मनाइयो ग्याल्पो लोसार
काठमाडौं : बुद्धधर्मावलम्बीको पर्व नयाँ वर्ष ग्याल्पो लोसार विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइएको छ। हिम्मत खण्डबाट सुरु भएको ‘च्या लो’ (चरा वर्ष) बिदा गरी ‘खि लो ’ (कुकुर वर्ष) को स्वागत गरी नयाँ वर्ष २१४५ को अवसरमा बौद्धधर्मावलम्बीले शुक्रबार लोसार मनाएका हुन्।
काठमाडौंमा शेर्पा समुदायले टुसाल र तामाङ समुदायले तीनकुनेमा विभिन्न कार्यक्रमको आयोजना गरी लोसार मनाए। बौद्धधर्मको महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथिमिति परिर्वतन हुँदा बौद्धधर्मावलम्बीले नयाँ वर्ष ग्याल्पो लोसार मनाउने गर्छन्।
स फो खि लो २१४५औं वर्षको ग्याल्पो लोसारलाई जातीय परम्परा र संस्कृति प्रदर्शन गरी राष्ट्रिय पर्वका रूपमा विकास गर्न माग गरेका छन्। लोसारको उत्सवसँगै शुक्रबार छेमार र छेयाङफुद सजाएर नौ प्रकारका खाद्यपदार्थ मिसाएर पकाइएका खाना (गुथुक), खप्स र फलफूल खाएर शुभकामना साटासाट गरी विश्वभर एकै समयमा लोसार मनाउने गरिन्छ।
बौद्धधर्म मान्ने शेर्पा, तामाङ, भोटे, धकाली, हेल्मोलगायत बौद्धधर्मावलम्बीले लोसार मनाउँछन्। महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा कोङपो, तोला, सोनाम र ग्याल्पो लोसारलाई यी समुदायले समयानुसार क्रमैसँग मनाउने गर्छन्।
प्रत्येक वर्ष १२ बाँदर, चरा, कुकुर, सुगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा वर्ष परिर्वतन भएर नयाँ वर्ष सुरुवात हुन्छ। पात्रोमा तिथि परिर्वतन भई नयाँ वर्ष लागेसँगै १२ महिना सकेर ग्याल्पो लोसार मनाउने गरिन्छ। हिमाली क्षेत्रका बसिन्दाले लोसार (नयाँ वर्ष) लागेको शुभसंकेत स्वरूप जौ, गहुँका बाला राख्ने गर्छन् यो ग्याल्पो लोसारको एक आधार हो।