विप्लव प्रतीकको कविता, अभि सुवेदीको टिप्पणी
हर रात सपनीमा
- विप्लव प्रतीक
हर रात सपनीमा, ऐंठन हुन्छ
गाउँमा सायद, पहिरो गयो कि ?
डाँडा पारिको, घामलाई हेर्छु
आमा र बाबा, सम्झिरहन्छु,
गाउँ छोड्दा बिझेका काँढा
परदेशमा बसी झिकिरहन्छु।
दिनरात सहरमा झरी पर्छ
गाउँमा सायद, खेतै बग्यो कि ?
उडिरहने चरीलाई हेर्छु
घरको समाचार पर्खिरहन्छु,
लेकबेसी देउराली डाँडा
परदेशमा सम्झी तड्पिरहन्छु
हर साँझ, सहरमा हुरी चल्छ
गाउँमा सायद, छानै उड्यो कि ?
०००
ध्वनिको सूक्ष्म सम्बन्ध
- अभि सुवेदी
कवि विप्लव प्रतीकका कविता र गीतहरूमा साम्य हुन्छन्। विप्लवका प्रायजसो कविता कुशल गायकले संगीत गरेर गाए हुन्छ। ती कवितामा तरल प्रवाह छन्, शब्दहरू लयात्मक छन्, काव्यमा पाइने अभिव्यञ्जना त्यही प्रगीतात्मक शैलीको माध्यमले व्यक्त हुन्छ। विप्लव प्रतीकका कविताका शब्दहरू र ध्वनिको सम्बन्ध सूक्ष्म हुन्छ।
ध्वनिका दुई अर्थ हुन्छन्, समालोचनामा। एउटा काव्यको अन्तर्भाव हो, दोस्रो कविताको लयले रचना गर्ने ध्वनि नै हो। म विप्लवका कवितालाई ध्वनिका यी दुवै पक्ष जोडेर हेर्छु। विप्लव प्रतीक शैली र प्रयोगका कुनै व्यवधान नराखी कविता लेख्छन्। त्यस अर्थमा ती प्रयोगवादी कवि होइनन्, ती प्रगीतात्मक चेतनाले लेख्ने कवि हुन्। त्यसैले उनका कविता गेय भएका हन्।
‘हर रात सपनीमा’ माथि भनेजस्तै गीत हो, जसमा सम्बन्धका सूक्ष्म पक्षहरू सरल किसिमले राखिएका छन्। सम्झना र प्रेमलाई सामाजिक र बृहत्तर वृत्तमा लगेर एउटा समात्न सक्ने भावको सिर्जना गरेका छन्, विप्लव प्रतीकले यस गीतमा। यो गीत र संगीतका शब्द पढ्नेबित्तिकै दीप श्रेष्ठको गायन ध्वनित हुन्छ, प्रत्येका पाठकका मनमा।
गीत सरल छ। यतिसम्म सरल छ कि अलिक अर्को किसिमले पढ्ने हो भने त्यो एक साधारण चिठी जस्तो सुनिन्छ। ‘डाँडा पारिको, घामलाई हेर्छु आमा र बाबा, सम्झिरहन्छु,’ अत्यन्त साधारण चिठीको भाषा हो। तर तुरुन्तै अर्को लयमा लगेर ती यसमा एउटा काव्यिक रञ्जना थपिदिन्छन्।
भन्छन्, ‘गाउँ छोड्दा बिझेका काँढा, परदेशमा बसी झिकिरहन्छु।’ यहाँदेखि विप्लव प्रतीक कविता सिर्जना गर्छन्। परदेशमा सम्झेर गाउँमा बिझेका काँडा झिक्नु भनेको सुन्दर काव्य रचना हो। गीत भावभूमिभित्र जान्छ। गेय हुन्छ। मन छुन्छ। नोस्टालजिया वा सम्झनाको लोलुपता जन्मिन्छ।
प्रतीक त्यहाँ सफल गीतकार हुन्छन्। सारांशमा, विप्लवको कवितालाई लिएर जीवन छुने शैलीले यसलाई गीत बनाएको छ। त्यसको अर्थ के हो भने उनी सरलतासँग खेल्छन्। उनी सरलतालाई कहाँनेर लगेर लय बनाउँछन्, त्यो उनका कविता र गीत दुवैको विशेषता हो। ‘उडिरहने चरीलाई हेर्छु/घरको समाचार पर्खिरहन्छु,/ लेकबेसी देउराली डाँडा/ परदेशमा सम्झी तड्पिरहन्छु/ हर साँझ, सहरमा हुरी चल्छ/ गाउँमा सायद, छानै उड्यो कि ? ’ जस्ता गीतका शब्दहरू अत्यन्त साधारण अभिव्यक्ति हन्।
तर, विप्लवले यो सम्पूर्ण रचनालाई सम्झिने पात्रको दूरत्व अनि गाउँबाट उठेर सहर पस्ने मानिसको चेतनामा लगेर गीतको रचना गर्दा एक गायक, एक संगीतकार, र उनका धेरै श्रोताहरूलाई ठाउँ छोडिदिएका छन्। जापानी कवितामा जस्तो ठाउँ खाली राखेर पाठकका भावनासँग खेल्न खप्पिस कवि विप्लव प्रतीकले यो कवितामा पनि त्यही गरेका छन्।
उनका कवितालाई नपढेका मानिसले प्रतीकको यो पद्धतिको त्यति भेउ नपाउन सक्छन्, तर साधारणतया उनका कविता पढेका मानिसले यो गीतको भाव र प्रभावलाई त्यही सरलता र त्यही भावलाई गीति चेतनासँग जोडेर हेर्छ। यो गीतमा पाठकमात्र होइन, श्रोता पनि प्रवेश गर्छ। यो गीतको विशेषता त्यही हो।