कीर्तिमानी लक्ष्य चुम्यो अस्ट्रेलियाले
अकल्यान्ड : अन्तराष्ट्रिय त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा अस्ट्रेलियाले कीर्तिमानी जित हासिल गरेको छ। अस्ट्रेलियाले आफ्नो चौथो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई पाँच विकेटले हरायो। टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले १८.५ ओभरमा केवल पाँच विकेट गुमाएर दुई सय ४५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो। अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटको इतिहासमा अस्ट्रेलियाले पूरा गरेको विजयलक्ष्य हालसम्मकै सर्वाधिक हो। यसअघि सन् २०१५ मा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराउँदा ६ विकेट गुमाएर दुई सय ३६ रनको लक्ष्य भेट्टाएको थियो। ठूलो विजयलक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनर डीआर्च सर्टले ७६ रनको योगदान गरे। म्यान अफ दी म्याचसमेत घोषित भएका सर्टले केवल ४४ बलको सामना गरी तीन छक्का र आठ चौका प्रहार गरे।
सर्टले कप्तान डेभिड वार्नरसँग मिलेर ओपनिङ विकेटका लागि एक सय २१ रनको साझेदारी गरे। वार्नरले पनि टोलीको जितमा ५९ रनको योगदान गरे। उनले केवल २४ बलमा पाँच छक्का र चार चौका हिर्काए। क्रिस लिन १८ रनको वयक्तिगत स्कोरमा पेभेलियन फर्किए भने एरोन फिन्चले अविजित ३६ रन बनाए। उनले केवल १४ बलमा तीन छक्का र तीन चौका प्रहार गरे। ग्लेन म्याक्सवेलले पनि १४ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ३१ रन बटुले।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ओपनर मार्टिन गुप्टिलले एक सय पाँच रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन। गुप्टिलले केवल ५४ बलको सामना गरी नौ छक्का र ६ चौका हिर्काए। उनले कोलिन मुनरोसँग मिलेर ओपनिङ विकेटका लागि एक सय ३२ रनको साझेदारी गरे। मुनरोले ३३ बलमा ६ छक्का र ६ चौकाको मद्दतले ७६ रन बनाए। चार खेल खेल्दै अपराजित रहेको अस्ट्रेलियाको आठ अंक छ। तीन खेलबाट दुई अंक जोडेको न्युजिल्यान्ड दोस्रो र तीनवटै खेलमा पराजित भएको इङ्ल्यान्ड तेस्रो स्थानमा छन्।