मनु ब्राजाकीको त्यो चिठी

मनु ब्राजाकीको त्यो चिठी

करिब डेढ महिनाअघि नेपालका विशिष्ट कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्षको शय्यामा मुस्किलले सास फेरिरहेको देखेपछि मलाई औडाहा भएको थियो। उमेरले अलि बढी नै भए पनि उनी हाम्रा परममित्र त थिए नै, काठमाडौं आउँदा हाम्रा अड्डाहरूमा पनि छिर्ने गर्थे। भेटघाट र सहज संवादको यो तीव्र लालसा हाम्रा बीचका उठबस रचनात्मक क्षणहरूमा बदलिन्थ्योे। ती क्षण अब स्मृतिमा समाहित भएका छन्, अब उप्रान्त नवीकरणीय रहेनन्।

मनु आधुनिक नेपाली कथाका अप्रतीम शिल्पी थिए। तर, उनलाई यिनै कथाका माध्यमबाट पद, व्यक्तिगत प्रतिष्ठा र आर्थिक लाभको किञ्चित लोभ थिएन। हो, महिनौंसम्म काठमाडौंबाहिर रहेपछि यदाकदा काठमाडौं आउँदा विभिन्न पत्रपत्रिकामा उनको पारि श्रमिक थपिँदै गएको हुन्थ्यो, जसले उनको गोजीखर्च चल्ने गथ्र्यो। उनीसँगका सयौं स्मृतियोग्य क्षण र घटना भए पनि केही प्रतिनिधि घटनाले उनको स्वभावबारे बुझ्न हामीलाई सहयोग नै गर्छन्।

तत्कालै तिथिमिति सम्झनामा नआए पनि उनको पहिलो कथासंग्रह ‘अवमू्ल्यन’को प्रकाशनको सन्दर्भ मेरो स्मृतिमा ताजै छ। कुनै एक बसाइमा मैले उनलाई छरिएका कथा बटुलेर एक पुस्तक निकाल्न पाए बेस हुने थियो भनी सुझाएको थिएँ। उनले मलाई भनेका थिए, सबै पत्रपत्रिकामा छरिएका छन् र पुस्तक निकाल्न मिल्ने ढंगले उनले व्यवस्थित रूपले राख्न सकेका छैनन्।

मनुको स्वभावअनुसार उनको स्पष्टीकरणमा इमानदारी नै थियो। मैले म पनि यस काममा उनलाई सहयोग गर्न तयार रहेको बताइदिएको थिएँ। बस्, उप्रान्त मनु र मेरो त्रिवि केन्द्रीय पुस्तकालय र मदन पुरस्कार पुस्तकालयको भ्रमण तालिका सुरु भयो। भोलिपल्टैदेखि हाम्रो मिसन कीर्तिपुर र पाटन ढोकातर्फ केन्द्रित भयो।

पत्रिका खोज्दै हामीले हातैले नोटबुकमा सारेर कथाका प्रतिलिपि बनाउन थाल्यौं। त्यतिबेला न फोटोकपि मेसिन सहजै उपलब्ध थियो, न मदन पुरस्कार पुस्तकालयले पुस्तक वा पत्रपत्रिकालाई बाहिर लगेर जेरोक्स मेसिनमा हाल्ने सुविधा नै दिन्थ्यो। कैयौं दिनका सहप्रयासपछि डेढ दुई दर्जन कथाको पाण्डुलिपि तयार गरेर मनुजी साझा प्रकाशनतर्फ लागे। ती दिनमा कथा सार्दासार्दै थाकेपछि हाम्रा साँझहरू निरन्तर रंगीन भएका थिए र मेरा लागि मनुको विनम्र स्वभावमा कति रचनात्मक जिद्दी विद्यमान छ भनी थाहा पाउने अवसर पनि तिनै दिनले उपलब्ध गराएका थिए।

मलाई सम्झना छ, यसअघि मैले उनको कथा रचना प्रक्रिया र कथाको सामाजिक राजनीतिक असरबारे लामै अन्तर्वार्ता लिन चाहेको थिएँ तर उनले आफू अन्तर्वार्ता दिन लायकको व्यक्ति नभइसकेको भनेर खुसीसाथ टारिदिए। मैले उनलाई त्यसपछि कहिल्यै पनि अन्तर्वार्ताबारे जिज्ञासा राख्न छाडिदिएँ। उनी प्रचारको दुनियाँबाट टाढै रहन चाहन्थे। अथवा अनुमान लगाउन सकिन्छ, यसो भनेर उनले सस्तो प्रचारमा जुटिरहेका उनका समकालीन लेखकहरूलाई कसिलो व्यंग्यबाणले लक्ष्य गरेका थिए।

आजकल साहित्यमा पनि हबलदार र हबलदारीको प्रवेश भइसक्या छ। किन व्यर्थ मेरो लागि थाप्लो फुटाउनुहुन्छ, बरु म एक्लोको थाप्लो फुटोस्, तर तपाईंहरू लेख्दै राख्नुस्। श्रेयष्कर यही हुनेछ।– मनु ब्राजाकी

एकपटक मनु हाम्रो प्रतिपक्ष साप्ताहिकको कार्यालय आइपुगे। नारायण ढकाल त्यसका सम्पादक थिए। यस टिममा विमल निभा, म, राजव, गोपाल गुरागाईं र रघु मैनाली थियौं। यस साप्ताहिकले साहित्यलाई अहम् महत्व दिन्थ्यो नै, किनभने त्यहाँ सम्पादकीय नीति निर्माता हामी स्वयं नै थियौं र मनुजी हाम्रो अघोषित सहयोगी थिए। हामीले उच्च गुणस्तरका रचना छाप्ने नीति अख्तियार गरेपछि, मनु बाहिर छुट्ने सम्भावना नै थिएन।

म चाहन्थेँ, मनु पाठकहरूलाई आकर्षित गर्ने लघुकथा वा व्यंग्यको स्तम्भ नै चलाउन र मेरो प्रतिपक्षले साप्ताहिक पत्रमा एक नयाँ दृष्टान्त नै कायम गरोस्। तर व्यंग्यमा विमल निभा छँदै थिए, मनुका कथाले नयाँ पाठकलाई आश्वस्त पार्ने गरी आउनेछन् र कथामा व्यंग्यको नयाँ प्रतिमान खडा हुनेछ। त्यसको जस हामीले पनि साझा गर्न पाउने छौं।

तर, उनले मलाई आफ्नो गजल छाप्न र सके अग्रीम भुक्तानीका लागि आग्रह पो गरे।

मैले आधा घन्टा पर्खन आग्रह गरेँ मनुलाई। र, उनलाई लगेर पुतलीसडकको पुष्कर सेकुवामा दाखिल भएँ। यसो गर्दा उनलाई पेयको व्यवस्था पनि गर्न सकिन्थ्यो र साथ दिन पनि सकिन्थ्यो। करिब डेढ घन्टा उत्कृष्ट ब्रान्डको पेय पिइसकेपछि उठ्नै लागेको बेला उनले भने, ‘श्यामलज्यू, यहाँको लोकल अलिकति।’

यसरी उनी हरेक लोकलका पारखी थिए। व्यवहारमा बिल्कुल ढोंग थिएन। यस्तै लोकल ब्रान्डमा उनी कैयौं हप्ता स–साना गाउँबस्तीका झुप्रामा हराउँथे, र उत्कृष्ट कथाका आधारहरू लिएर आउँथे। उनलाई ठुल्ठूला सहर र ब्रान्डहरूभन्दा नेपाली गरिब ब्रान्डको तिख्खर स्वाद मनपथ्र्यो। तिनमा व्यक्त हुने सादा व्यवहार र तिनका सुखदु:ख नै मनु ब्रान्डका कथा भए। ती अरू कसैसँग मेल नखाने चरित्रका कथा हुन्थे। तिनको भाषामा अनौठो ताजगी हुन्थ्यो।

महाबौद्धको गुरुवाचार्यको वासपस: त्यतिबेला हामीमाझ भेट्ने थलो बनेको थियो। हरिभक्त कटुवाल, मनु ब्राजाकी, सन्तोष भट्टराई, ज्ञानुवाकर र यदाकदा हामीहरू प्नि त्यस पस:का गाहकी थियौं। एकपटक त्यहाँ मसँगै विमल निभा, विमल कोइराला र कृष्णभूषण बल पनि साँझपख पुगेका थिए। मनु र बलको पारस्परिक चिनजान थिएन। र, मैले नै उनीहरूबीच परिचय गराएको थिएँ। टाइसुटमा ठाँटिएका बल बोल्ड स्वरका धनी थिए, तर सामान्य कमिज पाइन्टमा मदिरालय पुगेका मनु सानो स्वरमा अत्यन्त मर्यादित भएर कुराकानी गर्दै थिए।

म हजुरका कथाको फ्यान हुँ, हजुरका कथा मलाई अति नै मन पर्छन्, आज बल्ल हजुरको दर्शन पाइयो,’ बलले मनुलाई भने।

‘मलाई सामन्तजस्तो ठानेको ? म कसरी तपाईंको हजुर भएँ ? मेरो दर्शन गर्ने तपाईं को हो ? ’ मनुले उल्टै प्रश्न तेस्र्याए।

‘मैले हजुरको फ्यान भनेर के बिराएँ ? ’ बल चर्को स्वरमा चिच्याउन थाले। स्थिति अप्रियतर हुँदै जान थालेपछि हामी साथीहरूले बीचमै हस्तक्षेप गर्नुप¥यो। त्यस साँझको पेयपदार्थको प्रताप के भयो भने, दुई चार चुस्कीपछि दुवै शान्त मुद्रामा फर्किए, तर परस्पर हेराहेर र बोलचाल भने बन्दै भयो।

मनु सम्भ्रान्त र जमिनदार परिवारका भए पनि उनी भाषामा सामन्तवादी गन्ध आयो भने रुचाउन्नथे र झुप्रे नेपालीको भाषा उनलाई मन पथ्र्यो भन्ने उदाहरण थियो त्यो। उता बल सामान्य तामाङ परिवारका बैंकका जागिरे थिए तर अदबसाथ बोल्नमा उनी कम कुशल थिएनन्।

विमल निभा, राजव र मलाई लेखेको संयुक्त चिठीमा मनुले आफ्नो लेखकीय स्वभावको संकेत गरेका छन्। २०४५ साल वैशाख १५ गते महोत्तरीको औरहीबाट लेखेको एक चिठीमा उनले भनेका छन् :

प्रियवर त्रय विमल, श्यामल तथा राजवज्यू,

(चिठीको बेहोरा लामै छ )

  • कसैको साहित्यिक रचनाको ठाडो, तेर्सो, बाङ्गो नक्कल गर्न सकिनँ।
  • म, मनु ब्राजाकी र सगर नासत्य मिली बनाएको गुटबाहेक अन्य कुनै गुटमा सामेल भइनँ।
  • सम्पादकज्यूहरूसित (मधुर मिष्ठान्नयुक्त) व्यक्तिगत सम्बन्ध गाँसेर आफ्ना रचना छपाउने कहिल्यै जमर्को गरिनँ।
  • आफ्ना कृतिहरूको विमोचन–सिमोचन गराउने आकांक्षा पनि भएन। अर्थाभाव, समयाभाव र गुटाभावले गर्दा। सबैभन्दा ठूलो कुरो पाठकहरूप्रति स्नेह र श्रद्धाले गर्दा।
  • लेख्नुबाहेक अरू कुनै कुरालाई पनि धर्म ठानिनँ। लेखनेतर अधर्मप्रति साहित्यिक धर्माचार्यहरूले क्षमादान गर्नु नै हुनेछ।
  • अजातशत्रु हुन खोज्ने प्रयत्नमा इष्र्या र डाहको पात्र हुन पुगेँ।
  • र सबैभन्दा ठूलो कुरो, म नेपाली साहित्य भन्ने साहित्य सरोवर काठमाडौंको माछा हुन सकिनँ। किनभने मलाई बकुल्ला र माझीहरूसित सा¥है डर लाग्छ। टाढैबाट ‘नमस्कार’ भनिदियो, भट्टीतिर हिँडिदियो।
  • विश्वास गर्नुस् बन्धुहरू, आजकल साहित्यमा पनि हबलदार र हबलदारीको प्रवेश भइसक्या छ। किन व्यर्थ मेरो लागि थाप्लो फुटाउनुहुन्छ, बरु म एक्लोको थाप्लो फुटोस्, तर तपाईंहरू लेख्दै राख्नुस्। श्रेयष्कर यही हुनेछ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.