'एकतामा ब्रेक थ्रु'

'एकतामा ब्रेक थ्रु'

काठमाडौं : पाँच महिनाअघि पार्टी एकीकरणका लागि प्रतिबद्धता जनाउँदै प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गरेका एमाले-माओवादी बीचको एकता प्रक्रियामा छिट्टै ‘ब्रेक थ्रु’ हुने दाबी माओवादी नेताले गरेका छन्। एकीकृत पार्टीको सैद्धान्तिक विचारमा मतभेद हुँदा दुई पार्टीको एकीकरणमा केही व्यवधान देखिए पनि छिट्टै सहमतिमा टुंगिने माओवादी नेताको विश्वास छ।

असोज १७ मा चुनावका लागि गठबन्धन गरी एकीकरणसम्मको मार्गचित्र बनाएका दुई पार्टी अहिले पार्टीको सैद्धान्तिक विचारमा एक हुन नसक्दा एकता प्रक्रियामा विलम्ब भएको माओवादी नेताको तर्क छ।

माओवादी नेता अग्निप्रसाद सापकोटाले एकता प्रक्रियामा पूरै ब्रेक नलागी गियर मात्रै लागेको चर्चा गर्दै भने एमाले-माओवादी एकीकरण प्रक्रियामा ब्रेक थ्रु हुने दाबी गरे।

उनले शुक्रबार अन्नपूर्णसँग भने, ‘मार्गदर्शक सिद्धान्तमा फरक परेकाले जनताको बहुदलीय जनवादलगायत नमिलेका कुरा एकता महाधिवेशनमा जान्छ। त्यहाँ जे निर्णय हुन्छ, त्यसलाई स्विकार्ने हो।’

असोज १७ मा चुनावी गठबन्धन घोषणा गर्दा नै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालमध्ये एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष बन्ने सहमति रहेको जानकारी सापकोटाले दिए।

पूर्वसहमति विपरीत ओली—दाहाल द्वि-अध्यक्ष हुँदै पालैपालो प्रधानमन्त्री बन्न लचक भए। माओवादीका अर्का नेता सुरेन्द्र कार्कीले दुई पार्टीबीचको एकीकरण प्रक्रियामा ब्रेक लागेको नभई निरन्तरता नै पाएको बताए।

उनले भने, ‘साता दस दिनभित्रै दुवै पार्टी एकीकरण हुनेछन्। एमाले र माओवादीबीच एकीकरण हुन्छ भनेरै जनताले प्रदेश र प्रतिनिधिसभा चुनावमा मत दिएका हुन्। जनमतको उपेक्षा गर्ने अधिकार कहीँ-कसैलाई हुँदैन र गर्न पनि मल्दिैन।’

विचारमा आएको विवादले एकीकरण प्रक्रियामा केही अवरोध आएको तर्क कार्कीले गरे।सांसद अमनलाल मोदीले पार्टी एकीकरण प्रक्रियाका लागि ओली र दाहालले नयाँ शिराबाट सोचेर छिट्टै निर्णायक बनाउनुपर्ने बताए।

उनले भने, ‘पार्टी एकीकरण ६०—४०, ७०—३० लगायत गणितीय र कूटनीतिक चालमा होइन, मंसिर १० र २१ गते प्राप्त जनादेशका आधारमा हुनुपर्छ। बैंक मर्ज गरेजस्तो होइन।’

ओली-दाहालले आफूहरूलाई राजनेताका रूपमा उभ्याउँदै जनमतको सम्मान हुने गरी निर्णयमा पुग्नुपर्नेमा उनले जोड दिए।

जनताको बहुदलीय जनवाद र माओवादजस्ता विषयको छिनोफानो महाधिवेशनले गर्दा न्यायोचित हुने धारणा मोदीले व्यक्त गरे।


प्याकेजमै सहमति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने जनाएका छन्।राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने, ‘सरकार गठन प्रक्रियामा माओवादी केन्द्र सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गरेर सहभागी हुनेछ।’

पार्टी एकता गर्दा राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिका लागि प्याकेजमै समझदारी गरी सरकारमा सहभागी हुने उनले बताए।

पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै अध्यक्ष दाहालले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको दाबी गरे।

वैचारिक रूपमै एकता टुंग्याउने

सरकारको समर्थन गरेको माओवादी केन्द्र मन्त्रिमण्डलमा सहभागी नहुँदा सरकारबारे अनेक अड्कलबाजी भइरहे पनि वैचारिक रूपमै पार्टीले एकता टुंग्याउने एमाले नेताले बताएका छन्।

माओवादी अध्यक्ष दाहालले पार्टी एकता संयोजन समिति बैठकमा दुई पार्टी एकतामा एमालेको जनताको बहुदलीय जनवाद (जबज) को अडानका कारण नटुंगिएको पार्टी नेतालाई बिहीबार बिहान ब्रिफिङ गरेका थिए।

एकतासहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताएका थिए। दुई अध्यक्षबीच शुक्रबार हुने भनिएको वन-अन-वन वार्ता भएन।

एकता संयोजन समितिको बैठकको पनि तत्काल टुंगो लागेको छैन। यसले एकता प्रक्रियामाथि आशंका थपिएको छ। तर, वैचारिक रूपमा एकता टुंग्याएरै माओवादीलाई जसरी पनि सहभागी बनाउनुपर्ने एमाले नेताहरूको धारणा छ।

माओवादीसँग सम्मानजनक एकता नहुँदासम्म सरकारको स्थायित्वमा प्रश्न चिह्न उठ्ने हुँदा त्यसलाई सफलतापूर्वक टुंग्याउनुपर्ने एमाले नेताले बताएका छन्।

एमाले वरिष्ठ नेता झलनाथ खनाल एकतामा उत्पन्न मतभेद अन्त्य गरी माओवादीलाई सम्मानजनक रूपमा सरकारमा सहभागी बनाउनुपर्ने बताउँछन्।

उनले अन्नपूर्णसँग भने, ‘सरकारमा माओवादीबाहेकको समर्थनको विकल्प खोज्न सकिन्न। ऊसँगको एकतालाई टुंग्याएर यो सरकारलाई सबै वामको सरकार बनाउनुपर्छ। साना दललाई पनि सहभागी बनाउनुपर्छ। तब मात्रै समृद्धि र स्थायित्वको बाटोमा मुलुक अगाडि बढ्छ।’

वामलाई मोर्चाबन्दी गरी अगाडि बढ्ने रणनीति एमालेले अख्तियार गर्ने उनले बताए। जनादेशको सम्मान गर्न नेतृत्वले त्याग पनि गर्नुपर्ने उनको सुझाव छ।

एमाले नेता सुरेन्द्र पाण्डेले वैचारिक विषयमा एकताको हलो अड्किए पनि अझै एकता प्रक्रिया गलत बाटोमा गइनसकेकाले व्यापक छलफल गरी समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए।

उनले अन्नपूर्णसँग भने, ‘एकतालाई टुंगोमा पुर्‍याएर सरकारलाई स्थायित्व प्रदान गरी मुलुकलाई समृद्धिको दिशातर्फ डोर्‍याउनु अहिलेको मुख्य आवश्यकता हो। नेतृत्वले सोही रणनीतिअनुरूप काम गर्नेेछ।’

माओवादीले समर्थन गरेका कारण ओली प्रधानमन्त्री बनेको हुँदा माओवादी सरकारमा सहभागी हुने दाबी एमाले नेता अग्नि खरेलको छ।

उनले भने, ‘पार्टी एकताको विषयमा छलफल चलिरहेको छ। छलफल निष्कर्षमा पुग्छ। पार्टी एकता हुन्छ। अहिले उत्पन्न भएको आशंका अन्त्य हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.