मजराको मज्जा
‘सहरका नेपाली कामदार हेरिहाल्नु भो। अब गाउँमा पसिना चुहाउने नेपाली नि हेर्नुहोला !’
अघिल्लो दिन मुर्तुजा पार्कमा भेट्दा होम कार्कीले भनेथे।म आफैं पनि कतारका गाउँ डुल्न चाहन्थेँ। अझ दोहाभन्दा निकै पर रहेका मजारामा काम गर्ने नेपालीहरूसँग भेट्न चाहन्थेँ।
होमले यति भनेपछि मलाई ठूलो भरोसा पाएको लाग्यो। मेरो मनकै कुरा उनले बोले भन्ने लागिरहेकै थियो।नभन्दै भोलिपल्ट म बिहानभरि भिलाइजो टाउनमा डुले पनि १२ बजेपछि कार्की लिन आए। शनिबारको दिन थियो।
सन्जीव रानाभाट र कार्की मध्य घामको कडा धुपमा आइपुगे। उनीहरूलाई कुरुन्जेलमा गाडीको एसी सिद्धिएलाजस्तो भइसकेथ्यो।
रानाभाटको गाडी अलिक लामो थियो। मलाई चिसोले समातिहाल्थ्यो— त्यै भएर गाडीको एसीलाई कम गराउन लगाएँ। तैपनि ख्वाङ-ख्वाङ खोकीले मलाई निकै बेरसम्म घाँटी कोतरिरह्यो।
‘यो पुरानो गाउँ हो !’नाघिरहेका बस्ती मलाई चिनाइरहेका थिए कार्की।आँखाले नभ्याउने बालुवाको रास छ। त्यस्तो मरुभूमिमा पनि कतै-कतै पोथ्रा उम्रेर मनै शीतल पार्छन्।
ठाउँ-ठाउँमा ठूला-ठूला सडकहरू बनिरहेका देखिन्छन्। बालुवा सम्याएर त्यहाँ डोजरले थिचथाच पारेपछि अलकत्रा हालेर पेल्ने बित्तिक्कै पिच रोड बनिहाल्ने पो देखेँ मैले त। क्या सजिलो !
जतासुकै यसै गरी बाटाहरू धमाधम निर्माण भइरहेका देखिन्थे।बेतोडले दगुरिरहेका छौं हामी। पातला बस्तीहरू देखिन्छन्। बालुवाको चाङमा उभिएका फुस्के घरहरू। त्यहाँ पनि नयाँ र आधुनिकता भित्रिरहेको देखिन्थ्यो।
ठाउँ-ठाउँमा गाडीका जाम बेपत्तैसँग देखिन्थे। फराकिला बाटा हुनाले बिस्तारै-बिस्तारै खुकुलिइहाल्थ्यो जाम।
‘हामी पूरापूर गाउँतिर पसिसकेका छौं !’कार्कीले मलाई पर-परका पातला बस्तीतिर देखाएर भने।
जमेलिया क्षेत्रतिर हामी गइरहेका रहेछौं।
यो कतारको घना बस्ती इलाका रहेछ। साउदी अरबतिर सिमाना भेटाउन सकिने हुनाले एक प्रकारले व्यस्त राजमार्गको क्षेत्र पनि रहेछ। बाटाभरि धुलो उडेर निकैपटक गाडी रोक्नु पर्यो। हावाको मुस्लो बटारिएर आउँदा गाडी नै उडाउला जस्तो हुन्थ्यो।
निकै पटक त गाडी नै रोक्नु पर्यो।
‘म धेरै चोटि यस्तो चपेटामा परेको छु !’
‘बालुवाको आँधीहुरीमा परेर एकपटक त झन्डै अल्लाहको घरमा पुगेको। बाल-बाल बचियो नि !’
रानाभाटले अहिले पनि बालुवाको ठूलै हुरीले सडकै ढाकेपछि गाडी रोक्दै भने।
हाम्रा अगिल्तिरको सडकभरि धुलाम्यै हुरी फैलियो।
आँखाले नभ्याइने तारबेरा थियो। त्यसभित्र हजारौं उँट उभिइरहेका थिए टङरङ। कोही थुतुनो जोतिरहेका थिए। कोही जिस्काजिस्की गरिरहेका थिए। कोही त्यत्तिकै एकअर्कालाई पछ्याइरहेका थिए।
संसारै बल्ने तातो छ। तर, गाडीमा भएको चिसोले पनि मलाई चैं खोकी लगाइहाल्छ। साथीहरू अचम्म मानिरहेका छन्।
बाटो लागेपछि पो गर्मी र तातोको छनक मज्जाले देखियो। हामी हुइँकिइरहेको कालो अलकत्रे सडकमा पानी पोखिएजस्तो देखिन्छ। त्यहाँनिर पुग्दासम्म त्यो पानी हराएर पूरै कालो अलकत्रे बाटो पसारिन्छ। यस्तो भइरहन्छ पटक-पटक।
बाटोमा घामको तिरिमिरी छ अचाक्ली।
‘ढुंगा पग्लेर यी यत्तिको बालुवा बनेको !’
‘बालुवा बलेर यत्तिको तातो भएको !’
कार्कीको कुरामा रानाभाटले अरू थपे।
मैले सुनी मात्र रहेँ। किनभने यो मरुभूमिमा यिनले समय खर्चेका छन्— मैले त एक भाग नि खर्चेको छैन। अनि बोल्नु पो कसरी !
अल सहनिया पुगेछौं।
नीलो अकासमा किन बेग्लै छाप छ, रङ छ ? के बालुवा निरन्तर उडी-उडी अकासको रङ भिन्नै भएको हो कि ? छारो उडेर वरिपरिको तातोले केही चिसिन पाएको हो कि जस्तो लागिरहेको छ मलाई।
पर-पर स-साना छाना नभएका घरहरू टुप्लुकिन्छन्। एकतले ती घरहरू पनि उही बालुवाको रासलाई सामान्य मिलाएर थुपारेको जस्तो मात्र लाग्दैछ।
‘ती उँट र बाख्रागोठ हुन् !’
कार्की बताउँछन्।
यहीँ नै कतारीले भेडा, उँट पाल्ने गर्दा रहेछन्। सुडानी, मि श्रीहरूको रुचिमा त्यो काम पर्छ रे प्रायः।
घाँस बोकेर गएका लरीहरू देखेपछि रानाभाटले मलाई बताए।
अल सहनियामा उँट रेस हुने ठूलो मैदान देखियो। यहाँ हरेक वर्ष उँट दौडको भव्य प्रतियोगिता हुँदो रहेछ !
‘कति नेपाली तन्नेरी बाजी थाप्न याँसम्म आइपुग्छन् !’
रानाभाट बोल्छन्।
देब्रेतिरको त्यो चौरको वरिपरि झन्डा गाड्ने अग्ला-अग्ला फलामे डन्डी गाडिएका देखिन्थे। डोरीका लुर्कन झुन्डिरहेका देखिन्थे तुर्लुङ-तुर्लुङ।
काँडाघारी निकै देखिरहेको छु म। केही बाक्लै रूखबिरुवा र बारले घेरेका हरिया रूखपात देख्न पाइरहेको छु। रुख्खिएको मनमा एकाएक शीतल होलाजस्तो भो।
बाटोमा उँटका बथानले स्वागत गरे। बीस-बाइस उँट धपाएर दुई-तीन गोठालाहरू पछिपछि लुरुलुरु गइरहेका थिए। उँटका सामु गोठालाको अग्लाइ त हुनसम्मको पुड्को।
पूरै मुखदेखि पैतालासम्म छोपिएका ती गोठालाहरू खोरमा उँट पसाउन लागिपरेका देखिन्थे।
अल सेनाबाट ठूलो राजमार्ग छोडी हामी गाउँतिर पस्यौं। मूल बाटोबाट मोडिएर पश्चिम-उत्तर हँदै गएको बाटो एउटा ठूलो बगैंचाजस्तो ठाउँमा गई रोकियो। त्यसको मुखैमा लेखिएको थियो— अल सेना मजारा।
कतारीहरू खेतीपाती, बस्तुभाउ पाल्ने ठाउँलाई ‘मजारा’ भन्दा रहेछन्।
यी मजारामा धेरै नेपाली छन् भन्ने सुनेपछि म यता आउन छट्पटिएको थिएँ। मजारामा थुप्रै नेपालीले पसिना चुहाइरहेका छन् भन्ने थाहा पाएकैले यो ठाउँ हेरिछाड्ने रहरले उचालिएको थिएँ म।
गाडीबाहिरै थान्कोमान्को लगाए सञ्जीवले।
गाडी राखेनिरै बाख्रा र भेडाको खोर देखियो। नाकमा जुतो र मूतको कडा गन्धले मेरो नाक झस्कियो।
मैले सरर्र खोरतिर हेरेँ। थुप्रै बाख्रा र भेडा उग्राइरहेका थिए। ठूलो टहराभरि रंगीबिरंगी भेडाबाख्रा थिए। ढोकामा ठूला-ठूला छ-सात बाख्राभन्दा अग्ला खैरा रङका बिरालाहरू थिए।
मजाराभित्र पस्यौं हामी।
खजुरै-खजुरका अग्ला र सुरिला रूखहरू निकै हार मिलाएर रोपिएको थियो। खुला आँगनभन्दा पश्चिमपट्टि थियो छाप्रो।
हामीले केही खानेकुरा लगेका थियौं।
छाप्रोमा चारपाँच नेपाली धमाधम लुगा लगाइरहेका थिए। कोही मोजा लगाइरहेका, कोही पन्जा लाइरहेका, कोही फेटा कसिरहेका, कोही भित्री गन्जी फेरिरहेका थिए।
हामी पुगेपछि उनीहरू रमाए। उनीहरूसँग बोल्न पाएर मलाई नि बिछट्टै हर्षको अनुभव भयो। बेग्लै खालको आनन्दी लाग्यो।
मैले हतार-हतार लुगा लाइरहेका पाँचथरका भीमकुमार थेबे, म्याग्दीका दीपेन्द्र परियार, सर्लाहीका मनबहादुर बोमजनसँग चिनाजानी गरेँ। पाल्पाका खगेन्द्र बगाले पनि त्यहीँ भेटिए।
खगेन्द्रबाहेक अरूहरू काममा जाने भएकाले टाउकोदेखि पैतालासम्म थरी-थरीका लुगा कसिकसाउ गरिरहेका थिए।
‘के काम छ र अहिले ? ’
‘टमाटर, कोबी, डल्ले खुर्सानी टिप्नुपर्ने छ !’
बोमजनले उत्तर दिए।
उनीहरू बाहिर गनाइरहेका जुत्तामा खुट्टा ख्वास-ख्वास छिराउँदै तरकारी बारीतिर लागे। ठाउँ-ठाउँमा लुगाका भारी थुप्रेका थिए बेस्सरी।
मैले सरर्र आँखा कुदाएँ कोठामा।
भित्ताभरि रगतका टाटैटाटा थिए। एउटा ठूलो खाटमा मैलो न मैलो तन्ना र पातलो डसना थियो। च्याङ्लो डसना फाटेर कति ठाउँबाट कपास खसेको नि देखिन्थे।
पंखा चम्की-चम्की कराइरहेको थियो उत्तरी कुनामा। पूर्वपट्टि एअर कन्डिसनको पुर्जा पनि गर्जिरहेको थियो। कोठाभरि विभिन्न नेपाली पत्रपत्रिका छरिएका थिए।
लुगाको हविगत देखिन्थ्यो। सर्टका बाहुला कुनै मोरिएका थिए। कुनै उल्टापुल्टा देखिन्थे। पाइन्टको मोहोता एउटा माथि बटारिएको र अर्को खज्याङमज्याङ भएको देखिन्थ्यो। गन्जी र कट्टु एकै ठाउँमा गुजुल्टिएका थिए ओछ्यानैभरि। अस्तव्यस्त थियो कोठा।
बगाले पाँच वर्ष भएछ यता आएको। अरू सबै ठीकै भए पनि गर्मी नै मन नपरेको भन्थे उनी।
‘मुख्य दुस्मन भन्नु नै गर्मी हो !’
बगालेले भने।
खाटको चेपमा पुरानो मादल थियो। खरी झरेको मादलका धेरै ठाउँमा रगतका टाटा देखिन्थे।
‘कीरा मारेको सर !’
मेरो खसखसलाई उनले शान्त पारे।
उडुसलाई उनी कीरा भनिरहेका थिए। कतारमा उडुस अति नै लाग्दो रहेछ। गर्मी औधी भएर पनि होला, उडुस चम्केका।
‘मेरो साथी चिमबहादुर थापाले उडुसकै रगतबाट चिठी लेखेर गाउँकी केटी पट्याएछ !’
बगालेले यसो भन्दा हामी थोरै हाँस्यौं।
उनी ज्वरो आएकाले आज आराम गरिबसेका रहेछन्। अनि भेट्न पाएका रहेछौं हामीले। छेउमा पानीको जग, केही चक्की र भिजाएको रुमाल देखिन्थ्यो।
ज्वरोलाई धेरै-धेरै धन्यवाद !
‘अहिले त फोन छ। यै भित्र घर छ। छोरो नि यीँ देखिन्छ। स्वास्नीले फेरेको फरिया नि यीँ देख्न पाइन्छ।’
उनले मोबाइल हातमा लिए। अनि भाइबरमा आएको छोराको फोटोसमेत देखाए।
‘अर्को साल नटेक्दै फर्किन्छु होला !’
बगाले बोल्दै-बोल्दै उठे।
अनि फेरि आएर चुपचाप सुते। त्यही बेला झ्यालमा देखिएको एउटा अग्लो मान्छेले खोइ के भन्यो अनि लगत्तै गयो।
ऊ गएपछि बगाले बिस्तारै बोले, ‘म बिरामी भ’को मुदिरको भाइलाई थाहा थियो। बिरामी मान्छे किन बोलेको भन्दै हप्काएर गयो !’
‘गयो, अब ढुक्क !’
भित्ताको झ्यालबाट ऊ गएको हेरेपछि बगाले उठेर बोल्न थाले।
अनि बाहिर जाने तयारी भयो। उनीसँग हामी पनि बाहिर आयौं। वरपर हेर्यौं। मैले खजुरका काँडे बुट्टामुनि बसेर एक छिन हराउने मन गरेँ।
चरक्क पोल्ने घाम थियो। छालै लुछ्ने तातो थियो। तै वरिपरि रूखबिरुवा बेस्सरी हुनाले सास चैं तातो भएन।
‘अब हाम्रो मिहिनेत हेर्नुस् !’
उनले तरकारी बारी र खेतीपाती देखाउन खोजे।
मैले यो हेर्नै खोजेको थिएँ। उनीहरूले खेती लगाउने माटो, तरिका, मल, श्रमबारे हेर्ने इच्छा थियो।
कुरो मिल्यो।
अनि बारीमा पस्यौं।
बाफरे कति धेरै तरकारीका किसिम ! गोलभेडा, खुर्सानी प्लास्टिकका छानाभित्र फलिरहेका थिए। काउलीका बोट पनि देखिए। बन्दाकोबीका पात चँड्दै थिए अघिका साथीहरू।
काँक्रा, खिर्रा, धनियाँ र बोडी रोप्ने माटो तयारी पारिँदै थियो।
‘माटो चैं कहाँबाट ल्याउँछन् ? यहाँको बालुवामा त के उम्रेला र ? ’
मैले बगालेलाई सोधेँ।
‘साउदीबाट आउँछ !’
बगालेले खैनी माडेर च्यापे।
अनि फेरि बोले, ‘साउदीले नदिए यहाँका मान्छेले सास फेर्न नि सत्तैmनन् !’
रानाभाट, कार्कीसँगै म नि हाँसेँ।
‘यहाँ अपराध गरे साउदीको सिमानामा लगेर गिँड्छन् !’
बगालेले पिच्च थुकेर बोले। अनि गिजाको खैनी हातले मिलाए।
हामी तरकारी बारी डुलिरहेका छौं।
‘आज मुदिर छैन !’
‘को नि मुदिर भनेको ? ’
‘मुदिर भनेको यो मजाराको मालिक !’
बगालेले बताए।
म त खजुरका काँडेदार रूपले दिएको सुन्दरतामा हराइरहेको थिएँ। पर-परसम्म पैmलेका पातले एउटा बेग्लै वातावरण बनाएको ठानिरहेको छु म।
‘मुदिरको छोरो आउँदैछ। तर पढेको, मज्जाको मान्छे छ !’
उनले फेरि पिच्च थुके।
हामी फर्सीबारी नाघिरहेका छौं। वरिपरि रूखले घेरेको, बीचमा तरकारीका ड्याङ लगाइएको निकै मोहक छ।
टुप्पीदेखि पैतालासम्म लुगाले छोपिएका आठ-नौ कामदार तरकारी टिपिरहेका, गोडमेल गरिरहेका देखिन्थे।
‘जेठ उता पूरै पानी तातो हुन्छ। अनि तातो पानीमा तर्कारी सप्लाउँदैन। सप्पै सुक्छन् बोटहरू !’
बगाले बोल्दैछन्।
मैले सोधेँ, ‘बाख्रा कति छन् नि ? ’
‘साठी-सत्तरी माउ होलान् !’
मजाराको साहू जोर्डनको रहेछ। दूधका लागि बाख्रा पालेको रहेछ उसले।
हामी लम्किरहेका छौं सुस्तरी। पसिनाले काखीमा सरर्र बग्न छोडेको छैन।
लौका, भेन्टा, तरबुजा पनि आपूmहरूले फलाएको बगालेले सुनाए।
‘मान्छेले फलाउन सक्तो रहेछ सर !’
‘माटो हुनु पर्यो !’
उनको अनुहारमा हाँसो थियो।
बगालेले हामीलाई अलिक पश्चिमतिरका लस्करै प्लास्टिकका घर देखाएर भने, ‘बीसवटा टँडेल छन् !’
तिनले ‘टनेल’ भनेका होलान्— तर सुन्दा मीठो सुनियो।
कुरैकुरामा हामी बाहिरियौं।
‘उँट पनि हेरौं न !’
उनैले भने।
हाम्रो गाडी त्यतै मोडियो। हुरुर्र कुदाएर रानाभाटले उँटको बारछेउमा लगे।
बाफरे उँटको बथान !
कति धेरै हो ! कति अग्ला हुन् !! कुन बच्चा, कुन आमा !!!
आँखाले खुलदुली मच्चायो एकै चोटि।
बगालेले एकजना नेपाली पनि यै उँटको रेखदेखमा छन् भनेर लगे हामीलाई चिनाउन। चार-पाँँच लामा टहराका बाहिर कुकुर जस्ता अग्ला न अग्ला बिरालाहरू हाई काडिरहेका थिए। झम्टेलान् जस्तो ठानेँ मैले।
बगाले एक छिन हराए।
रानाभाट, कार्की र मैले पानी पिएर उनको बाटो हेर्यौं। उत्तरतिरको ठूलो फाँटमा साना-ठूला हजारौं उँट थिए। मैले नजिकै गएर हेर्ने मन गरेको थिएँ।
‘छुट्टीमा नेपाल गा’छन् रे !’
नेपाली गोठालो नभएको खबर लिएर उनी आए।
‘धेरैजसो ब्याउन लागेका छन् रे। नजिक नजानु, अलिक परैबाट हेर्नु भन्छ त्यो पाकिस्तानी !’
बगालेले अनुमति लिएर आएछन्।
हामी फेरि फनक्क फर्केर उँटका बगालतिरै गयौं।
एकदमै ह्वास्स गनायो उँटको गोठमा पुग्दा। धेरैजसो डुँडमा मुख जोतेर खाइरहेका थिए। अलिक अनौठो स्वर सुनियो उँटको।
हामी बार छेउमा उभिउन्जेलमा आठ-दस उँट लम्केर आए। दाना खुवाउने बेला भएको थियो कि ? अथवा पानी पियाउने समय भएको थियो कि ?
‘थुतुनोले नि हिर्काउँछ, लात्तीले नि बड्काउँछ !’
बगालेले सतक्र्याए हामीलाई।
दुईचार तस्बिर खिचेर हामी गाडीभित्र पसिहाल्यौं।
दक्षिणतिर अग्लो र लामो टहरो थियो। केही उँट त्यहाँ पनि थिए। आँखाले नभ्याइने तारबेरा थियो। त्यसभित्र हजारौं उँट उभिइरहेका थिए टङरङ। कोही थुतुनो जोतिरहेका थिए। कोही जिस्काजिस्की गरिरहेका थिए। कोही त्यत्तिकै एक अर्कालाई पछ्याइरहेका थिए।
दोबाटामा आएर बगाले मजारातिर पसे। हामी हुइँकियौं दोहातिर।
छुट्टिनुअघि मैले सोधेको थिएँ, ‘आज कुन बार, गते, मैना कसरी थाहा पाउनुहुन्छ ? ’
‘आज वैशाखको ११ गते हो। साल त त्रिहत्तर भइहाल्यो। कहिलेकाहीँ झुक्किए— घरतिर हानिन्छ फोन। यो ट्याङ्रोको के काम त ? ’
ती दुखियाले एक फेर हँसाएका थिए।
गर्मीले गालिएका बगालेले अघि भनेको सम्झिरहेको थिएँ, ‘मादल बजाउन नपाएर साह्रै छट्पटी भा’छ !’
तिनको दुःखले बजेको-बजेकै थिएँ म त !