैठकमा सर्वप्रथम प्रदेश प्रमुखबाट प्राप्त मुख्यमन्त्री नियुक्तिसम्बन्धी पत्र पढेर सुनाएका थिए।त्यसपछि सभामुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद गठनसम्बन्धी पत्र पढेर सदनमा सुनाउँदै बैठक अघि बढाएका थिए।
देवलाई उपसभामुखमा निर्वाचित गर्न फोरमका सांसद ज्ञानेन्द्रकुमार यादवले प्रस्ताव गरेका थिए भने राजपाकी सांसद सुरिता साहले समर्थन गरेपछि उनी निर्वाचित भएको घोषणा गरिएको हो
उपसभामुख देव सप्तरी जिल्लाबाट समानुपातिकमा सांसद हुन्।बिहीबार उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधिभित्र देवको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्।
प्रदेशसभाको सभामुखमा राजपाका सरोजकुमार यादव यसअघि निर्वाचित भएका हुन्।सभामुखमा पुरुष भएको हुनाले संवैधानिक व्यवस्था अनुसार फरक दलबाट महिला उपसभामुखमा रहने प्रावधान छ। राजपाले सभामुख र फोरमले उपसभामुख पद बाँडफाँड गरेको हो।