नेपाली रिसोर्टका फ्रान्सेली वेटर
विश्वभरका नागरिकका लागि सपना र चाहनाको विषय ‘इफेल टावर’। अनि उनी आफैं ‘इफेल टावर’को देशका नागरिक। जब आफ्ना साथीबाट हिमशृंखला र मनोरम दृश्यहरूको देश नेपालको बारेमा जान्ने र बुझ्ने अवसर पाए, फ्रान्सेली नागरिक ‘थ्रिस्टन रेनट’ले। त्यसपछि ‘नेपाल’सँग यस्तो साइनो गाँसे, जुन समयको बहावसँगै जीवनभर नटुट्ने बन्धनका रूपमा मौलाउँदै गएको छ।
रेनटलाई नेपालले बिछिट्टै मोहनी लगाएको रैछ। त्यसैले त उनी विगत २० वर्षदेखि आफ्नो जन्मभूभि र आफन्तहरूभन्दा हजारौं माइल टाढा रहेको नेपालमा भौंतारिइरहेका छन्, जीवनको नयाँ परिभाषा खोज्दै। नेपालप्रतिको उनको आशक्तिका सामु जीवनभर सँगै जिउने र मर्ने कसम खाएको ‘प्रेम’ले पनि कुनै अर्थ राखेन। त्यसलाई पनि चटक्कै छाडेर नेपाल हानिए उनी।
३० वर्षको उमेरमा पहिलोपटक नेपाल ओर्र्लिएका थिए रेनट। भौगोलिक सिमानाको कानुनद्वारा सिर्जित बाध्यतालाई छिचोल्न कतिपटक फ्रान्स फर्किए, अनि फेरि नेपाल सम्झँदै विमानको सिँढी उक्लिए, त्यो उनी आफैंले पनि हिसाब राख्न छाडिसकेछन्। यहाँको प्रवेशाज्ञासम्बन्धी कानुनको सम्मान गर्दै पाँच महिना बिताएर फेरि फ्रान्स फर्कने उनको क्रम विगत २० वर्षदेखि जारी छ।
रेनट यसै साता बर्दियाको ठाकुरद्वारास्थित एक रिसोर्टमा भेटिए, त्यो पनि वेटरको भूमिकामा। सामान्य गाँस र बासको जोहो अनि सुखद भविष्यको खोजीमा विदेश हानिने हजारौं नेपाली युवाको ताँतीमा उनी फरक उदाहरणका रूपमा देखा परे, हाम्रा लागि। फ्रान्सेली नागरिक, एउटा सामान्य रिसोर्ट, त्यो पनि वेटरको भूमिका।
तर, यो उनको पेसा भने होइन। केवल रहर रहेछ, नेपाल र नेपालीको मनमा बस्ने। ‘नेपालको हिमशृंखला र वनजंगलले मलाई मोहनी लगाएको छ। फ्रान्समा जन्मिए पनि नेपाल मेरो दोस्रो घर, अनि नेपाली नै मेरो परिवार’, उमेरले ५० वर्ष टेकेका रेनट अन्नपूर्णकर्मीसँग मजैले गफिए, ‘मानिस विचित्रको प्रणी हो, उसका लागि खुसी हुने आधार र परिभाषा आआफ्नै हुन्छन्, त्यसमा पनि मनको शान्ति सबैभन्दा ठूलो कुरो हो जुन मैले नेपालमा पाएको छु।’
सन् १९९५ मा पहिलोपटक नेपाल ओर्लिएका रहेछन्, रेनट। त्यस बेला उनले पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको मनाङको ‘थोरङ पास’ छिचोल्दै अगाडि बढ्ने उद्देश्यले पाइला चालेका रहेछन्। तर, प्रतिकूल मौसमका कारण अन्नपूर्ण हिमशृंखलाको सबैभन्दा उचाइमा रहेको प्वाइन्टबाट अगाडि बढ्न सकेनन्। त्यसपछि रन्थनिएर दक्षिणतिर हानिएका उनका पाइला तराईका विभिन्न गाउँबस्ती छिचोल्दै बर्दियाको ठाकुरद्वारामा पुगेर अडिएछ।
संयोग नै भन्नुपर्छ; ठाकुरद्वाराको जुन गेस्ट हाउसमा उनी झोला बिसाउन पुगे, कालान्तरमा त्यही गेस्ट हाउसका मालिक शंकर भट्टराईसँग उनको गजबको ‘दोस्ती’ हुन पुग्यो। उनलाई नेपालसँग जोड्ने गतिलो आधार बन्यो। शंकरकै प्रयासमा उनले केही समय जंगल गाइडका रूपमा पनि काम गरे। बर्दिया पुगेपछि हिमाल भुलेर वाइल्ड लाइफको मोहमा अल्झिए।
बर्दिया राष्ट्रिय निकुञ्जसँग उनको जीवनभर भुल्न नसक्ने एउटा घटना पनि जोडिएको रहेछ, सायद प्रेमिकासँगको बिछोडपछिको दोस्रो अविष्मरणीय क्षण। उनले चलचित्र र तस्बिरहरूमा मात्र बाघ देखेका थिए। जाडोको एक बिहान उनी मर्निङ वाकका लागि निस्केका थिए, खोलाको छेवैछेउ। अचानक उनका आँखा खोलाको अर्को किनारमा पुग्यो, केही पर एउटा अजंगको बाघ आफ्नै धुनमा डुलिरहेको थियो। उनका खुट्टा टक्क अडिए। सम्पूर्ण शरीर डर र रोमाञ्चले जिरिंग भयो। चिसो आफ्नो चरम सीमामा थियो तर एकैछिनमा उनको शरीरमा भने चिट्चिट् पसिना आउलाजस्तो भयो। भन्छन्, ‘चिसोका कारण बाघको मुखबाट निस्किएको वाफसम्म म देख्न सक्थेँ। त्यो घटना म जीवनभर भुल्न सक्दिनँ।’ बाघसँगको जम्काभेटको घटना सुनाउँदा उनी अहिले पनि रोमाञ्चित थिए।
प्रेमिकासँगको उनको बिछोडको घटना भने केही नाटकीय छ। शान्त स्वभावका यी फ्रान्सेलीको एउटी तरुनीसँग आँखा जुध्यो। मार्सिल्लेका थुप्रै रेस्टुरेन्टमा लगातारको भेटघाट र कफीको चुस्कीपछि यी दुईबीचको सम्बन्ध पनि बाक्लिँदै गयो। त्यसपछि भविष्यमा लगनगाँठो कस्ने सम्झौतासहित उनीहरू लामो समयसम्म ‘लिभिङ टु गेदर’को सम्बन्धमा बसे।
यसैबीच रेनट नेपाल आए। तर, यताबाट फर्किंदा भने उनले मनभित्र नेपालप्रतिको छुट्टै आशक्ति पालिसकेका थिए। त्यसैले फ्रान्स फर्किएपछि पनि उनको नेपाल आउनेजाने क्रम बाक्लिँदै गयो। तर, उनकी प्रेमिकालाई यो कुरा मन परेन र उनीहरूबीचको सम्बन्ध पनि विस्तारै चिसिँदै गयो। ‘मैले उनलाई पनि नेपाल ल्याउन धेरै प्रयास गरेँ तर उनी तयार भइनन्। यही विषयमा हाम्रो मतभेद भयो र अन्नतः लामो समयदेखिको हाम्रो सम्बन्ध आपसी सहमतिमै टुंग्याउने निर्णय गर्यौं’, फ्रान्सको मार्सिल्लेभन्दा करिब एक सय किलोमिटर उत्तरमा जन्मिएका रेनटले यसरी जीवन भोगाइको एउटा सुन्दर अध्यायलाई बिट मारे।
‘कतै नेपालमै त तिम्रो मुटु कसैले चोरेको छैन ? ’, अन्नपूर्णकर्मीको ठट्यौलीमा उनी फिस्स हाँसेमात्र। उनको परिवारका सदस्य फ्रान्समै छन् भने काकाको परिवार भने सन् १९७३ देखि अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएको रहेछ।
नेपालमा भने रेनटकै लागि भनेर ‘बर्दिया वाइल्ड लाइफ रिसोर्ट प्याराडाइज’का मालिक शंकरले रिसोर्टभित्रै एउटा चिटिक्क परेको घर नै बनाइदिएका रहेछन्। उनी बेलाबेलामा फ्रान्सबाट पर्यटक पनि ल्याउँछन्। शंकर भन्छन्, ‘ऊ (रेनट) गजबको मान्छे हो। हाम्रा लागि त ऊ परिवारकै अभिन्न अंग बनेको छ। त्यसैले उसका लागि रिसोर्टको एक कुनामा छुट्टै घर नै बनाइदिएको छु।’
नेपालमा रहँदा रिसोर्टमा आउने पाहुनाका लागि खाना पकाउनेदेखि लिएर वेटरको भूमिकामा समेत सक्रिय हुँदा रहेछन् थ्रिस्टन। ‘हामीलाई अप्ठ्यारो लाग्छ तर ऊ मान्दैन। पाहुनाका लागि खाना पकाउनेदेखि लिएर खाना ख्वाउने काममा समेत आफैं अगाडि सर्छ। टुटेफुटेको शब्दमा नेपालीमै खानाको परिकारका बारेमा पाहुनालाई बताउन खोज्छ, बुझाउन सकेन भने डोर्याउँदै बारीमै लगेर तरकारी वा अन्य परिकारको बारेमा इशाराले सम्झाउँछ। एकपटक त अमलाको अचारको बारेमा बुझाउन पाहुनालाई डोर्याएर अमलाको रूखसम्मै पुर्याएको थियो’, शंकर भन्छन्।
लेखक र वृत्तचित्रकार
यी हुन् रेनटको जीवनको एउटा पाटो। नेपालसँग जोडिएको उनको जीवनको अर्को पाटो भने केही पृथक छ जसले उनलाई एउटा लेखक र वृत्तचित्रकारको रूपमा उभ्याउँछ। पटकपटकको नेपाल भ्रमणका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न क्षेत्र घुमेपछि उनको मनमा एउटा विचार पलाएछ, नेपालको चिनारी विश्वभर फैलाउन एउटा पुस्तक किन नलेख्ने ? लामो समयको सोचविचार र छलफलपछि उनले आफ्नो त्यो योजनालाई पनि मूर्त रूप दिएका छन्।
उनले आफूले चिनेको, देखेको र भोगेको नेपाललाई समेटेर प्रकाशित गरेको पुस्तकको नाम जुराएका छन्, ‘नील पानी’। फ्रान्सेली भाषामा लेखिएको दुई सय ६० पृष्ठ लामो उक्त पुस्तकमा उनले केही अध्यायको शीर्षक भने नेपालीमै राखेका छन्। उनको पुस्तकमा विभिन्न विषय समेटिए पनि पुस्तकका अधिकांश पाना यहाँका प्राकृतिक छटा, नेपालमा पाइने वन्यजन्तु, यहाँका चाडपर्व र सांस्कृतिक विविधताका लागि खर्चिएका छन्।
‘नेपाललाई विश्वसामु चिनाउने यो मेरो सानो प्रयासमात्र हो। यो पुस्तकलाई अब छिट्टै अंग्रेजीमा पनि अनुवाद गराएर प्रकाशित गर्ने तयारीमा छु’, उनी भन्छन्। यसदेखि बाहेक उनले ‘बर्दिया नेसनल पार्क’को वृत्तचित्र पनि तयार पारेका छन्। यो वृत्तचित्रले पनि विदेशी पर्यटकलाई नेपाल भित्र्याउन महŒवपूर्ण योगदान पुर्याएको शंकरको ठम्याइ छ।
यसैगरी उनले नेपाल भ्रमणमा आउने पर्यटकलाई लोभ्याउन छुट्टै ‘ट्रेकिङ रुट’समेत पत्ता लगाएका रहेछन्। बर्दिया, कैलाली र सुर्खेत जिल्लालाई समेटेर उनले तयार पारेको तीन रात चार दिनको उक्त ‘ट्रेकिङ रुट’ चिसापानीबाट सुरु भई कर्णाली नदीको छेवैछेउ सोल्टामा पुगेर टुंगिन्छ रे। ‘प्रकृतिलाई नजिकबाट अनुभव गर्न चाहनेका लागि यो रुटको यात्राले छुट्टै अनुभूति दिने मेरो विश्वास छ’, रेनट भन्छन्।
लामो कुराकानीको बिट मार्नुअघि रेनट आफ्नो कोठातर्फ हानिए। लगत्तै हातमा च्यापेर ल्याएको ‘नील पानी’को एक प्रति थमाउँदै थपे, ‘छिट्टै यसको अंग्रेजी संस्करण तिम्रो हातमा हुनेछ। पुस्तक पढेपछि सायद तिमीले पनि अनुभव गर्न सक्नेछौं, मैले नेपाललाई किन आफ्नो दोस्रो घर बनाएँ भनेर।’