हवाई चप्पल
उमेर १० वर्ष।
खुट्टामा पहिलोपटक चप्पल परेको दिन। सोही दिन कक्षा ४ आरम्भ भएको प्रथम बिहानी पनि थियो। फागुन १ गतेको बिहानी मेरानिम्ति एकै पटक थुप्रैखाले खुसी बोकेर आएको थियो। अघिल्लो दिन साँझपख मैले आमाबाट चप्पल उपहार पाएको थिएँ। चप्पल निकै मोटो थियो। हवाई चप्पल थियो, त्यो। त्यस समय आफ्नै उमेरका दौंतरीले हवाई चप्पल लगाएर बाटोमा फट्याकफट्याक पड्काउँदै हिँडेको देख्दा मेरो मन खुबै कल्पिन्थ्यो। यस्तो लाग्थ्यो, ती दौंतरी मेरो अभावमा खिसी गरिरहेका छन्, मलाई गिज्याइरहेका छन्।
मनमनै सोच्थेँ, म पनि कुनै दिन त्यसरी नै हवाई चप्पल लगाउने छु। त्यस समय मेरो जीवनको मुख्य आकांक्षा हवाई चप्पल लगाउनु रहेको थियो। र, मेरो आकांक्षा आमाले पूरा गरिदिएकी थिइन्। ‘कक्षामा पहिलो भइस् भने मात्र तैंले चप्पल पाउनेछस्’, ३ कक्षाको अन्तिम परीक्षा आउँदै गर्दा उनले भनेकी थिइन्। त्यसअघिका कक्षामा दोस्रो–तेस्रो हुँदै आएको मलाई चप्पल पाउने आशाले बढी मेहनत गर्ने प्रेरणा दिएको थियो। र, म आफ्नै दिदीलाई उछिन्दै कक्षामा प्रथम भएको थिएँ।
मेरो खुसी दोहोरो थियो। पहिलो, खुट्टाले चप्पल पाउनु अनि दोस्रोचाहिँ कक्षा ३ मा प्रथम भएर अर्को कक्षा चढ्नु। फस्र्ट ब्वाइका हैसियतमा नयाँ कक्षा जाँदाको पहिलो अनुभवले मेरो खुट्टा भुइँमै थिएनन्। कक्षाका अन्य साथीहरूले कस्तो व्यवहार गर्ने हुन्, शिक्षक–शिक्षिकाले कसरी बधाई दिने हुन् आदि। एउटा अर्को झिनो खुसी पनि कताकता मभित्र पलाइरहेको थियो। कक्षामा ए बी सी डी पढ्न पाउने। त्यस बेला ए बी सी डी पढ्न कक्षा ४ मा पुग्नुपर्थ्यो।
तथापि, मैले एदेखि जेडसम्मका अक्षर घरमै चिनिसकेको थिएँ। म किन खुसी थिएँ भने, ती अक्षर विद्यालयमा सिक्न पाइने कुरो थियो, त्यो पनि हेडसरबाट। पहिलो कक्षा उनै हेडसरले लिने कुरा नतिजा प्रकाशनको दिन सुनेको थिएँ। हेडसर हिसाबबाहेक सबै विषय पढाउन सक्थे। यस्तो लाग्थ्यो, उनलाई नआउने कुनै विषय नै छैन। उनी सर्वज्ञाता हुन्। दुनियाँमा मेरा हेडसर जत्ति जान्ने अरू कोही पनि छैन भन्ने लाग्थ्यो। र, हेडसरजस्तो डरलाग्दो मानिस पनि अर्को कोही छैन जस्तो लाग्थ्यो। संस्कृतमा त उनी धुरन्धर नै थिए, अंग्रेजी पढाउन पनि उनै अघि सरेका थिए। सोही दिन आफूले चाहेको कुरा चप्पल पाएपछि मेरो खुसी निकै चुलिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई देब्रे पारेर हामी विद्यालय जान्थ्यौं। त्यसबखत गुह्येश्वरी मिडिल स्कुल (हाल गुह्येश्वरी उच्च माध्यमिक विद्यालय) पुरानो सिनामंगलमा थियो, हाल पेप्सीकोला कम्पनी रहेको स्थाननजिकै। विमानस्थल सुरक्षाका निम्ति तैनाथ प्रहरीको आँखा छलेर कहिलेकाहीँ त धावनमार्गमै पुग्थ्यौं हामी केटाकेटी। जहाज उड्न र बस्न लागेको साइरन बजेपछि हामी कुद्दै किनारा लाग्थ्यौं। जाडो महिनामा धावनमार्गमै सुतिदिन्थ्यौं, त्यो पिच निकै तातो हुन्थ्यो। धावनमार्गमा हामी पुगेको देखेपछि प्रहरीले परसम्म लखेट्थे। तिनले हामीलाई भेटे भने कान निमोठ्थे बेस्सरी र उठबस गर्न लगाउँथे।
लालबहादुर खाती पनि कुनै बेला विमानस्थल सुरक्षाकर्मीका रूपमा काम गर्थे। तर, उनी चर्चित लोकगायक रहेछन् भन्ने कुरो मैले धेरै वर्षपछि मात्रै थाहा पाएँ। हामी धावनमार्गबाट हिँडेको उनले भेटे भने सजाय नदिई घरबाट मकै–भटमास र मुला लेरा भन्थे। हामी उनको माग पूरा गरिदिन्थ्यौं र उनलाई गीत गाउन अनुरोध गर्थ्यौँ। सधैं हाम्रो अनुरोध उनी मान्दैनथे, कहिलेकाहीँ भने गाइदिन्थे— ढुंगे बगर माया ढुंगे बगर, माया छँदैछ हल्ला नगर...!
विमानस्थलको पूर्वी भागमा पैदल यात्रु हिँड्न र आकाशे पानी व्यवस्थित गर्नका निम्ति चिप्ला चिनियाँ इँटा बिछ्याइएको थियो। विमानस्थल वरपर पानी नजमोस् भनेर दायाँबायाँ इँटा भिरालो पारेर बिछ्याइएको थियो, बीचमा खोल्सो राखिएको थियो। त्यो चिप्लो पनि थियो।
त्यस दिन म एक्लै विद्यालय जाँदै थिएँ। चाँडो विद्यालय पुग्ने इच्छा जागेको थियो। चप्पल हुलेका मेरा खुट्टा निकै उचालिएका थिए। त्यसमाथि कक्षामा प्रथम भएको फुइँ पनि कम थिएन। म भुइँतिर नहेरी, आकाश तथा परपर शान्त र कञ्चन बहिरहेको मनोहरा नदीतर्फ हेरिरहेको थिएँ। पूर्वपट्टि दलित बस्ती थियो, विशेषगरी सार्की बस्थेँ त्यहाँ। त्यही बस्तीमा मेरो एउटा मिल्ने साथी थियो— कृष्ण मिजार। मेरो ऊसँग आत्मीयता थियो। साथीहरू उसलाई किस्ने भन्थे। विद्यालय जाँदा प्रायः म उसलाई बोलाउँथेँ र सँगै जान्थ्यौं हामी। विद्यालय जान मैले बोलाएको कुराले उसका बाबु मसँग निकै खुसी थिए। आफ्नो छोराले धेरै पढोस् भन्ने चाहना उनमा थियो।
म कृष्णको घरछेउ पुगेको थिएँ, निकै उचालिँदै र उफ्रँदै। मेरो मन अधीर भइरहेको थियो, निकै चुलबुल भइरहेको थियो। म कृष्णलाई बोलाउन मुख के खोल्न आँट्दै थिएँ, नराम्ररी चिप्लिएँ चिनियाँ इँटामा। उसलाई बोलाउन केही उफ्रिएको थिएँ। पहिलो दिन लगाएको चप्पलको दाहिने फित्ता चुँडियो। म इँटा छापिएको भुइँमा बजारिएँ। हात–खुट्टाका केही ठाउँ दरफरिए। मेरा आँखा न घाउ लागेका आफ्ना अंगतिर थिए, न त छरिएका पुस्तक र कापीतिरै। सारा ध्यान चुँडिएको चप्पलमा केन्द्रित थियो। केही मिनेट म भुइँबाट उठ्न सकिनँ, जसरी लडेको थिएँ उसैगरी पल्टिरहेँ। काठमाडौं खाल्डो चिसोलाई बिदा गर्ने मुडमा थियो। बिहानीपख लागेको हल्का हुस्सु फाट्दै घाम लागिसेकेको थियो। तर, फागुनको त्यो घाम कलिलो थियो र प्रिय पनि थियो। मैले यताउता हेरेँ, बाटोमा कोही पनि थिएन। हातबाट फुत्केर छरिएका पुस्तक र कापीहरू बटुलेँ। हातमा पुस्तक अटाइनअटाइ भएका थिए। मेरो कक्षाका दुईचार जनाबाहेक अरू कोही पनि झोलामा पुस्तक बोक्दैनथे। पुस्तकलाई झोलामा राखेर विद्यालय जान मैले कक्षा ७ पुग्नु परेको थियो।
विस्तारै मैले चप्पल हातमा लिएँ। त्यो निकै सफा र चिटिक्क थियो, रातो रङको। चुँडिएको चप्पल देखेपछि मैले आँसु थाम्न सकिनँ। केही बेर चप्पल छातीमा च्यापेर रोइरहेँ। घरमा के भन्ने ? विद्यालय कसरी जाने ? चुँडिएको चप्पल कसरी बनाउने ? थुप्रै प्रश्न दिमागमा खेल्न थाले। अग्रजहरूले हवाई चप्पल चुँडिँदा फित्ताको तलपट्टि फलामे किला घोपेर अड्याउने गरेको मैले देखेको थिएँ। वरिपरि आँखा घुमाउन थालेँ, कतै किला पाइन्छ कि भनेर।
तर, किला पाउन सकिनँ। त्यसपछि मैले सहायता माग्न उही आफ्नो दौंतरी कृष्णलाई बोलाएँ। कृष्ण दौडँदै मेरो छेऊ आइपुग्यो। कृष्णलाई आफ्नो छेउमा पाउँदा म एकपटक फेरि रोएँ। मैले आफ्नो दुःख उसलाई सुनाएँ, चुँडिएको चप्पल देखाउँदै। उसले हाँस्दै भन्यो, ‘ह्या तँ पनि यस्ता कुरामा पनि रुने हो ? मेरा बाले एकछिनमै बनाइदिइहाल्छन् नि।’ कृष्ण आफ्नो हातमा मेरो चुँडिएको चप्पल बोकेर घरतिर लाग्यो, म उसको पछिपछि लागेँ। उसका बाबुले चप्पलको फित्तामा छालाले ढाकेर सिलाइदिए। मेरो दुःख कम हुँदै गयो।
त्यस दिन विद्यालय पुग्न केही ढिला भएको थियो। हेडसर विद्यार्थीलाई चौरमा उभ्याएर प्रार्थना गराउन विद्यालयको पहिलो तलाको काठे बरन्डामा उभिइरहेका थिए। विद्यार्थी लाइनबद्ध भइसकेका थिए। मैले आफ्ना पुस्तक कक्षामा राख्न पनि भ्याएको थिइनँ। आफू उभिएको छेउमा पुस्तक राखेँ। हेडसरले मलाई र कृष्णलाई तथानाम गाली गरे, ढिला पुगेकोमा। म घोप्टिएर भुइँतर्फ हेरिरहेँ। चप्पलले मलाई हेरिरहेको थियो। छालाले ढाकिएको फित्ताले मलाई दुखाइरहेको थियो, घाउ हुन खोज्दै थियो। प्रार्थना सुरु भयो— श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति...!
कक्षामा हेडसरले मलाई पहिलो बेन्चमा बस्न आदेश दिए। अघिपछि म दोस्रोमा बस्थेँ, कृष्ण त सधैंझैं अन्तिम बेन्चमा थियो। हेडसरको अगाडि पर्नुपर्दा मुटु काम्थ्यो मेरो। ‘तँ फस्र्ट ब्वाइ, तँलाई ए बी सी डी आउँछ ? हेडसरले लट्ठीको टुप्पोले मेरो चिउँडो ताक्दै सोधे। मैले कतै पनि नहेरी फटाफट एदेखि जेडसम्म भनिदिएँ। उनले ‘स्याबास्’ भन्दै मेरो ढाडमा हातले हाने। उनको स्याबास्रूपी धाप नै पनि मलाई सहन गाह्रो परेको थियो।
हाफ टाइममा थुप्रै साथी मेरो चप्पलतिर हेरिरहेका थिए। जसका खुट्टामा चप्पल थिएन, ती मलाई अनेक प्रश्न पनि गरिरहेका थिए। लगाएकै दिन चप्पल कसरी चुँडियो ? तँ निकै धनी पो रहेछस् चप्पल लगाएर स्कुल आइस् त ! अर्को साल त तैंले जुत्तै लगाउने होलास् नि हैन ? बालसुलभ प्रश्न अरू पनि थुप्रै गरिरहेका थिए, मेरा सहपाठीहरू। मैले कुनै पनि प्रश्नको उत्तर दिन चाहिनँ। म चुपचाप बसिरहेँ।
त्यस दिनको पढाइ सकेर घर फर्कंदै गर्दा मेरो मनमा अर्को दुःख जन्मिसकेको थियो। चुँडिएको चप्पल घरमा कसरी देखाउनु ? के भन्ने हुन् अभिभावकहरूले ? नयाँ चप्पल चुँडिएको थियो र त्यसलाई छालाले ढाकेर बनाइएको थियो। अवश्य पनि कुटाइ खाइन्छ भन्ने चिन्ता बढ्दो थियो। घर फर्कंदै गर्दा बिहान चप्पल चुँडिएको ठाउँमा आइपुगेपछि मेरा पाइला अचानक धिमा भए। त्यो ठाउँमा मैले धेरैचोटि थुकिदिएँ, त्यो ठाउँसँग मेरो दुश्मनी बढेको जो थियो। अघिपछिभन्दा केही ढिलो गरी म घर पुगेँ।
विद्यालयबाट फर्केपछि एकैछिन भए पनि गाई चराउन लैजानुपर्ने जिम्मेवारी थियो मेरो। चप्पल गाईको गोबर फ्याँक्ने प्वालमा लुकाएर म गाई चराउन हिँडेँ। फर्केर आउँदा साँझ पर्नै लागेको थियो। ‘गोठालो जाँदा पनि चप्पल लगाएर गइस् कि क्या हो ? घरमा तेरो चप्पल कतै देख्दिनँ त म’, आमाले म घरभित्र पस्नासाथ भनिन्, ‘जतन गरेर लगाएस्, अब अर्को चप्पल पाउन त तैंले ४ कक्षामा पनि पहिलो हुनुपर्छ।’ आमाको कुरा सुन्दा मेरो निधारमा चिटचिट पसिना आउन थालिसकेको थियो। म चुपचाप थिएँ।
भोलिपल्ट बिहानै गाई गोठबाट आमाले बोलाइन्। बोलाउनुको कारण थाहा पाउन मलाई गाह्रो भएन। मैले गोबर फाल्ने प्वालमा लुकाएको चप्पलमा आमाको आँखा परिसकेको थियो। एकाबिहानै उठेर गाईको सेवा गर्नुलाई आमा ठूलो धर्म मान्थिन्। उनी बिहानै गोबर सोहोर्थिन् र सोही प्वालबाट बाहिर बारीमा फाल्थिन्।
म डराइडराइ तल ओर्लेर आमाछेउ पुगेँ। उनको हातमा मेरो चप्पल थियो। चप्पलमा गोबर लतपतिएको थियो। आमाको हातमा पनि गोबरैगोबर थियो। सोही गोबर लागेको हातले मलाई कपालमा समातेर रिँगाउन थालिन् आमाले। चुपचाप आमाको कुटाइ खानुबाहेक मसँग अर्को कुनै विकल्प थिएन। ‘असत्ती, अब लगाउलास् नि चप्पल तैंले ! जुन दिन खुट्टामा चप्पल हाल्यो, त्यही दिन चुँडाउने ? तेरो खुट्टामा काँडा त उम्रेको छैन ? ’
गोबरले भरिएको हातले मेरो खुट्टा पनि कुटाइ खानबाट जोगिएनन्। आमा मलाई गाली गरिरहेकै थिइन्। म त्यहाँबाट फुत्त निस्केर बाहिरतिर भागेँ। आमाको अघिल्तिर उभिरहनु भनेको थप कुटाइ खानुमात्र थियो भन्ने कुरो अलि ढिला बुझेको थिएँ मैले। बाहिर केही दौंतरीहरू गुच्चा खेलिरहेका थिए। मलाई भने गुच्चा खेल्ने कुनै जाँगर चलेन त्यो दिन। उनीहरूले गुच्चा खेल्दै गरेको रमाइलोले पनि मलाई छोएन।
विद्यालय जाने बेला हुनै लागेपछि म घरभित्र पसेँ। आमाका गालीका फोहोरा टुटेका थिएनन्। एक शब्द पनि नबोली भात खाएर म उही छालाले फित्ता बेरिएको रातो हवाई चप्पल फट्याकफट्याक पार्दै विद्यालयतिर लागेँ।
अघिल्लो दिन चुँडिएको चप्पलले मेरो १० वर्षे कलिलो दिमागमा एउटा अविस्मरणीय शिक्षा दिएको थियो।
बाटोमा हिँड्दा भुइँ हेरेर हिँड्ने।