ऊर्जामन्त्री हुँदा कोट र पाइन्टमा शपथ लिएका शाही मुख्यमन्त्री हुँदा दौरा सुरुवालमा सजिए

ऊर्जामन्त्री हुँदा कोट र पाइन्टमा शपथ लिएका शाही मुख्यमन्त्री हुँदा दौरा सुरुवालमा सजिए

सुर्खेत : माओवादीका अधिकांश नेताले औपचारिक पोसाकमा कोट र पाइन्ट नै रोज्दै आएका छन्। विगतमा माओवादी मन्त्रीहरूले दौरा र सुरुवालमा शपथ नलिँदा चर्चाको विषय नै बन्यो। तर, प्रदेश ६ को मुख्यमन्त्री बनेपछि माओवादी नेता महेन्द्रबहादुर शाहीले भने पहिलो पटक दौरा र सुरुवालमा सजिएर पद तथा गोपनीयताको शपथ लिएका छन्। यसअघि ऊर्जामन्त्री हुँदा उनले कोट र पाइन्टमै शपथ लिएका थिए।

औपचारिक पोसाकमा कोट र पाइन्ट नै रोज्दै आएका शाही शुक्रबार भने एकाएक दौरा र सुरुवालमा देखिए। वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाहीलाई दौरा, सुरुवाल, कोट र ढाकाटोपीमा सजिएको देखेपछि माओवादी कार्यकर्ताहरू आश्चर्यमा परे। माओवादी कार्यकर्ताहरू मात्र होइन, उपस्थित सबैको ध्यान मुख्यमन्त्री शाहीको पोसाकमै केन्द्रित भयो। एकाएक दौरा र सुरुवालमा सजिएर मुख्यमन्त्री शाहीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन्। नवनियुक्त मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले शपथ दिलाएका थिए।

बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका शाहीले शपथ ग्रहणसँगै आफ्नो पदभारसमेत सम्हालेका छन्। शपथलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनले यो प्रदेश स्थापनाको क्रममा सुर्खेत र जुम्लामा मारिएका चार सहिदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तस्बिरमा माल्यार्पण गरेका थिए। आफ्नो पदभार ग्रहणपछि मुख्यमन्त्री शाहीले प्रदेश ६ को समृद्धिका लागि विशेष गुरुयोजना निर्माण गर्ने बताए। सबैभन्दा पछाडि स्थापना भएको प्रदेश ६ को समृद्धिका लागि प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गर्ने उनले बताए। शुक्रबारै वाम गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्ने भने पनि त्यसो हुन नसकेपछि मुख्यमन्त्री शाहीले मात्र शपथ लिएका हुन्।

‘आजै(शुक्रबार) सबै मन्त्रीसहित शपथ लिने योजना थियो, तर त्यो सम्भव भएन’, मुख्यमन्त्री शाहीले भने, ‘आइतबार मन्त्रिपरिषद् विस्तार हुनेछ, त्यसपछि पहिलो बैठक बसेर सरकारका प्राथमिकता सार्वजनिक गर्नेछौं।’

आन्दोलनबाट स्थापना भएको प्रदेश ६ को विकास र समृद्धिका लागि धेरै चुनौती रहेको उनको भनाइ छ। तर प्रदेश समृद्धिका लागि सबैसँग हातेमालो गरेर सम्भावनाहरूको खोजी गर्ने पनि उनले बताए। विकास र समृद्धिको सम्भाव्यता अध्ययन गरेर यो प्रदेशलाई अभाव र गरिबीबाट मुक्त गर्ने उनले दाबीसाथ बताए। उनले अब प्रदेश अनुदान र दाताको भरमा मात्र सञ्चालन हुन नसक्ने भन्दै आत्मनिर्भरताका लागि सरकारले काम गर्ने जनाए।

रुकुमबाट निर्वाचित सांसद विमला केसी शुक्रबार प्रदेशसभा भवनमा साथीहरूसँग व्यस्त थिइन्। सोही क्रममा एक्कासि उनको मोबाइलमा घण्टी बज्यो। फोनमा सन्देश आयो, ‘तत्काल नयाँ पोसाक लगाएर प्रदेश प्रमुखको कार्यालयमा आउनुहोला।’

उक्त सन्देशपछि सांसद केसी केहीबेर अलमलमा परिन्। माओवादी नेता शक्तिबहादुर बस्नेतले मन्त्रीको शपथका लागि तयार हुन भनेपछि उनी हतारमा नयाँ पोसाकमा सजिएर प्रदेश प्रमुख कार्यालय पुगिन्। तर, उनले शुक्रबार मन्त्रीको शपथ लिन पाइनन्। प्रदेश प्रमुखको कार्यालयको गेटभित्र पस्दा उनको अनुहारमा खुसी थिएन। मन्त्रीको शपथ लिन नपाएपछि उनी निराश भएर फिर्ता भइन्।

जुम्लाबाट निर्वाचित माओवादी सांसद नरेश भण्डारी पनि कोट र पाइन्टमा सजिएर मन्त्रीको शपथ लिन पुगेका थिए। तर, उनले पनि शपथ लिन पाएनन्। माओवादीले आफ्नो भागमा परेका दुई जना मन्त्रीको शपथ खुवाउने तयारी गरेको थियो। तर, वाम गठबन्धनको दल एमालेले अन्तिम समयमा आएर मन्त्रीहरूको शपथ गराउन नमानेपछि माओवादीका मन्त्रीहरूको पनि शुक्रबार शपथ हुन सकेन।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीसहित सातै जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेको थियो। प्रदेश प्रमुखको कार्यालयका एक कर्मचारीले भने, ‘हामीले सबैलाई शपथ खुवाउने तयारी गरेका थियौं, माओवादीका दुई मन्त्रीका लागि त शपथपत्र प्रिन्ट नै भएको थियो। तर, अन्तिममा आएर शपथ रोकियो।’ स्रोतका अनुसार माओवादीले मन्त्रीको शपथ गराउने तयारी गरेको भए पनि एमालेले मन्त्री छान्न नसकेपछि शपथ कार्यक्रम रोकिएको हो।

प्रदेश ६ मा जम्मा सातवटा मन्त्रालय रहनेछन्। जसअन्तर्गत एमालेले ४ र माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ ओटा मन्त्रालय सम्हाल्ने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.