एक बेजोड हृदयको लेखक
मनु ब्राजाकी, सगर नासत्य र चेतमानसिंह भण्डारीमध्ये मनु ब्राजाकी नमर्ने नाम हो। आर्यघाटमा चेतमानसिंह भण्डारीले आफूलाई बालेर, खरानी पारेर नेपाली साहित्यको लागि अझ विश्वकथा साहित्यकै लागि मनु ब्राजाकी छोडेर गएको छ। यस अर्थमा चेतमानसिंह भण्डारीको उदारताको जति प्रशंसा गरे पनि पुग्दैन। चेतमानसिंह भण्डारी आफ्नो पुख्र्यौेली बिडो थाम्न जिम्दार हुने सपनामा थियो होला। आफ्ना नातेदारहरूझैं पञ्च हुने, मन्त्री हुने, अझ धूर्त व्यापार गरेर धनाढ्य हुने सपनामा थियो होला।
चेतमानसँग सुखसयलमा मोजमस्तीको जीवन बिताउने यस्तै त्यस्तै भ्रष्ट सपना थिए होलान्। ती सब चालु सपना यथार्थमा भोग्न चेतमान वैध अवैध माध्यम, कर्तुतमा लाग्ने योजना पनि बुन्दै थियो होला। तर, चेतमानको चेतनाभित्र जन्मिएको मनु बेग्लै थियो। उसले त्यस्ता भ्रष्ट चेत राख्ने चेतमान नामै त्यागी दियो। अझ त्यत्तिले नपुगेर आफ्नो सिंह, बाघ अर्थात् सिंह भण्डारी थरको सबै टाउको पुच्छर काट्यो। र, आफ्नो मनुलाई ब्राजाकी बनायो र मनु ब्राजाकी भयो। चेतमान जिल पर्यो। चेतमान आफ्नु भ्रष्ट सपना त्याग्न बाध्य भयो। र, चेतमान खुरुखुरु मनु ब्राजाकी बन्न थाल्यो। यदि चेतमानले धोका दिएको भए वा मनु ब्राजाकी बन्ने क्रममा ऊ बीचमै पलायन भएको भए विश्व साहित्यले एक महान् कथाकार मनु ब्राजाकी पाउने थिएन। तर, चेतमान मनु ब्राजाकी हुन कम्मर कसेर ढृढ भइरह्यो। यसकारण चेतमानसिंह भण्डारीलाई ऊ मनु ब्राजाकी बनेकोमा हार्दिक धन्यवाद दिनै पर्छ।
मनु ब्राजाकीलाई मैले उसको वास्तविक नाम के हो भन्ने कहिल्यै सोधिन। सोध्नुको अर्थ पनि थिएन। तुक पनि थिएन। परिचय मनु ब्राजाकीसँग थियो। आदर मनु ब्राजाकीलाई गरिन्थ्यो। मनु ब्राजाकीलाई छोडेर चेतमान सिंहसँग हिमचिम बढाउनु पनि थिएन। अनि किन सोध्नु– तपाईंको वास्तविक नाम के हो दाइ ?
परिचय भएको निकैपछि कुनै किताबमा एक विज्ञ पण्डितजीले ऊबारे लेख्ने क्रममा उसको वास्तविक नाममा चेतमानसिंह भण्डारी लेखेका थिए। सगरनासत्यबारे त मनु दाइ आफैंले भनेका थिए। सगर नासत्य मनुको कान्छो नाम हो। भट्टी पसलको घरेलु मादक द्रव्य पिउने, पिलाउनेको कुनै एक झुम झुमा झुमको मादक साँझ आफ्नु अर्को यस नामबारे मनु दाइले यस्तो सुनाएका थिए, ‘साहित्य इतर लेख, टिप्पणी लेख्नु पर्दा म सगर नासत्यको नामले लेख्ने गर्छु।’
‘ए !’ बस मैले यत्ति भनेको थिएँ। यसबारे फेरि थप जिज्ञासु बनेको थिइनँ। किनभने मलाई सगरनासत्य भन्दा मनु ब्राजाकीको लेखन नै मन पथ्र्यो। सगर नासत्यलाई त मैले चेतमान चिन्नुभन्दा पनि पहिले चिनेको हुँ। तर, उचाइको लेखनका मनु ब्राजाकी मन पर्नुको कारणले उनका ती नाम चेतमानसिंह भण्डारी र सगरनासत्य पनि मेरा आदरणीय हुन्।
मनुलाई म आदर साथ दाजु भन्थेँ। तर, उनले कहिल्यै ठूलो हुनुको कद कायामा मलाई तँ, तिमी गरेनन्, भनेन। हर भेट र वार्तामा मनु मलाई तपाईं नै भन्थे। नाम सम्बोधन गर्नुपर्दा जी लगाउँथे। मलाई मात्र हैन भाइ भन्नु पर्ने सब लेखक साथीहरूलाई सम्बोधन गर्दा मनु तिनलाई तपाईं नै भन्थे। हरेक भाइ पुस्ताका लेखक, कविसँगको मनुको ब्यवहार यस्तै शालिन र प्रिय हुन्थ्यो। तर, हाम्रा प्रियमित्र लंगडदिन (बेलाबेला प्रेमले म उसलाई यै भनेर बोलाउँथे) अर्थात् कथाकार सन्तोष भट्टराईलाई मनु निर्धक्क तिमी भन्थे। काठमाडौंमा मनुको अर्को कुनै प्रिय, आत्मीय, सर्वाधिक मनपर्ने साथी थियो भने त्यो लंगडदिन अर्थात् सन्तोष भट्टराई नै थियो।
मनुको तिमी याने सन्तोष भट्टराईसँग मनुको दिलखोल दारु सम्बन्ध थियो। दुवैको सर्वाधिक प्रिय तरल द्रव्य जर्किने अर्थात् बास याने लोकल दारु अर्थात् नर्सिंगट्वाक नै थियो। दुवै तराइयन मित्र (सन्तोष जनकपुरको, मनु महोत्तरीको) काठमाडौंका जनप्रिय भट्टीभित्र नर्सिंगट्वाक खुब सुर्कंथे। र, डोलायमान हुँदै रातरातभर बागबजार, डिल्लीबजार, बत्तीसपुतली, गौशालाका सडक सम्राट् हुन्थे। र, बिहानीपख दुवै आआफ्नो सुलभ खोपीमा सटकसीताराम हुन्थे। सन्तोष कहिले मनुलाई आफ्नै घर लैजान्थ्यो। कहिले मनु पिन्किएर आफ्ना कुनै नातेदाको डेरा रोज्थे। त्यसको भोलिपल्ट सन्तोषको हामी मित्र मण्डलीहरूसँग भेट हुन्थ्यो। र, सन्तोष हामीलाई अघिल्लो रातको मनुसँगको आफ्नो दारुचर्याको रात्रिगाथा खुब मजा लिइलिई सुनाउँथ्यो।
हामी सब घरेलु व्यावहारिक दरुवा थियौं। जनप्रिय भट्टीहरूबाट बाहिर निस्किएपछि घडीले जत्ति बजाएको होस् हामी घरघर लाग्थ्यौं। तर, मनुको चाह अर्कै हुन्थ्यो। ऊ बासको मातमा काठमाडौंका सडकमा राज्य गर्न चाहन्थ्यो। त्यस्तोबेला ऊ काठमाडौंको निशाचर सम्राट् हुन चाहन्थ्यो। यसको लागि उसलाई कुनै कसैको साथ पनि चाहिन्थ्यो। जनताबिनाको सम्राट्को के काम ?
हामी घरेलु व्यावहारिक दरुवा थियौं। जनप्रिय भट्टीहरूबाट बाहिर निस्किएपछि घडीले जत्ति बजाएको होस् हामी घर घर लाग्थ्यौं। तर, मनुको चाह अर्कै हुन्थ्यो। ऊ बासको मातमा काठमाडांैका सडकमा राज्य गर्न चाहन्थ्यो।
घरेलु व्यावहारिक भट्टीको दैलोबाट निस्केपछि घरघर लाग्थे। बाँकी रहन्थ्यो सन्तोष। ऊ मनुको प्रजा हुन राजी हुन्थ्यो। अझ सन्तोष त अक्सर यस्तो अवसरको खोजीमा हुन्थ्यो। मनु काठमाडौं आएपछि सन्तोषलाई बरालिने यस्तो अवसर प्राप्त हुन्थ्यो। त्यसकारण सन्तोष मनु काठमाडौं आएको खबरमा निकै हर्षित हुन्थ्यो। काठमाडौंमा मनुलाई सहर्ष स्वागत गर्ने पहिलो व्यक्ति पनि सन्तोष नै हुन्थ्यो। बसबाट काठमाडौंमा झर्नेबित्तिकै मनुले खोज्ने साथी पनि सन्तोष नै हुन्थ्यो। दारुमत्त भैरव रूपमा रातभर भाँडिन पाइने हुनाले सन्तोष मनुको प्रिय थियो। तर, काठमाडांैमा मनुलाई प्रिय लाग्ने लेखक अरू नै थिए। यै कुरामा केही समय मनु र सन्तोषबीच मनमुटावयुद्ध चलेको थियो। यो युद्ध गोर्वाचोवको भट्टीबाट सुरू भएको थियो। महाबौद्धमा थियो गोर्वाचोवको भट्टी। ठ्याक्कै भन्दा महाबौद्धबाट भोटाहिटी निस्कने पुरानो वीर अस्पतालको पछाडिको लामो गल्लीको सुरुका दुईचार घरपछिको एक तीनतले पुरानो जीर्ण घरको दोस्रो तलमा बसेको थियो गोर्वाचोवको भट्टी।
वरिपरिका लोकलले त्यसलाई गोभाजुको भट्टी भन्थे। हामी गुरुवाको भट्टी भन्थ्यौं। लोकलबाहेकका अरू पनि गुरुवाकै भट्टी भन्थे। रुसमा गोर्वाचोव राष्ट्रपति भएपछि गुरुवाको भट्टीको अपभ्रंस बनाएर हामी त्यसलाई गोर्वाचोवको भट्टी भन्न थालेका थियौं। गुरुवासँग क्रुद्ध हुनु परेको एक साँझ मैले नै यसको न्वारन गरेको थिएँ। त्यसपछि त हरेक साँझ नियमित रूपमा भित्रिने हामी मित्रहरू विमल निभा, सन्तोष भट्टराई, श्यामल त्यसलाई गोर्वाचोवको भट्टी भन्न थालेका थियौं। त्यस साँझ गोर्वाचोवको भट्टीमा बिमल निभा, सन्तोष भट्टराई, मनु ब्राजाकी थिए। र, म थिएँ। फ्रिमा पिउने अवसर खोजिरहने बेकारी म हुने नै भएँ।
वरिपरि एकाध अरू जनता पनि थिए। तर, भट्टीको मदराज्य हामीले गरिरहेका थियौं। किनभने हाम्रो पियाइ उनीहरूको दाँजोमा तीव्र गतिमा चलिरहेको थियो। यस्तो अवस्थामा जसको तीव्र गति हुन्छ त्यसले राज्य त गर्छ नै। त्यसकारण हाम्रो मदसत्ता स्वतः स्थापित भएको थियो। चार, चार गिलास जर्किने (विमलजीबाहेक, किनभने विमलजी अल्पपेयी हुनुहुन्थ्यो, त्यसो त अहिले पनि विमलजी यस्तै पेयी हो।)
घाँटीबाट ओरालिसकेका थियौं। फलतः त्यसको मादको गति सबको कञ्चट हुँदै टुप्पी चढ्दै थियो। गफको पारो पनि रागको आरोह झैं उक्लँदै थियो। चढाइको यै क्रममा लागेको कुरा भन्न नदब्ने मनुले फ्याट्ट भने, ‘सन्तोष तिम्रो कथा लेखाइ चाइन्जो के रे मलाई मन पर्दैन। मलाई चाइन्जो केरे तिमीभन्दा फलाना फलानाका कथा मन पर्छन् ...।’
अब भो ! मनुले आफ्नो तर्क सोझ्याउन नपाउँदै तनाव जागृत भयो। सन्तोष चौथो गिलास रित्याउँदै जंगियो, ‘म तिमी जस्तो पण्डित हैन, तिमीलाई मन नपरे पनि मलाई फरक पर्दैन झुर मुला, ... (हामीतिर हेर्दै) झुर पण्डितहरू।’ सन्तोष यस्तैयस्तै बर्बराउन थाल्यो। गोर्वाचोवको भट्टी कोठा एकाएक अप्रिय तनावले भरियो।
हामी अक्कनबक्क के गर्ने, के बोल्ने रूपको भयौं। सबले आआफ्नो गिलासमा बाँकी बचेको लोकल मद्य स्वाट्स्वाट् ज्ञाम्बे पान गर्र्यौं। सन्तोषले यसो पल्टिएर खुट्टा तन्कायो। र, आफ्नो लंगडो खुट्टोपट्टिको पाइन्टको खल्तीभित्र झर्किंदै हात कोच्यो। एकछिनपछि मुठ्ठी पार्दै हात बाहिर झिक्यो। उसको मुठ्ठीभित्र केही नोट अँठ्ठिएका थिए। उसले ती सबै नोट खानपिनको हिसाब तिर्न साहु गोर्वाचोवतिर हुर्यायो। सन्तोषले त्यसरी आफूतिर नोट हुर्याएको देखेर गोर्वाचोव अपमानले तिलमिलायो। तर, केही नभनी गोर्वाचोव सन्तोषले हुर्याएका एक एकका नोटहरू टिपेर गन्न थाल्यो। गनिसकेपछि एकका दुई नोट त्यस्तै उपेक्षाले सन्तोषतिर फाल्दै गोर्वाचोवले भन्यो, ‘ला त्यरो बढी लिन पर्या छैन ब्रम्हु।’
त्यसपछि सन्तोष आफ्नो लंगडो खुट्टोलाई भरोसा दिन हात टेक्दै उठ्यो। गोर्वाचोवले फिर्ता फालेको नोटतिर उसले हेर्दै हेरेन। ऊ क्रुद्ध थियो। तनावले टुन्किएको थियो। बिलकुल केही नबोली भट्टी कोठाबाट एकदम मौनी रूपमा तल गल्लीमा निस्क्यो।
बाहिर गल्लीको हावामा आएपछि सन्तोष हामीसँग केही नबोली आफ्नो लंगडो खुट्टोले चप्पल पड्काउँदै अगाडि लागेको थियो। हामी जिल परेका थियौं। यो घटनापछिको केही दिनमा मनु आफ्नो गाउँ औरही लागेछन्। मनुको यो फिर्ती खबर हामीलाई सन्तोषले नै सुनाएको थियो। त्यसपछिको लगत्तैको कुनै एक साँझ शान्तिप्रक्रियाको लागि उनीहरू फेरि गोर्वाचोवको भट्टी गएका रहेछन्। र, आफ्ना मनमुटावयुद्ध गोर्वाचोवको घरेलु वास तन्काउँदै पखाले छन्।
मनु बिसको दशकको सुरुको वर्षमा लेख्न थालेका कथाकार हुन्। त्यसबेला कोही वाचाल वाक्यका तथाकथित अमूर्तवादी कथा लेख्थे। कोही तरलताग्रस्त वाक्यका उडन्ते कथा लेख्थे। माहोल यस्तै अमूर्तवादी, तरलताग्रस्त लेखनको थियो। नेपाली कथा लेखनमा समय चेतभन्दा भविष्य नभएको दिग्भ्रमित प्रयोगले स्थापित हुन खोजिरहेको थियो। तर, मनुको कथाकारिता बेग्लै किसिमले उदाएको थियो। जसलाई त्यस बेलाका असन्तुष्ट पाठकले तीव्रताका साथ पर्खिरहेका थिए। त्यस स्थितिमा मनु विद्रोही चेतका कलात्मक सौन्दर्यले माझिएका कथा लिएर प्रकट भएका थिए। राजनीतिक संक्रमण र दमनले गर्दा पिलन्दरे कथा लेखनको माहोलमा अनौठो फड्के वाक्य विधानका समय चेतपूर्ण कथा लेखनका मनुको उदय साहसको उदय थियो। यो स्वीकार्नु आवश्यक छ।
एउटा लेखकले समय थुन्ने शासकीय प्रयासको संघार नाघ्ने आँट गरेन भने त्यो आफ्नो समयको राम्रो लेखक हुन सक्दैन। यो चेत मनुसँग थियो। त्यसकारण उसले लेखनको सारा प्रचलित पण्डिते विधिविधान त्यागेको थियो। र, आफ्नो छुट्टै गतिशील मार्ग पैल्याएको थियो। प्रगतिशील लेखन गरिरहे पनि ऊ प्रगतिशील शब्दप्रति चिढिन्थ्यो। उसलाई रुष्ट गर्नु छ भने उसलाई तपाईंको लेखन प्रगतिशील हो भन्दिए पुग्थ्यो। र, म कसरी प्रगतिशील ? म कसरी कम्युनिस्ट ? भन्दै ऊ तर्कमा जाइलाग्थ्यो। तर, ऊ थियो त सर्वहारा जस्तै। मजदुर जस्तै। सीधा, सरल एकदम थोरै जमिनमा गुजरा गरिरहेको किसान जस्तै। त्यसकारण ऊ मजदुरले पिउने नर्सिंगट्वाक अर्थात् घरेलु रक्सी पिउँथ्यो। त्यसको लागि गल्लीका भट्टी धाउँन्थ्यो। र, त्यहीँ आफ्ना कथाका पल्ट खोज्थो, ऊर्जा लिन्थ्यो।
यदि चेतमानले धोका दिएको भए वा मनु ब्राजाकी बन्ने क्रममा ऊ बीचमै पलायन भएको भए विश्वसाहित्यले एक महान् कथाकार मनु ब्राजाकी पाउने थिएन।
२०३२ सालमा सन्तोष भट्टाराईसँग मेरो परिचय भएको थियो। उसैले हामी मित्रहरूलाई मनुबारे सुनाइरहन्थ्यो। हामी चमत्कारिक मनुबारे सन्तोषको कुरा सुनेर दंग हुन्थ्यौँ। त्यसबेला लेखन इतरका स्टन्टहरूको माहोल थियो। पुलबाट हाम्फानेदेखि आदरणीय अग्रज लेखकहरूलाई होच्याउनेसम्मको स्टन्ट त्यसबेला खुब हुन्थ्यो। विशेषगरी सन्तोष यस्ता स्टन्ट गरिरहन्थ्यो। त्यस बेलाको एउटा चर्चित आन्दोलन बुटपालिस यस्तै स्टन्टको एउटा नमुना थियो। सन्तोष मनुका पनि अनेक स्टन्ट सुनाउँथ्यो। सन्तोषले सुनाएको एउटा स्टन्टमा मनु र जगदीश घिमिरे पहाडबाट क्रान्ति सुरु गर्न सिन्धुलीसम्म पुगेको र बीचबाटै फर्किएको सन्दर्भ छ। तीसको दशकमा गफमा सीमित यस्तै क्रान्तिको विद्रोहीयुवा बच्काना सोच विमल निभा, नारायण ढकाल र मैले बुनेका थिएँ।
विमल निभा, नारायण ढकाल, श्यामल, ज्ञानुवाकर वा उनका अन्य समकालीनहरू कुमुद देवकोटालगायतका मित्रहरू, भाइहरू मनुको कथाको खुब प्रशंसा गर्थे। तर, घनिष्टतम साथी भए पनि सन्तोष मनुको कथाको त्यत्ति प्रशंसा गर्दैनथ्यो। प्रशंसा नगर्ने पनि होइन गर्थ्यो, तर एकदम कम, थोरैमात्र।
वास्तवमा ऊ मनुको लेखनभन्दा उसको रक्सी कारनामको बढी प्रशंसा गथ्र्यो। यस मामलामा ऊ मनुको उग्र प्रशंसक थियो। मनुको दिन चर्यामा, बानीमा रक्सी अवश्य जोडिएको थियो। तर, मनु बेजोड हृदयको लेखक, इमानदार सर्जक नभएको भए उसको व्यक्तित्वमा जोडिएर आउने रक्सी प्रसंगको चर्चा, आलोचना र मित्र मण्डलीहरूको मजाकपूर्ण प्रशंसाको कुनै अर्थ हुँदैनथ्यो।
मेरो स्मृति बैंकमा जम्मा भएअनुसार मनुसँग मेरो पहिलो भेट २०३३ सालमा भएको थियो। मनु सन्तोषसँग न्युरोड आउँदै थिए। म र मित्र विमल निभा पनि त्यतै जाँदै थियौं। सञ्जोगले सन्तोष र मनुसँग हाम्रो जम्का भेट भएको थियो। रात्कालो वर्णको, ठीकैको अग्लो, ठीकैको मोटाइको मृदुमुस्कानसहितको एक सुकिलो पोसाकधारी थारू, मधेसी, मधेसी लाग्ने नवमुद्रा हाम्रो सामुन्ने थियो। त्यसबेलासम्म मैले सन्तोषको गफमा बाहेक मनुलाई फोटोमा पनि देखेको थिइनँ। त्यसकारण स्वभावतः मेरो अजीव दृष्टि यो मुद्रामा केन्द्रित थियो। विमलजी पनि त्यै तालमा उसलाई घुरिरहनु भएको थियो। परिचय मागिरहेको हाम्रो दृष्टि हेर्दै सन्तोषले नेवारीमा मनु खः भन्याजसरी भनेको थियो, ‘मनु हो।’
त्यसपछि हामीले मनु अर्थात् मनु ब्राजाकीलाई आआफ्नो नाम भनेका थियौं। नमस्कार दिएका थियौं। मनुले नमस्कार फर्काउनु सट्टा हामी ठिटासँग हात मिलाएको थियो। मैले भर्खर विदेह त्रैमासिकमा प्रकाशित एब्सर्ड शिल्प विधानको उसको ‘दसैंका अनुहारहरू’ शीर्षकको कथा पढेको थिएँ। मैले उसलाई त्यसैको प्रशंसा सुनाएको थिएँ। यो प्रशंसामा विमलजीले पनि थपथाप गर्नु भएको थियो। मनु मक्ख थिए। र, हामीलाई चाइन्जो के रे धन्यवाद भनेका थिए। वास्तवमा मनुलाई कुराको बीच बीचमा चाइन्जो के रे भन्ने बानी थियो। उसको यो चाइन्जो के रे मलाई कहिले मिठासपूर्ण लाग्थ्यो, कहिले बेमाजाको, कहिले रिस उठ्दो पनि। मलाई झर्को लागेर कुनै एक भेटमा मैले मनुलाई भनेको थिएँ, ‘मनु दाइको जिब्रोलाई छिटै बुढ्यौलीले अँठ्याएछ।’
‘किन होला राजवज्यौ (बेलाबेला कसैलाई चिढाउनु पर्यो भने नाममा ज्यू, ज्यौ लाउने मनुको अर्को अप्रिय बानी थियो) ? ’
‘किनभने तपाईंको बोलीमा ठालु बूढोको थेगो चाइन्जो के रे किन झुन्डिरहने गर्छ।’
‘चाइन्जो के रे मेरो जिनमै छ, मेरो हजुरबाबाट ममा आएछ चाइन्जो के रे राजवज्यौ।’
त्यसपछि मनु जिनबारे लेक्चर छाँट्न थालेको थियो। वास्तवमा मनुलाई मानव शरीर संरचनाको, स्वास्थ्य विज्ञानको, घरेलु औषधिमुलोको, धर्मशास्त्रको, चित्रकारिताको थोरतिनो टुक्रे ज्ञान पनि थियो। सुन्नेलाई ऊ आफ्ना यस्ता ज्ञान सुनाएर कायल पार्थ्यो।
मनुसँग मेरो हातका औंलाका कोठामा गन्न सकिने जत्तिमात्र भेट भएको छ। सँगै बसेर पिएको क्षण त एकदम कम छ। रक्सी सुक्र्याउन थालेपछि मनु खल्तीबाट गजलका भाले, पोथी निकाल्थ्यो। र, निकालिएको सब चल्ला, चिल्ली सुनाउन थाल्थ्यो। उसको गजल सुनेर म वाह ! इही ! उहु ! केही नभनी चुप रहन्थेँ। तर, उसको एउटा राम्रो बानी थियो– ऊ कस्तो लाग्यो भन्ने सोध्दैनथ्यो। त्यसकारण उसलाई प्रतिक्रया दिनु पर्दैनथ्यो। सुनेमात्र पुग्थ्यो।
एकदिन मैले मनुलाई सोधेको थिएँ,’ मनु दाइ तपाईंजस्तो मुक्त हुन चाहने लेखक यो बँधुवा विधा गजलमा किन लागेको ?’ जवाफमा जेनेटिक चाइन्जो झिक्दै मनुले भनेका थिए,’ चाइन्जो केरे ज्ञानुवाकरले लेख्न प्रेरित गरिरह्यो नलेखी सुखै पाइन।’ मैले जिस्क्याएको थिएँ,’ ठीक गर्नु भयो मोतीराम हुनु हुने भयो।’ यसमा मनुको जवाफ थियो, ‘मोतीराम त ज्ञानुवाकर हो, म त कौडीराम हुँ।’
तर, नेपाली गजलका विज्ञहरू, पाठकहरू मनुको गजलमा हीराको चमक, आत्माको लेपन देख्छन्। मनुले यस बँधुवा विधालाई आफ्नु लेखनीमा राम्रै सोधेको थियो। ऊ गजलको स्तरहीन दलदल र खलबलमा हीरा झैं चम्केको छ नै। नेपाली कथा लेखनमा त्यो भन्दा बढी चम्केको छ। ऊ कथा र गजल दुवैको सम्मानित नाम हो।
विश्वकथा साहित्यमा उपन्यास नलेखी कथामात्र लेखेर अत्यंत स्मरणीय, आदरणीय भएका लेखक पुष्करशमशेर, चेखव, काफ्का, शाकी, गुलेरी, मन्टो, रावी, ज्ञानरञ्जन, भुवनेश्वर, रेमन्ड कारभार, तोबाएस वुल्फ, आदि नामहरूको पंक्तिमा राख्न हिच्किचाउन नपर्ने उपल्लो नेपाली लेखक हो– मनु ब्राजाकी।